बिहीबार सुरु भएको अन्तर्राष्ट्रिय शान्ति महोत्सव मन्त्रीको समय मिलाएर शुक्रबार उद्घाटन – Nepal Press

बिहीबार सुरु भएको अन्तर्राष्ट्रिय शान्ति महोत्सव मन्त्रीको समय मिलाएर शुक्रबार उद्घाटन

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् ।

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायहरुको आयोजनामा विहीबारदेखि सुरु भएको महोत्सवको शुक्रबार उद्घाटन समारोह गरिएको हो ।

मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको बताए । विश्वव्यापी रुपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताए ।

उनले विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले चिनियाँ दुताबासले गरेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपालको पर्यटन प्रवद्र्धनसँगै मित्रता भातृत्व र एकतालाई बलियो बनाउने बताए ।

मन्त्री पाण्डेयले नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिनसक्ने बताउँदै यसको प्रमुख गन्तव्य लुम्बिनी हुने बताए । उनले हालै पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाईल्याण्ड, कम्बोडिया लगायतका देशसँग सहकार्यमा सम्झौता भएकाले त्यसको कार्यान्वयनमा लाग्न आग्रह गरे ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेयले बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्वशान्ति सहर बनाउनुपर्नेमा जोड दिए ।

यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनी बुद्वको ध्यानका लागि विश्वकै उत्कृष्ट स्थल रहेको बताए । उनले बुद्विजमको उत्पति र शान्तिको सन्देश दिने स्थल लुम्बिनी रहेकाले महोत्सवले त्यसको प्रवद्वनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बुद्वका ८४ हजार उपदेशहरू रहेको बताउँदै त्यो मानव जीवनका लागि निकै उपयोगी रहेको बताए ।

यस्तै कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रर्वद्वनमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले लुम्बिनी विश्वभरका बौद्वमार्गीसंगै विश्वभरका शान्तिप्रियहरूको पनि पवित्रस्थल रहेकाले यहाँ गरिएको शान्ति महोत्सव, ध्यान, साँस्कृतिक कार्यक्रमले विश्वभर सकरात्मक सन्देश जाने बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले नेपालसंगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रोपटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरेको बताए । उनले नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सम्मेलनको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराइएको थियो । शनिबार खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष पूर्वमन्त्री जीवनराम श्रेष्ठले बताए ।

शुक्रबार समितिले लुम्बिनी क्षेत्रका खेलकुदका सामग्रीहरु समेत वितरण गर्नेछ । शुक्रबार नै लुम्बिनी विश्वविद्यालयमा साँस्कृतिक आदानप्रदान कार्यक्रम, साँझ लुम्बिनी स्क्वायरमा साँस्कृतिक कार्यक्रम राखिएको दूतावासले जनाएको छ ।

महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर सहयोगी संस्थाका रुपमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर