यी गायक-गायिका, जसलाई वसन्त सापकाेटाले पहिलो पटकमै चखाए सफलताको स्वाद – Nepal Press

यी गायक-गायिका, जसलाई वसन्त सापकाेटाले पहिलो पटकमै चखाए सफलताको स्वाद

काठमाडौं । २०५७ सालको कुरा हो, वसन्त सापकोटा अल्लारे थिए । पोखरामा बस्थे । कसैलाई एकतर्फी मन पराउँथे । यद्यपि जसलाई मन पराउँथे, तिनले सापकोटालाई मन पराउँथेनन् । अनि गीत लेखे, ‘सागर सरी चोखो माया तिमीलाई दिउँला’ ।

यो गीतको संगीत पनि २०५७ सालमै तयार पारे । सापकोटाको सपना थियो, गायक हुने । त्यही सपना बोकेर २०६१ सालमा काठमाडौं आए, तर काठमाडौंले उनको सपनाको प्वाँख काटिदियो । जीवन निर्वाहका खातिर ‘गायक-सपना’लाई कतै कुनामा थन्काए । र, संगीतकारको अवतारमा उडान सुरु गरे ।

आफ्नै शब्द, संगीतमा ‘वसन्त’ नामक एल्बम ल्याए, २०६३ सालमा । रामचन्द्र काफ्ले, माण्डवी त्रिपाठीलगायतको स्वर थियो । एल्बम नै ल्याए पनि सापकोटाको करियरले उस्तो गति लिएन ।

‘वसन्त’ ल्याएको दुई वर्षपछि भने उनको सांगीतिक करियरमा साँच्चिकै वसन्त आयो । उनले ‘सिलसिला’ चलचित्रमा संगीत भर्ने अवसर पाए । यो चलचित्रको ‘सागर सरी’ बोलको गीत सर्वाधिक हिट भयो ।

‘यो गीत मैले १९ जनालाई सुनाइसकेको थिएँ, तर २०औं पटकमा चलचित्रमा छनोट भयो’, सापकोटा नोस्टालजिक सुनिन्छन्, ‘बच्चाहरूले आआफ्नो भाग्य लिएर आए जस्तो गीतहरूले पनि आआफ्नै भाग्य लिएर आउँदा रहेछन् । गीत तयार पारेको आठ वर्षपछि हिट भयो ।’

यसपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन । लगत्तै ‘ढल्क्यो ढल्क्यो’, ‘तिमीविनाको जीवन’, ‘सिम्पल सिम्पल कान्छीको’लगायत गीतहरू दर्शक/स्रोताका जिब्रोमा झुण्डिँदै गए । ८० भन्दा बढी चलचित्रमा संगीत भरे । दर्जनौं कलाकारलाई हिट नम्बर दिए ।

अहिले पनि कतिपय कलाकारका स्टेज कार्यक्रम सापकोटाका गीतविना अधुरा/अपुरा रहन्छन् । ‘पागल म बन्न सक्छु’, ‘माया अन्तै सार’, ‘यी आँखामा तिमी छौ’ जस्ता एकसेएक गीत सापकोटाका सृजना हुन् ।

गायक बन्ने अधुरो सपनाबारे सापकोटा सुनाउँछन्, ‘त्यो वेला आफूसित लगानी थिएन । जसले लगानी गर्नुहुन्थ्यो, उहाँहरूले चलिरहेका गायक÷गायिकाको स्वर राखौं भन्नुहुन्थ्यो । अलि पछि आफ्नै स्वरको रियाज पनि कम हुँदै गयो । संगीत र शब्दतिरै रमाउन थालियो ।’

‘सागर सरी’ गीत बनाउँदा खाजा खर्चमै चित्त बुझाएका सापकोटाले एउटै गीतका लागि एक लाखसम्म पारिश्रमिक लिएको बताउँछन् । उनले मेलिना राई, मिलन नेवार, समीक्षा अधिकारी, प्रेम परियार जस्ता गायक/गायिकालाई त उनीहरूको सांगीतिक करियरकै पहिलो हिट गीत पनि दिए । जुन गीतपछि उनीहरूले पछाडि फर्केर हेर्नुपरेको छैन ।

मिलन नेवारको पहिलो पाश्र्व हिट: गाला रातै

सापकोटाले संगीत भरेको पहिलो चलचित्र थियो ‘दोषी’ । अनि पहिलो हिट चलचित्र थियो ‘सिलसिला’ । ‘सिलसिला’पछि त प्रायः चलचित्र सापकोटाका संगीतले मोहरिएका हुन्थे । यही क्रममा उनको हातमा आयो नयाँ चलचित्र ‘नोटबुक’ । सँगै अन्य फुटकर काम पनि गरिरहेका थिए ।

‘सरोज वली भाइको भजन गीत थियो, चन्दु गोर्खालीले एरेन्ज गर्नुभएको थियो’, गायिका नेवारसँगको सहकार्यबारे सुनाउँछन्, ‘यो भजन कसलाई गाउन दिने त भन्दा मिलन अमात्यको नाम आयो । उहाँलाई फोन गरेर आरबी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्‍यौं ।’

‘नोटबुक’का लागि सुहाउँदो स्वर खोजिरहेका थिए वसन्त । आफूले खोजे जस्तो स्वर उनले मिलनमा भेट्टाए । भोलिपल्टै स्टुडियोमा बोलाएर गीत रेकर्ड गराए, ‘गाला रातै’ ।

राजेन्द्र थापाले लेखेको यो गीत सर्वाधिक हिट भयो । गीतसँगै मिलनको करियरले पनि पखेटा फिँजायो । पाश्र्व गायनमा उनको पहिलो हिट गीत नै यही थियो ।

सापकोटा-नेवारको ‘काली’ चलचित्रको गीत ‘बट स्लोली स्लोली’ पनि अत्यधिक रुचाइयो । अहिले ‘फुलबुट्टे सारी’सम्म आइपुग्दा नेवारले पछाडि फर्केर हेर्नुपरेको छैन ।

मेलिना राईको टर्निङ प्वाइन्टः कम्मरमाथि पटुकी

गायिका मेलिना राई स्थापित हुन संघर्ष गरिरहेकी थिइन् । ‘नोभेम्बर रेन’ चलचित्रको ‘पलभरमै’ गीत हिट भए पनि राईले क्रेडिट कम पाएकी थिइन् । युवराज चौलागाईं र रजिना रिमालले यो गीतबाट बढी क्रेडिट लिएका थिए ।

एक दिनको कुरा हो, ‘नयन’ नामक एल्बमको विमोचन थियो । रोजिलाबुङ राईको शब्द रहेको उक्त एल्बममा सापकोटा, ताराप्रकाश लिम्बूलगायतको संगीत थियो ।

सापकोटा ‘नाईं नभन्नु ल- ३’ चलचित्रको संगीतमा व्यस्त थिए । प्रेम परियारको स्वर ट्रान्जिसनल फेजमा भएकाले स्वर नै आएन, सापकोटा तनावमा थिए । तनावकै कारण १२ बजेको एल्बम विमोचन कार्यक्रममा ४ बजेतिर पुगेका थिए ।

त्यसवेला कार्यक्रममै क्यासेटहरू बिक्री हुन्थे । साउन्ड सिस्टमबाट एल्बमका गीतहरू कार्यक्रमभरि नै बजाइन्थ्यो । सापकोटा कार्यक्रमस्थल पुग्नासाथ राईको स्वर भएको गीत बज्यो ।

‘गीत सुन्नासाथ स्वर मनपर्‍यो । मैले तारालाई बोलाएर सोधेँ, यो गीत कसले गाएको हो ? मेलिना राई त्यही थिइन्, ताराले चिनाइदियो’, सापकोटा सुनाउँछन्, ‘मैले निर्देशक विकास आचार्य दाइलाई भनेँ, पूर्वेली भाकामा तपाईंले खोजेको स्वर भेट्टाएँ ।’

लगत्तै राईको स्वरमा गीत रेकर्ड भयो, ‘कम्मरमाथि पटुकी’ । यो गीत यति धेरै चल्यो कि यसपछि राईले आजका दिनसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

समीक्षा अधिकारीको भाग्य कोरेको गीत: बालापनको उमेर

सापकोटाको चार पाँच वर्षको छोराले मोबाइल चलाइरहेको थियो । मोबाइल स्क्रोल गर्दै जाँदा सिक्का हालेपछि चकलेट झर्ने मोबाइल गेममा उनको छोरा अड्कियो । अनि जिद्दी गर्न थाल्यो, ‘बाबा यही चाहियो ।’

‘यो त नेपालमा पाइँदैन,’ सापकोटाले भने ।

‘कहाँ पाइन्छ त ?’

‘अमेरिकामा ।’

‘उसो भए अमेरिकाबाट ल्याइदिनुस् ।’

छोराको कुराले सापकोटा आजित भए । अचम्मित भए । अनि नोस्टालजिक पनि भए । जापान वा अमेरिका पल्लोडाँडामै भए जसरी छोराले आग्रह गर्‍यो । अनि सापकोटाले सोचे, ‘यस्तो उमेर त मेरो पनि थियो । यो खालको निर्दोषपना मसँग पनि थियो ।’

अनि गीत लेखे, ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ । सापकोटा ‘नाईं नभन्नु ल- ५’मा संगीत भरिरहेका थिए ।

गीत तयार भएको भोलि वा पर्सिपल्ट ‘छक्कापञ्जा ३’ खिच्न पोखरा गएका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले एउटा भिडियो पोस्ट गरे । क्याप्सन लेखे, ‘यी नानीको स्वर कस्तो लाग्यो ?’

ती नानी थिइन् अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी । उनले गाएकी थिइन्, सापकोटाकै गीत ‘यी आँखामा तिमी छौ’ ।

‘मैले पुरुषोत्तमजीसँग समीक्षाको नम्बर मागेँ । पुरुषोत्तमजीले मेरा गीतहरू पनि उसलाई पठाइदिनुभएछ । फोनमा कुराकानी भएपछि फुपू र ऊ काठमाडौैं आए । गीत रेकर्ड गरेर उतै फर्किए’, सापकोटा सुनाउँछन् ।

अहिले त उक्त गीत सार्वजनिक भएकै सात वर्ष भयो । यो सात वर्षमा समीक्षाको करियर यति द्रुत गतिमा अगाडि बढ्यो कि उनले रोकिने छाँट नै देखाइरहेकी छैनन् ।

प्रेम परियारको पहिलो अफिसियल रेकर्ड: यी आँखामा तिमी छौ

धादिङका प्रेम परियारलाई संगीतकार महेश खड्का र सुशील क्षेत्रीले काठमाडौं ल्याएका थिए । परियार युनाइटेड स्कुलमा पढ्थे । अमृत क्षेत्रीसँग संगीत पनि सिकिरहेका थिए ।

खड्काको घरभेटीको नातिको बर्थडे थियो । सापकोटालगायत अन्य संगीतकर्मीहरूलाई निम्ता दिइएको थियो । त्यही कार्यक्रममा परियारले ‘जोडेको नाता तोडेर गयौ’ गाए । उनले परियारको स्वरमा अलग्गै मिठास भेट्टाए । ‘अनि मैले प्रेम परियारलाई चलचित्रमा गाउन लगाएँ’, सापकोटा सुनाउँछन् ।

उनी थप भन्छन्, ‘कलाकारहरू चल्नु भनेको भाग्य पनि हो । कर्मलाई निरन्तरता पनि दिनुपर्‍यो । कामप्रति इमानदार हुनुपर्‍यो । कामले गर्दा नै यहाँ छु भनेर सोच्नुपर्‍यो ।’


प्रतिक्रिया

One thought on “यी गायक-गायिका, जसलाई वसन्त सापकाेटाले पहिलो पटकमै चखाए सफलताको स्वाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर