नेपालमा सहकारी धेरै भए, सङ्ख्या घटाउनु पर्छ: मुख्यमन्त्री लामा  – Nepal Press

नेपालमा सहकारी धेरै भए, सङ्ख्या घटाउनु पर्छ: मुख्यमन्त्री लामा 

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिहं लामाले नेपालमा सहकारीको सङ्ख्या धेरै भएकाले एकीकरण मार्फत सङ्ख्या घटाउनु पर्ने बताएका छन् । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

त्यस्तै, मुख्यमन्त्री लामाले सहकारीमार्फत पुँजी निर्माण भएको र यसलाई अर्थतन्त्रको विकासमा लगाउनुपर्ने बताए । उनले सहकारी समाजको लागि आवश्यक भए पनि पछिल्लो समय धेरै समस्या आएको बताए ।

उनले रोजगारी सृजना गर्न, उद्योगधन्दा सञ्चालन गर्न पुँजी आवश्यक पर्ने भएकाले समाजमा सहकारी आवश्यक रहेको बताए । सहकारी सदस्यको बचत अपचलन गर्नु गलत भएकाले यो क्षेत्रलाई व्यवस्थित गर्न सबै पक्ष लाग्नुपर्नेमा उनको जोड छ । सहकारीका लागि नियम कानुन मात्र बनाएर नपुग्ने भन्दै उनले कार्यान्वयनको पक्ष महत्त्वपूर्ण हुने उल्लेख गरे । नियमन कानुनमा लुपहोल रहेकाले त्यसको गलत प्रयोग गरी सदस्यको बचत दुरुपयोग गरेको उनको भनाई छ ।

विज्ञको सुझाव लिएर मात्र ऐन कानुन बनाउन सके यसले दीर्घकालसम्म सघाउने बताए । परिवारवादका रूपमा सहकारी सञ्चालन गर्ने र नक्कली ऋण बनाएर समेत सदस्यको बचत अपचलन गरेको उनको भनाई छ ।

सहकारीको बचतलाई घरजग्गा लगायतको क्षेत्रमा लगानी गरेको र अहिलेको आर्थिक मन्दीले त्यो क्षेत्रलाई समेत समस्या पारेकाले सदस्यको बचत फिर्ता गर्न नसकेको उनले जानकारी दिए । सदस्यहरूले १८ प्रतिशत ब्याजको लोभमा परेर बचत राख्दा पनि समस्यामा परेको लामाले बताए । केही सहकारीले गरेको बदमासीले राम्रो संस्थाहरूलाई पनि समस्या परेको उनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर