प्रेस चौतारीका महासचिवले भने- अध्यक्षको घोषणा भएको छैन, अफवाह चलाइयो – Nepal Press

प्रेस चौतारीका महासचिवले भने- अध्यक्षको घोषणा भएको छैन, अफवाह चलाइयो

काठमाडौं । नेकपा एमालेसम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपालको अगामी अध्यक्ष तोकिसकिएको भनी आएका समाचार, चर्चा र टिप्पणी सबै गलत भएको संगठनका महासचिव हिरामान लामाले बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै महासचिव लामाले संगठनको महाधिवेशनको प्रारम्भिक काम, अर्थात् उद्घाटन नै नभएको अवस्थामा बन्द शत्रपछिको प्रक्रियाबाट चयन हुने नेतृत्वका विषयमा कुनै पनि निर्णय वा सहमति नभएको बताए । ‘नेतृत्व चयन गर्ने हाम्रो अलग्गै विधि र प्रक्रिया हुन्छ, त्यसमा प्रवेश गरेकै छैनौं’, उनले भने ।

प्रेस चौतारीको महाविधेशनको उद्घाटन चैत १० गते विराटनगरमा हुँदैछ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनको उद्घाटनपछि बन्द शत्र सुरु हुने र उक्त शत्रमा अध्यक्ष, महासचिव र कोषाध्यक्षका प्रतिवेदन पेश हुन्छन् । ती प्रतिवेदनउपर छलफलपछि पारित गर्ने प्रक्रिया हुन्छ । त्यसपछि अध्यक्ष मण्डल र निर्वाचन समितिले निर्धारण गर्नै कार्यक्रमबमोजिम नेतृत्व चयनको प्रक्रियामा जाने महासचिव लामाले बताए ।

चौतारीका केही नेताले आफूलाई पार्टी अध्यक्ष ओलीले अध्यक्षका रुपमा स्वीकार गरिसकेको प्रचार गरेपछि महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधि अलमलमा परेका छन् ।

उनीहरूले महाधिवेशनअगावै नेतृत्व नै टुंगो लाग्ने कुराप्रति आश्चर्य जनाएका छन् । महासचिव लामाका अनुसार अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व निर्माण गर्ने विषयमा पार्टीका जनसंगठन समन्वय प्रमुख, इन्चार्ज र अध्यक्षसँग परामर्श गरेका छन् । तर, व्यक्ति टुंगो लागेको होइन ।

‘थुप्रै साथीहरुले आकांक्षा व्यक्त गर्नुभएको छ, महाधिवेशनमा ती कुरा जायज हुन्छन्’, उनले भने, ‘त्यस विषयमा पार्टी अध्यक्ष कमरेडले प्रारम्भिक छलफल र परामर्शसम्म गर्नुभएको हो, टुंगो लागेको होइन ।’

चौतारीको आगामी अध्यक्षका निम्ति महासचिव लामासहित वर्तमान उपाध्यक्षहरु गणेश पाण्डे र राजेश राई प्रतिस्पर्धामा छन् । सर्वसम्मत नेतृत्वका निम्ति वरिष्ठ नेता विश्वमणि सुवेदीले पनि आफ्नो दावी पेश गरेका छन् ।

महासचिव लामले आफ्नो दावी कायमै रहेको बताए । ‘बन्द शत्रसम्म म महासचिव नै हो, त्यहाँसम्म मेरा परिभाषित जिम्मेवारी हुन्छन्’, उनले भने ‘त्यसपछि के हुने भन्ने कुरा विधि र प्रक्रियाभित्र रहेर दाबी गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर