यूएईमा कार्यरत नेपालीको संख्या पुग्यो ७ लाख, राहदानी सेवा सहज बनाउने नयाँ प्रयासमा दूतावास (भिडिओ)

आबुधावी । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीको नयाँ तथ्यांक सार्वजनिक भएको छ । विभिन्न पेशा, व्यवसायको रुपमा यूएईमा रहेका नेपालीको संख्या ७ लाख बढी पुगेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
यूएईको परराष्ट्र तथा अध्यागमनको तथ्यांकलाई उद्धृत गर्दै कुन पेशामा कति भन्ने तथ्यांक नभए पनि ७ लाखभन्दा धेरै नेपाली पुगेको विभिन्न दस्तावेजले पुष्टि गरेको नेपाली दूतावासकी प्रवक्ता तथा नियोग उपप्रमुख रञ्जिता दाहालले बताइन् ।
कामदार तथा भिजिट भिसामा यूएई आउने नेपालीको संख्या पछिल्लो वर्षमा बढ्दै गएको दूतावासले जनाएको छ । सन् २०१९ मा सार्वजनिक तथ्यांकअनुसार नेपालीहरूको संख्या २ लाख ४९ हजार ६८१ थियो । त्यसयता कोरोना संक्रमणमा घट्दै गएको तथ्यांक भए पनि पछिल्लो समय नेपाली कामदारहरूको संख्या बढ्दै गएको देखिन्छ ।
राहदानी सेवा सहज बनाउन दूतावासको नयाँ प्रयास
यूएईमा रहेका नेपालीहरूलाई राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने प्रक्रियामा आइरहेका समस्या समाधान गर्न नेपाली दूतावासले विशेष पहल थालेको छ । दूतावासले समय–समयमा अतिरिक्त काउन्टर सञ्चालन गरी नेपाली नागरिकहरूलाई सहजिकरण गर्न सुरु गरेको हो । यो महिनामा मात्रै दूतावासले दुई दिन अतिरिक्त काउन्टरमार्फत सेवा दिएको हो ।
यूएईमा हाल सात लाखभन्दा धेरै नेपाली काम गर्छन् भन्ने दूतावासले थोरै जनशक्तिमा धेरैलाई सेवा प्रदान गर्न समस्या भए पनि यहाँ रहेका नेपाली समाज तथा एनआरएन जस्ता संघसंस्थामार्फत स्वयम्सेवकको सहयोग लिएर सेवा प्रदान गरिरहेको जनाएको छ ।
धेरैजसोले आफ्नो राहदानी बनाउँदा तथा नवीकरण गर्दा फारम भर्न विभिन्न टाइपिङ धाउनुपर्ने, आफैं फारम भर्न नसकेर बिचौलियाको भर पर्नुपर्ने जस्ता गुनासोका बीच नेपाली दूतावासले अतिरिक्त काउन्टरमार्फत सेवा सुचारु गरेको हो ।
राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउँदा बिचौलियाको भर पर्न नपरोस् भनेर आमसेवाग्रहीले पनि दूतावासबाट पाइने सेवा अन्यत्र खोज्न नहुने सरोकारवालाको भनाइ छ । गएको साता बुधबार एक दिनलाई अतिरिक्त काउन्टर सञ्चालन गरेर ३५० जनाभन्दा धेरैलाई राहदानीसम्बन्धी सेवा दिएको दूतावासले जनाएको छ ।
सोही सेवालाई आज शुक्रबार पनि दूतावासले निरन्तरता दिएको छ । आज पनि झन्डै उति नै संख्यामा सेवा दिन सकिने लक्ष्य दूतावासले राखेको छ । दैनिक २०० भन्दा धेरै राहदानी नवीकरण गर्दै आएको दूतावासले अतिरिक्त काउन्टरमार्फत थप सेवा सुरु गरेपछि सेवाग्राहीले राहत पाएका छन् ।
शुक्रबार गरिएको अतिरिक्त काउन्टरमार्फत राहदानी नवीकरण गरेका सर्लाहीका रामबाबु चौधरीले भने, ‘दूतावास कहिल्यै आएको थिएन, बाहिर सुनेभन्दा दूतावासको सेवा राम्रो र सहज रहेछ ।’
अतिरिक्त काउन्टर सुचारु गर्नुपूर्व दुईतीन दिन पहिले नै दूतावासले सार्वजनिक सूचना जारी गर्दै सूचित गर्ने गरेको छ । समयमा सेवा नपाएर भिसा नवीकरणमा कठिनाइ भोग्नुपरेका वा राहदानीको म्याद सकिएर, समस्यामा भएकालाई मध्यनजर गर्दै दूतावासले अब सीधै नागरिकहरूसम्म सेवा प्रवाह गर्ने र बिचौलियाको हस्तक्षेपलाई न्यून गर्ने लक्ष्य लिएको छ ।
दूतावासको अनुरोध- सभ्य तरिकाले सेवा लिन आउनुहोस्
दूतावासले सम्पूर्ण नेपाली समुदायलाई राहदानी बनाउन वा नवीकरण गर्न आउँदा सभ्य र अनुशासित तरिकाले उपस्थित हुन आग्रह गरेको छ । असल नेपाली नागरिकको परिचय कायम गर्दै संयमित व्यवहार गर्न अनुरोध गरिएको छ ।
‘हामी नेपाली समुदायका सबै सदस्यलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धतामा छौं, तर सेवाका क्रममा शान्त र अनुशासित भएर व्यवहार गर्नु अत्यावश्यक छ । अनावश्यक भिडभाड र असभ्य व्यवहारले सबैलाई समस्या पार्नसक्छ’, नेपाली दूतावासकी प्रवक्ता दाहालले भनिन् ।
दूतावासले नेपालीलाई बिचौलियाको भर नपरी सीधै दूतावासको सेवा लिन अनुरोध गरेको छ । बिचौलियाहरूको झन्झटमा पर्नु आर्थिक नोक्सानसहित झूटो आश्वासनमा परेर ठगिन सकिने जोखिम पनि हुने भएकाले सेवाग्रही आफू पनि सचेत रहनुपर्ने दूतावासको भनाइ छ ।
अब नियमित रुपमा अतिरिक्त काउन्टर सञ्चालन गरिने भएकाले तोकिएको दिनमा नेपाली नागरिकहरूले सहजै राहदानीसम्बन्धी सेवा पाउनेछन् । यो पहलले यूएईमा रहेका नेपालीहरूको समस्याहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । दूतावासले प्रदान गर्ने सेवामा बाहिर कसैलाई अतिरिक्त नदिन, फारम भर्न समस्या भएमा वा भर्न नसक्नेलाई दूतावासले नै सहजीकरण गरिरहेको दूतावासले जनाएको छ ।