गाडीमा माेबाइल झ्याप हान्ने गिराेह प्रहरीकाे फन्दामा, सेटिङका पसले पनि पक्राउ (भिडिओ) – Nepal Press

गाडीमा माेबाइल झ्याप हान्ने गिराेह प्रहरीकाे फन्दामा, सेटिङका पसले पनि पक्राउ (भिडिओ)

डेड महिनामा मात्रै चोरी भएका ४८८ मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइयो

काठमाडौं । २९५ वटा चोरीका मोबाइल ल्यापटप तथा ट्याबसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ ६ बजेको समयमा भक्तपुरको ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल कोटेश्वर चोक नजिकबाट चोरेर भागेको सूचनाका आधारमा अनुसान्धान गर्दा मोबाइल मर्मतको काम गर्ने एक जना व्यवापारीसहित ७ जनलाई नियन्त्रण लिइएको हो ।

मोबाइल चोरको सूचनाका आधारमा तत्काल प्रहरी परिचालन गरी पाकेटमारीमा संलग्न मानिसलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले चोरी गरिएको मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको पाइएको परिसरका प्रमुख समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकमारी दिए ।

उनका अनुसार उक्त मोबाईल रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका २७१ वटा मोबाइल, ९ वटा ट्याव र १५ वटा ल्यापटप बरामद गरी रिपेयरिङ सेन्टर संचालक सहित ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुर सानागाउँ बस्दै आएका ३५ वर्षका प्रमोद परियार, सोहि जिल्लाको खानिखोला गाउँपालिका ५ स्थायी घर भई अहिले भक्तपुरको ठिमी बस्दै आएका २६ बर्षका गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका १ स्थायी घर भई अहिले ठिमी बस्दै आएका ३० वर्षका हेमन्त राना मगर, दोलखा, सैलुङ गाउँपालिका ६ स्थायी घर भई अहिले भक्तपुरको जगाती बस्दै आएका २८ वर्षका शम्भु विश्वकर्मा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थायी घर भई अहिले भक्तपुर गठ्ठाघर बस्दै आएका २२ वर्षका राजेश चालिसे रहेका छन् ।

यस्तै, दोलखाको कालिन्दोक गाउँपालिका ५ स्थायी घर भई अहिले काठमाडौंको चावहिल बस्दै आएका २१ बर्षका सबिन पाण्डे, काठमाडौँको सिनामंगल स्थायी घर भई अहिले भक्तपुरको ठिमी बस्दै आएका २० वर्षका प्रकाश कट्‌वाल रहेका छन् ।

परिसरका प्रमुख एसएसपी अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले डेड महिनामा मात्रै चोरी भएका ४८८ मोबाइल फेला पारेको र सम्बन्धित व्यक्तिलाई बुझाइसकेको छ भने आर्थिक वर्ष ०७९–०८० एक हजार ६५०, ०८०–८१ मा ३ हजार २८ र ०८१–०८२ मा २ हजार २८८ वटा चोरी भएका मोबाइल परिसरले फेला पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *