पीएम कप क्रिकेटः एपीएफ, आर्मी र कर्णालीको जित – Nepal Press

पीएम कप क्रिकेटः एपीएफ, आर्मी र कर्णालीको जित

रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले जित निकालेका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा अलआउट भयो । उसका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए । बलिङमा एपीएफका रोहितकुमार पौडेल र अमरसिंह रौटेलाले ३–३ विकेट लिए ।

९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएका अमर प्लेयर अफ दि म्याच भए । १ सय ९२ रनको लक्ष्य एपीएफले ७ विकेट गुमाएर ३६।३ ओभरमा पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए भने आसिफ शेखले ३२ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले १–१ विकेट हात पारे ।

यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै छैटौं जित हात पारेको छ । गण्डकी भने ७ मध्ये ६ खेलमा पराजित भइसकेको छ भने अंक तालिकामा पुछारमा छ ।

पहिले ब्याटिङ गरेको गण्डकी ३०।३ ओभरमा १ सय १६ रनमै अलआउट भयो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । यस्तै, दीप डुम्रेले १९, कमल परियारले १७, र विपिन खत्रीले १५ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा आर्मीका साहब आलमले पाँच विकेट लिए । प्लेयर अफ दि म्याच उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चिए । कुशल मल्ल र नरेन साउदले समान २–२ विकेट लिए । १ सय १७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गर्यो । आर्मीका लागि ओपनर तृतराज दासले ३७, बसिर अहमदले नटआउट ३२, भीम सार्कीले १४ र इमरान शेखले १२ रनको योगदान गरे ।

बलिङमा गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुभाष भण्डारी र सुदीप अर्यालले समान १–१ विकेट लिए । आर्मी १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राकेट ओभक क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले चौथो जित दर्ता गराएको छ । आफूले खेलेका सातमध्ये चार खेलमा जित निकालेसँगै कर्णाली अंक तालिकमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेससँग अंक बराबरी गरेको छ ।

कर्णालीले मधेस प्रदेशलाई ८१ रनले हरायो । टस जितेर ब्याटिङ गरेको कर्णाली ५ बल खेल्न बाँकी छदा २ सय २० रनमा अलआउट भयो । कर्णालीका दीपेन्द्र रावतले ६१ रन बनाउँदा अर्जुन घर्तीले २६ र दीनेश अधिकारीले २४ रनको योगदान गरे । बलिङमा मधेसका रुपेश सिंह, रंजित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले २–२ विकेट लिए ।

२ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा १३९ रनमा अलआउट भयो । उसका लागि रुपेश सिंहले सबैभन्दा बढी ३० रन बनाए । बलिङमा दीनेश अधिकारीले ४ विकेट लिए । अर्धशतक समेत प्रहार गरेर प्लेयर अफस दि म्याच दीपेन्द्र रावतले ३ विकेट लिन सफल भए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *