आठ महिनामा पनि कार्यान्वयनमा आएन अर्थमन्त्रीको निर्देशन, कहिले रोकिन्छ विद्युतीय गाडीमा भन्सार छली ? – Nepal Press

आठ महिनामा पनि कार्यान्वयनमा आएन अर्थमन्त्रीको निर्देशन, कहिले रोकिन्छ विद्युतीय गाडीमा भन्सार छली ?

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय गाडी आयातको ग्राफ उकालो लागेको छ । सोहीअनुसार विद्युतीय गाडी आयात गर्ने कम्पनी र प्रयोगकर्ता पनि बढिरहेका छन् ।

तर नेपालमा आयात हुने विद्युतीय गाडीको किलोवाट छली हुने गरेको विषय चर्चामा रहेको छ । यसबारे सरकारी निकायमा उजुरीसमेत परेको छ । गाडीमा किलोवाट छली हुने गरेको चर्चा बाहिरिएसँगै भन्सार विभागलगायत सरकारी निकायले त्यसबारे विभिन्न अध्ययनसमेत गरेका थिए ।

उक्त अध्ययनपछि अर्थमन्त्रीले मन्त्रालयमा भन्सार विभागका प्रमुख र राजस्व अनुसन्धानका प्रमुखसँगको बैठकमा विद्युतीय गाडीको किलोवाट परीक्षण गर्ने मेसिन किन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलपछि अर्थमन्त्री पौडेलले गत भदौमै भन्सार र यातायात व्यवस्था विभागका महानिर्देशकलाई सँगै राखेर विद्युतीय गाडीको किलोवाट नाप्ने मेसिन किन्न निर्देशन दिएका थिए, तर अहिलेसम्म उक्त मेसिन खरिद गरिएको छैन ।

हालसम्म उक्त मेसिन कसले किन्ने भन्ने छलफलसमेत नभएको भन्सार विभाग स्रोतले जनाएको छ । जसले गर्दा अहिलेसम्म भन्सार कार्यालयले आयातकर्ताले स्वघोषणा गरेअनुसार नै गाडीको क्षमता तोक्दै र राजस्व संकलन गर्दै आएको छ ।

राज्यका निकायहरूले विद्युतीय गाडी आयातमा कर छली भएको आशंका गरेर मेसिनमार्फत गाडीको किलोवाट क्षमता परीक्षण गर्न मेसिन खरिद गर्नुपर्ने बताइरहेका छन्, तर मेसिन नहुँदा नेपालमा आयात भइरहेको विद्युतीय गाडीको किलोवाट पत्ता लगाउन सकिएको छैन ।

भन्सार जाँच पास गरेर विद्युतीय गाडी ल्याउने नाकाहरूलाई समेत भन्सार विभागले पत्राचार गरेर विद्युतीय गाडीको किलोवाट क्षमताको परीक्षण कडाइका साथ गर्न परिपत्र गरेको थियो, तर भन्सारले परिपत्र गरे पनि अहिलेसम्म विद्युतीय गाडी आयात हुँदा किलोवाटमा तलमाथि भएको उल्लेख गरिएको छैन ।

राजस्व अनुसन्धानका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भने, ‘भन्सार र यातायात व्यवस्था विभागमध्ये एकले विद्युतीय गाडीको यथार्थ किलोवाट जाँच्ने मेसिन किन्न अर्थमन्त्रीज्यूले निर्देशन दिनुभएको थियो । गत भदौमै मेसिन किन्न भनिएको थियो ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले अर्थमन्त्रीले इन्जिन डाइनामा मिटर किन्न निर्देशन दिएको बताए ।

उनले भने, ‘विद्युतीय गाडी आयात हुँदा त्यो गाडीको किलोवाट क्षमता जाँच्ने मेसिन किन्न मन्त्रीज्यूबाट निर्देशन भएको थियो । अहिले विभागले विद्युतीय गाडी आयातको विषयमा अध्ययन गर्न एउटा कमिटी बनाएको छ । त्यो कमिटीले काम गरिरहेको छ ।’

भन्सार विभागका महानिर्देशक नरेश भट्टराईले आफू महानिर्देशक भएर आउनुभन्दा पहिले नै विद्युतीय गाडीको किलोवाट क्षमता चेक गर्ने मेसिन किन्ने कुरा भए पनि हालसम्म नकिनिएको बताए ।

उनले भने, ‘अर्थमन्त्रीज्यूबाट म आउनुभन्दा पहिले नै विद्युतीय गाडीको किलोवाट क्षमता नाप्ने मेसिन किन्न निर्देशन भएको रहेछ । म आएपछि पनि यातायात व्यवस्था विभागका प्रमुखसँग कुरा भएको हो । यस वर्ष नयाँ मेसिनभन्दा पनि नयाँ बजेटले मेसिन किन्ने व्यवस्था गर्ने भन्ने छ ।’

उनले मेसिन कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए । यातायातसम्बन्धी भएकाले यातायात व्यवस्था विभागमै राख्दा राम्रो हुने भन्दै उनले चोभारको सुख्खा बन्दरगाहमा उक्त मेसिन राख्न सकिने सुनाए ।

अहिले कसरी निश्चित भइरहेको छ विद्युतीय गाडीको किलोवाट ?

अहिले नेपालमा विद्युतीय गाडी आयात हुँदा टायरबाट गाडीको किलोवाट परीक्षण गरिन्छ । टायरबाट परीक्षण गर्दा गाडीको यथार्थ किलोवाट पत्ता लगाउन नसकिने वा गाडी आयातकर्ताले किलोवाट तलमाथि गर्न सकिने सरकारी अधिकारीहरू नै बताउँछन् ।

सवारी परीक्षण कार्यालय टेकुका प्रमुख सुरेश श्रेष्ठले विद्युतीय गाडीको मोटर क्षमता नाप्ने दुई वटा विधि रहेको बताउँछन् । चेसिस डाइनामा मिटर र इन्जिन डाइनामा मिटरबाट विद्युतीय गाडीको क्षमता मापन गर्न सकिन्छ ।

सवारी परीक्षण कार्यालय टेकुसँग चेसिस डाइनामा मिटरमात्रै छ । चेसिस डाइनामा मिटरले गाडीको टायर घुमेको आधारमा मात्रै क्षमता मापन गर्छ । अहिले नेपालमा टायरबाट मात्रै गाडीको क्षमता चेक भइरहेको छ । यसरी टायरबाट मात्रै गाडीको क्षमता चेक गर्दा यथार्थ क्षमता हो कि होइन भन्ने यकिन हुँदैन ।

विद्युतीय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) प्रणाली जडान गरिएको हुन्छ । यो प्रणालीले गाडीको ब्याट्री तथा मोटरलाई कम पावर जेनेरेट गर्न निर्देशन दिन पनि सक्छ । यसो गर्दा सजिलै क्षमता कम देखाउने बताइन्छ । बीएमएसमा सेट गरेअनुसार नै गाडीको किलोवाट क्षमता देखाइने हुन्छ ।

कसरी पत्ता लगाउन सकिन्छ विद्युतीय गाडीको यथार्थ क्षमता ?

इन्जिन डाइनामा मिटरले विद्युतीय गाडीको यथार्थ क्षमता चेक गर्न सकिन्छ । यो प्रविधिबाट क्षमता चेक गर्न ब्याट्री र मोटरलाई छुट्ट्याउनुपर्छ । यो प्रविधि खरिदका लागि अर्थमन्त्रीले उहिल्यै निर्देशन दिएका थिए ।

‘ब्याट्री र मोटर नछुट्ट्याई क्षमता परीक्षण गर्ने बेन्च मोटर एनलाइजर बिक्री गर्ने कम्पनीसँग हाम्रो कुरा भइरहेको छ’, श्रेष्ठले भने, ‘त्यो कम्पनीले मूल्य पठाउने प्रक्रियामा छ ।’

सवारी परीक्षण कार्यालय टेकुका निवर्तमान प्रमुख मणिराम भुसाल उक्त मेसिन करिब ६ करोड पर्ने बताउँछन् ।

विद्युतीय गाडी आयात गर्ने कम्पनीहरूले १०० किलोवाटभन्दा माथिका गाडीलाई कम देखाएर आयात गरिरहेको बताइन्छ । कम भन्सार शुल्क तिर्न कम किलोवाटको कागजपत्र देखाएर गाडी आयात भइरहेको बताइन्छ । किलोवाट कम देखाएर ओमोडा, एमजी र डीपललगायतका ब्राण्डका गाडीहरू नेपाल आयात भइरहेको चर्चा छ । भन्सार विभागले यिनै ब्राण्डका गाडीहरू आयात गर्ने कम्पनीका कागजातहरू अध्ययन गरिरहेको छ । यातायात व्यवस्था विभागले पनि छुट्टै समिति बनाएर काम अगाडि बढाएको छ ।

कति आयात भए विद्युतीय गाडी ?

चालू आवको ८ महिनाभित्र १७ अर्ब ३९ करोड २१ लाख ५८ हजार रूपैयाँको विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ । सो समयमा १४ हजार ३०७ वटा विद्युतीय गाडी नेपाल आयात भएको छ ।

गत आर्थिक वर्षको ८ महिनामा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजारको १३ हजार ७०० वटा विद्युतीय गाडी आयात भएको देखिन्छ । विद्युतीय गाडी चीन, भारत, अमेरिका, जर्मनी र कोरियालगायतका देशबाट आयात भएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर