रोशन थापाः पहिले आफैं प्रयोगकर्ता, अहिले लागुपदार्थ दुर्व्यसनविरोधी अभियन्ता – Nepal Press

रोशन थापाः पहिले आफैं प्रयोगकर्ता, अहिले लागुपदार्थ दुर्व्यसनविरोधी अभियन्ता

रूपन्देही । कुनै बेला बुटवलका रोशन थापा क्षेत्री लागुपदार्थ प्रयाेगकर्ता थिए । उनले डेढ दशक लागुपदार्थको नशामा फसेर परिवार, समाज सबैलाई आजीत बनाए । अहिले उनी सुध्रिएकामात्रै छैनन्, लागुपदार्थको कुलतमा फसेकाहरूलाई सुधार्ने कार्यको नेतृत्व गरिरहेका छन् ।

रोशन आफू अध्यक्ष भएर ८ जना साथीको साथमा बुटवल उपमहानगरपालिका- १९ पथ्थरगञ्जमा बेस्ट लाइभ केयर रिहाब एन्ड हेल्थ केयर सेन्टर सञ्चालन गरेका हुन् । रोशनलाई पूर्वलागुपदार्थ प्रयोगकर्ताहरू कमल कोइराला, निर्मल कोइरालासहित फिजिसियन डाक्टर विवेक केसी, मनोरोग डाक्टर राजेश श्रेष्ठ, नर्स साक्षी जोशी, प्रकाश भाट, मञ्जु ज्ञवालीले साथ दिँदै आएका छन् ।

बुटवल उपमहानगरपालिका- ३ स्थायी घर भएका उनले डेढ दशकमा कुलतमा फस्दा आफूमात्रै होइन, परिवार र समाजलाई नै ठूलो तनावमा पारेका थिए । आर्थिक रूपमा सबल रहेको थापा परिवार उनकै कारण ध्वस्त भएको थियो, तर त्यो सबै अवस्थाबाट सुध्रिएर अहिले रोशन कुलतमा लागेकाहरूलाई सुधार्ने, उनीहरूलाई स्वास्थ्य र सामाजिक रूपमा व्यवस्थापन गर्ने अभियानको अगुवाइ गरिरहेका छन् । सँगै आफ्नो आर्थिक पाटो सुधार्दै परिवारलाई पनि व्यवस्थित बनाएका छन् ।

डेढ दशकको त्यो समय सम्झँदा अहिले निकै आश्चर्य लाग्ने ४३ वर्षीय रोशन बताउँछन् । त्यो समयको समस्या, परिवारलाई दिएको तनाव, लागुपदार्थको व्यवस्था गर्न स्रोत जुटाउन गरिएको प्रयास अहिले पनि उनी झलझली सम्झन्छन् । हातमा रकम परेपछि लागुपदार्थ किन्न गरेको गलत अभ्यासबाट पाठ सिकेर त्यो अवस्थामा कसैलाई पुर्‍याउन नदिन अहिलेको अभियान थालेको उनी बताउँछन् ।

‘लागुपदार्थ दुर्व्यसनबाट मुक्त भई समाजलाई जागरूक गराउने अभियानमा लागेपछि अहिले मलाई हेर्ने परिवार र समाजको दृष्टिकोण नै फेरिएको छ’, उनले भने, ‘कसरी फँसें फँसें, थाहै भएन । डेढ दशक त पूरै कुलतमा फँसेको हुँ, तर सुधार केन्द्रमा पुगेर सुध्रिएर अहिले यो अवस्थामा आइपुगेको हुँ ।’

शरीरले लागुपदार्थ माग्दा जुनसुकै हत्कण्डा प्रयोग गरेर पनि खोजिने उनले स्मरण गरे । ‘परिवारको सबै सम्पत्ति सकियो, स्वास्थ्य पनि उस्तै संकटमा पारियो, तर सुधार केन्द्रले मलाई यो अवस्थामा ल्याएको छ’, रोशनले थपे ।

बुटवलबाट रकम जुटाएर उनी सुनौली पुग्थे । त्यहाँ लागुपदार्थ किन्ने र साथीहरूलाई पनि पुर्‍याउने गरेको रोशन स्मरण गर्छन् ।

‘खुट्टाले टेक्न नमिल्ने अवस्थामा पनि जबरजस्ती मोटरसाइकलमा चढेर सुनौली पुगेर खाएँ, तर अब समाजलाई यस्तोमा फस्न दिन हुन्न, आफू पनि सुध्रिनुपर्दछ भन्ने चेत आयो’, उनले सुनाए, ‘भैरहवाको लाइभ केयर सुधार केन्द्रमा बसेर यो अवस्थामा आएँ, मेरो कारणले परिवारमा समस्या आयो, तर अहिले सबै राम्रो भएको छ ।’

रोशन सुधार केन्द्रबाट फर्केपछि वैदेशिक रोजगारीमा कतार गए । ‘अलिअलि कमाइ पनि भयो, पछि यसैमा काम गरें’, उनले भने, ‘अहिले आफैं सुधार केन्द्र खोलेर नयाँ पुस्तालाई बिग्रन दिन हुँदैन भन्ने अभियानमा छु ।’

आफू दुई वर्ष सुधार केन्द्रमा बसेर सुध्रिएको सुनाउँदै उनले सकेसम्म अभिभावकले नै आफ्ना छोराछोरीलाई जोगाउनुपर्ने बताए । ‘कोही लागुपदार्थको दुर्व्यसनको अवस्था भेटिए सुधार केन्द्रमा लैजान ढिलाइ गर्नुहुँदैन’, राेशनले भने, ‘यो अवस्था कसैले चाहेर आउने होइन, आइसकेपछि यसलाई समयमै व्यवस्थापन गर्न सक्नुपर्दछ । मलाई लामो समय लाग्यो, अभिभावकले यसमा छिटो ध्यान दिनुपर्दछ ।’

रोशन सामाजिक अभियानमा मात्रै लागेका छैनन्, व्यवसाय पनि गरिरहेका छन् । उनले अहिले दुई वटा गाडी सञ्चालन गरेका छन् । बलेरो र स्वीफ्ट गाडीको भाडामा लगाएर आम्दानी गरिरहेका छन ।

श्रीमती, १७ वर्षकी छोरी र २ वर्षका छोरा रहेका रमेशले आफू कुलतमा पर्दा धेरै समस्या भोगेको बताउँदै आफ्नो जस्तो समस्या कसैले भोग्न नपरोस् भनेर डाक्टर, नर्स, तथा सामाजिक व्यक्तिहरूको साथ लिएर सुधार केन्द्र सञ्चालन गरेका छन् । सुधार केन्द्र पैसा कमाउन र कतैबाट सहयोग लिएर नचलाएको रोशनले जानकारी दिए ।

‘मैले कमाउन यो खोलेको होइन, म सुध्रेर आएको उदाहरण कुलतमा परेकाहरू र उनीहरूका अभिभावकलाई सुनाउँछु, कसैले आफ्नो छोराछोरी राखेको खुसी मनले दिनुहुन्छ, नभएकालाई कुनै दररेट बनाएको छैन, बाहिरबाट संकलन केही हुँदैन, नपुगेको यसैको सञ्चालकहरूले व्यहोर्ने हो’, उनले भने ।

उनका अनुसार आफूहरूको रिहाबमा ल्याइएका कुलतमा परेका व्यक्तिलाई १० दिन राखेर चेकअप गर्ने, हेल्थ तथा मेन्टलका सबै विवरण लिने र त्यसपछि ४ महिना विभिन्न क्षेत्रका विज्ञहरूसँग क्लास लिने व्यवस्था गरिएको छ । त्यसपछि १ दिन घर पठाएर परिवारसँग पहिले र अहिलेको अवस्थाबारे बुझ्ने अनि २ महिना पुनः सेन्टरमा राखेर उनीहरूको भविष्यबारे योजना देखाउने काम गरिने रोशन बताउँछन् ।

‘यो अहिले हामीले बनाएको चरण हो, यहाँ आउने कुन तहमा पुगेको छ, डक्टरहरू, नर्स पनि भएकाले सबैको आधार हेरेर उपचार पद्धति वा मौखिक अभिमुखीकरण कसरी सकिन्छ त्यही तरिकाले अघि बढ्ने हो, यसमा हामीले रकम तोकेर केही पनि लिँदैनौ’ उनले भने, ‘लागुपदार्थ दुर्व्यसनबाट सुध्रिएका व्यक्तिहरूको अनुभव अरूका लागि प्रेरणाको स्रोत बन्नसक्छ । उनीहरूले लागुपदार्थको नकारात्मक प्रभाव, यसले गर्दा हुने शारीरिक, मानसिक, आर्थिक र सामाजिक क्षतिबारे जानकारी दिने, युवाहरूलाई यसको प्रयोगबाट टाढा रहन प्रेरित गर्ने कार्यक्रम बनाउनुपर्छ ।’

आफ्नो संघर्ष र सुधारको कथा साझा गरेर अरूलाई प्रेरणा दिएर नशामुक्त हुन प्रोत्साहित गर्न सकिने उनी बताउँछन् । नशामुक्त समूहहरू बनाएर पुनर्वास तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव आइरहेको रोशन बताउँछन ।

यसको लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । ‘सबै मिलेर लागुपदार्थ दुर्व्यसनको समस्या सधैंका लागि अन्त्य गर्न सक्छौं, जसले स्वस्थ र नशामुक्त समाज निर्माणमा टेवा पुर्‍याउँछ’, रोशनले भने ।

बुटवल उपमहानगरपालिका- १९ का वडाध्यक्ष चन्द्रसिंह थापाले रोशन सुध्रिएर सामाजिक अभियानमा लाग्नु रत्नाकर डाँकु सुध्रेर सामाजिक काममा लागे जस्तै भएको प्रतिक्रिया दिए ।

वडाध्यक्ष थापाले भने, ‘उनको जीवनले हामीलाई आशा र प्रेरणा दिन्छ, परिवर्तन सम्भव छ र हामीले पनि आफ्नो जीवनलाई सकारात्मक बनाउन सक्छौं भन्ने उदाहरण रोशन बनेका छन् ।’

भूपू सैनिक रहेका मिलन टोल विकास समितिका सचिव धनबहादुर खाडले कुलतमा परेकाहरूलाई सुधारेर उनीहरूको परिवार र समाजका लागि रोशनले थालेको असल कामको सम्मान गर्नुपर्ने बताए ।

लागुपदार्थ र यसको दुर्व्यसन व्यक्तिगत समस्यामात्र होइन, समाज र राष्ट्रको विकासमा ठूलो बाधक पनि रहेको उनको भनाइ छ । त्यसैले यस समस्याबाट मुक्ति पाउन सबैको सहभागिता र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *