रिटर्नी फेडेरेसनको राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते हुँदै, प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने


काठमाडौं । वैदेशिक रोजगारबाट फर्केकाहरुको हकहितका पक्षमा क्रियाशील संस्था रिटर्नी फेडेरेसन नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनमा ६५ जिल्लाका ६०० जना प्रतिनिधिहरुको सहभागिता रहने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
महाधिवेशन आयोजनापूर्व संगठनका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश कमिटी, ५८ ओटा जिल्ला कमिटी र झण्डै २०० ओटा पालिका कमिटीको अधिवेशनहरु सम्पन्न भएको पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी दिए ।
दुईवटा प्रदेश कमिटी र सात वटा जिल्ला कमिटीहरुमा सम्मेलन आयोजक कमिटी निर्माण भै ६५ जिल्लामा संगठन विस्तार भएकोे छ । विभिन्न ७ वटा मुलुकमा फेडेरेसनका प्रवास प्रतिनिधिहरु रहेका छन् । संगठनले संचालन गरेको सदस्यता विस्तार अभियान मार्फत ३५ हजार सदस्य थप भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०७७ साल पुस २७ गते नेकपा (एमाले) को जनसंगठन प्राप्तिका लागि संयोजन कमिटी गठन भई २०७८ साल पुस १६ गते घोषणा भएको फेडेरेसन औपचारिक रुपमा चौथो वर्षमा प्रवेश गरेको छ ।
दोश्रो राष्ट्रिय महाधिवेशनबाट ९ पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय कमिटी तथा ५ सदस्यीय लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग निर्वाचित गरिने केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख खेम कार्कीले जानकारी दिए ।