रियालिटी शोहरुले कभर गायकमात्रै जन्माइरहेछ: संगीतकार वसन्त सापकोटा


काठमाडौं । अहिले गायन रियालिटी शो भ्वाइस अफ नेपालको चर्चा छ । गायन क्षेत्रमा भविष्य खोजिरहेका कालकारहरु यस्ता रियालिटी शोहरुमा आकर्षित हुने गरेका छन् । चाँडो दर्शकमाझ पुग्ने छोटो र छरितो बाटोको रुपमा कलाकारहरुले यस्ता रियालिटी शोहरुलाई लिने गरेका छन् ।
तर संगीतकार वसन्त सापकोटा भने यस्ता रियालिटी शोले कभर गायकमात्रै उत्पादन गरिरहेको जिकिर गर्छन् । कभर गायकमात्रै उत्पादन हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको सापकोटाको बुझाइ छ । यसबारे उनको भनाइ छ, ‘मैले रियालिटी शोका आयोजकहरुलाई सुझाव पनि दिएको थिएँ, तपाईंहरुले कभर गायकमात्रै उत्पादन गरिरहनुभएको छ । ती प्रतिभावान कलाकारको आफ्नो ओरिजिनल गीत छैन । शोबाट बाहिर निस्कँदा पनि चलेका गायकहरुकै गीत गाउनुभएको छ । ती गीत त पहिल्यै हिट छन् । अनि अरुको गीत कहिलेसम्म गाइरहने ?’
त्यसैले सापकोटाको सुझाव छ, शोहरुमा शीर्ष १० मा पुगेपछि पुराना गीतसँगै ती कलाकारलाई आफ्नै नयाँ गीत गाउन पनि लगाउँदा राम्रो हुन्छ । यसरी काम गर्दा उनीहरु शोबाट बाहिरिँदै गर्दा आफ्नै गीतहरु पनि साथमा हुने र त्यसले स्टेज कार्यक्रममा सहयोग गर्ने सापकोटाको सुझाव छ ।
अहिले ‘१२ महिनामा १२ नयाँ कलाकारलाई डेब्यु’ गराउने अभियान चलाइरहेका सापकोटाले भने, ‘कभर गीत गाएरमात्रै कलाकार बन्न सकिन्छ ? कलाकार बन्न आफ्नै गीत पनि चाहिन्छ । ध्रुवसत्य कुरा के हो भने रियालिटी शोहरुमा भोटिङमा धेरै नै खर्च गर्नुपर्ने हुन्छ । करोडौं खर्च हुँदा पुरस्कार रकम चाहिँ थोरै हुन्छ । कतिपय कलाकारले त त्यो रकम पनि नपाएको गुनासो आउँछ । यसरी नवकलाकारहरु ऋणको भारीले थिचिएका हुन्छन् । अनि नयाँ गीत कसरी गर्ने ?’
त्यसैले पुराना गीत सँगसँगै रियालिटी शोहरुले नवकलाकारलाई आफ्नै गीत पनि गाउन लगाउँदा उनीहरुको व्यवसायिक जीवनमात्रै सहज नभएर उनीहरुले भोग्ने आर्थिक क्षतिको समेत न्यूनीकरण हुने सापकोटाको भनाइ छ ।
सापकोटाको ‘सागर सरी चोखो माया’, ‘बालापनको उमेर’, ‘यी आँखामा तिमी छौ’, तिमीविनाको जीवन’, ‘माया अन्तै सार’ जस्ता दर्जनौं गीतहरु लोकप्रिय छन् ।