एक सय १८ सहकारीविरुद्ध उजुरी, साढे चार अर्ब रुपैयाँ ‘खाइदिएको’ बचतकर्ताको आरोप


काठमाडौं । काठमाडौं महानगरपालिकाका एक सयभन्दा बढी सहकारी संस्थाविरुद्ध उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा १ सय १८ सहकारी संस्थाले बचत ‘खाइदिएको’ आरोप लगाउँदै तीन संस्थाहरुविरुद्ध उजुरी परेको हो ।
उक्त सहकारी संस्थाले सदस्यहरूको ४ अर्ब ५० करोड बचत फिर्ता नगरेको गुनासो विभागमा परेको काठमाडौं महानगरपालिका सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । यसरी सहकारीले बचत फिर्ता नगरेको भन्दै विभागमा उजुरी गर्नेहरू बढिरहेको बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा उनले जानकारी दिएका हुन् ।
उनका अनुसार सहकारी महाशाखामा १८ जना कर्मचारी छन् । त्यसमध्ये १३ जना कर्मचारीहरू सदस्यको गुनासो सुन्नमा नै लाग्नु परेको उनको भनाई छ ।
काठमाडौं महानगरपालिका मातहत दुई हजार सहकारी संस्था रहेकाले प्रदेश सरकारले सेवा केन्द्रको स्वीकृत नदिन उनको आग्रह छ ।
ललितपुरका २७ सहकारी समस्यामा
ललितपुर जिल्लाका २७ सहकारी संस्था समस्या रहेको पाइएको छ । ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले ललितपुर मातहतमा १ सय ५९ संस्था रहेकोमा २७ वटा संस्था समस्यामा रहेको जानकारी दिएका हुन् ।
कतिपय सहकारी संस्थाले सदस्यहरूको बचत फिर्ता गर्न नसकेकाले प्रहरीमा पठाएको समेत उनले जानकारी दिए । सहकारीको नियमन गर्न स्रोत, साधन र जनशक्तिको अभाव रहेको डंगोलले गुनासो गरे ।
त्यस्तै, भरतपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख जिवलाल कुँवरले सहकारीहरूले आफ्नो उद्देश्य नै थाहा नपाउँदा समस्या आएको बताए । प्रारम्भिक सहकारी संस्था गठनदेखि नै समस्या रहेको उल्लेख गर्दै सहकारीहरू उद्देश्यमा केन्द्रित भएर काम गरेर समस्या समाधान भएर जाने उनको भनाई छ ।