फैलिएको बुटवल र खस्कँदो भविष्यप्रति विज्ञहरुको चिन्ता
इतिहास र सामरिक महत्व जोगाउन सामुहिक ब्राण्ड बनाउन सुझाव


रुपन्देही । फैलिएको बुटवल र खस्कदो भविष्यको चिन्ता हुन थालेको छ । केही समयअघि व्यापारिक, प्रशासनिक, शैक्षिक, स्वास्थ्य, उद्योग तथा पर्यटनको केन्द्र बनेको यो क्षेत्रमा अहिले बढेको निराशालाई हटाउन विज्ञ, राजनीतिक दलका प्रतिनिधि, व्यवसायिक संघसंस्थाका प्रतिनिधि तथा यसबारे सरोकार राख्नेहरुले एउटै चिन्ता गरे अब बुटवलको ’ब्राण्ड’ के बनाउने ?
उनीहरुले फैलिएको बुटवलको आयतनलाई आधार बनाएर बुटवलको नक्सा बनाइनुपर्ने, कोभिड १९ को आर्थिक प्रभावपछि बुटवलको आर्थिक गतिविधिमा आएको सुस्तता, युवा उद्यमी र व्यवसायीहरुले स्वदेश छोड्ने र ऋणको सावा ब्याज बुझाउनसमेत नसकेको अवस्था, पहाडी जिल्लाको आर्थिक केन्द्र बनाउन ब्राण्ड बनाएर बुटवललाई पुनःजीवन दिनुपर्ने सुझाएका छन् ।
बुटवलको सबलीकरणमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै सबै पक्षलाई जुटाएर अगाडि जाने सहमति जनाएका छन् । विभिन्न क्षेत्रका विज्ञहरुले बुटवलको भविश्यबारे चिन्ता व्यक्त गर्दै यसको पहिचान जोगाउने प्रतिवद्धतासमेत गरेका छन् । प्राध्यापक डाक्टर रामचन्द्र आचार्यले शिक्षा, पर्यटन, स्वास्थ्य, उद्योग र धार्मिक पर्यटनको हव बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
उनले योसँगै खुद्रा नभई थोक व्यापार केन्द्र बनाउनुपर्ने, हरेक क्षेत्रमा १६ घन्टा काम गर्न पाइनेगरी रोजगारको रणनीति बनाउनुपर्ने र रोजगारसहितको शिक्षा अर्थात काम गर्दै पढ्दै गर्न पाउने व्यवस्था गर्नसके धेरै मानिसले यसलाई केन्द्र मानेर जानसक्ने बताए ।
अर्थविज्ञ आचार्यले यो क्षेत्रका जनप्रतिनिधिहरु तथा व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरु बसेर यसको रणनीति बनाउनुपर्ने सुझाएका छन् । उनले यहाँको मुख्य पहिचान रहेको तिनाउमा पानीको व्यवस्थापन गर्नुपर्ने, वरिपरीका डाँडामा रंगिन वृक्षरोपण गर्नसकिने, प्राचीन बटौलीको ब्राण्ड बनाउनुपर्ने, धार्मिक पर्यटन तान्ने आधार बनाउनुपर्ने र सरोकारवाला सबैले यहाँका सकारात्मक पक्षलाई चर्चामा ल्याउनुपर्ने योजनालाई सबै सरोकारवाला पक्षले उठाउनुपर्ने बताए ।
युवा अर्थशास्त्री तथा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले बुटवलको आर्थिक सबलीकरणका लागि यहाँको व्यापार बिस्तार तथा विविधिकरणका लागि स्थापना भएका विभिन्न व्यवसायिक संघसस्थाहरुका बीचमा राजनैतिक स्वार्थका कारणले साझा हितका विषयमा सैद्धान्तिक रुपमा एकरुपता देखिएता पनि व्यवहारिक कार्यान्वयनका समस्या रहेको बताएका छन् ।
उनले संघीय सरकारसँगको सहकार्यमा मोतिपुर औद्योगिक क्षेत्रको सञ्चालन र व्यवस्थापन गरि बुटवल औद्योगिक क्षेत्रको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने, प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीका रुपमा अबिलम्ब घोषणा गर्नुपर्ने, प्रदेश सरकारले रामापिथेकस बोटानिकल गार्डेन, जितगढी ऐतिहासिक स्थलको प्रर्वद्धन, पुरानो बुटवल साँस्कृतिक सम्पदाको प्रचारप्रसार तथा बजारीकरण गर्न जरुरी रहेको जनाएका छन् ।
बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराईले सुक्दै गएको व्यवसायले यहाँको सबै क्षेत्रलाई ओझेलमा पारेकाले सबैको समन्वयमा नयाँ योजना बनाउनुपर्ने र त्यसको समन्वय गर्न आफूहरु तयार रहेको धारणा राखेका छन् । बटौलीको इतिहासबारे जानकारी दिँदै लेखक देवेन्द्रराज शाक्यले अंग्रेजलाई परास्त गरेको जितगढीको इतिहास र प्राचीन बटौलीको इतिहासलाई जोगाउँदै यसलाई आधारित थुप्रै पर्यटन केन्द्रीत कार्यक्रम बनाउन सकिने बताए ।
वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले सबै सरोकारवाला पक्षलाई राखेर नयाँ योजना बनाउनु यसखालको कार्यक्रम आयोजना गरिएको बताए । अर्थविज्ञ माधव पौडेल र जीवन परियारले आर्थिक केन्द्रमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने जनाए ।
पर्यटनविद माधव नेपाल, बलबहादुर आचार्य, डिबी गुरुङले पर्यटन क्षेत्रको सुधारबाट मात्रै बुटवलको चहलपहल बढाउन सकिने धारणा राखे । बुटवल क्षेत्रमा रहेको घरभाडा, अव्यवस्थित पार्किङ, खानेपानी तथा सार्वजनिक शौचालयसहितका सामान्य समस्याहरु समाधान नभएकोले यसमा ध्यान दिनुपर्ने जनाएका छन् । सुझाव राखेका थिए ।
विज्ञहरुका अनुसार यी हुन् बुटवलका मुख्य समस्या
१ फैलिएको बुटवल र पुरानो मानसिकता
२ पहाडी जिल्लाहरुसँग खुम्चिदै गएको व्यापारिक सम्बन्ध
३.प्रतिभा र पुँजी पलायनको फैलिदो सक्रमण
४.युवा व्यवसायीमा बढ्दै गईरहेको व्यवसाय रुपान्तरणको अभियान
५.व्यवसायीक घरानाका उत्तराधिकारी बीचको अन्यौलता
६.खुला सिमानाको बिस्तारित नकारात्मक प्रभाव
७.स्थानीय अर्थतन्त्रको मोडलमा अन्यौलता
८.व्यवसायिक संघ सस्थामा राजनैतिक प्रभाव उच्चस्तरमा पुग्नु
९.गुणस्तरीय स्वास्थ्य सेवाको लागि मेडिकल कलेजको अभाव
१०.अव्यवस्थित पार्किङ्, करमाथिको कर तथा लागुपर्दाथ दुव्र्यसनीको हब
११.स्थानीय घरेलु उत्पादनको प्रचारप्रसार र प्रयोगमा ह्रास
तीन तहका सरकारलाई आए यस्ता सुझाव
यसका लागि स्थानीय सरकारले स्थानीय रैथाने पेसा व्यवसायको मौलिकता कायम गरि उत्पादन बिस्तारमा जोड दिनुपर्ने, प्रभावकारी अनुगमन र पार्किङ् समस्या समाधानका लागि अल्पकालिन तथा दीर्घकालिन योजना बनाउनुपर्ने, आगन्तुकमैत्री सार्वजनिक शौचालय , प्रतिक्षालय र पिउने पानीको व्यवस्थापन, व्यवसायमैत्री स्वचाालित कर प्रणाली, वैज्ञानिक र समयसापेक्ष घरभाडादर निर्धारण र .स्थानीय हाटबजारहरुको आधुनिक व्यवस्थापन, करको दायराबाहिरका व्यवसायीलाई करमा आबद्धता गर्नुपर्ने सुझाव आएको छ ।
त्यसैगरी प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा मोतिपुर औद्योगिक क्षेत्रको सञ्चालन र व्यवस्थापन गरि बुटवल औद्योगिक क्षेत्रको वैज्ञानिक व्यवस्थापनमा सहजी करण गर्नुपर्ने, बुटवलको आर्थिक सबलीकरणका लागि प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीका रुपमा अबिलम्ब घोषणा गर्नुपर्ने, र प्रदेश सरकारले रामापिथेकस बोटानिकल गार्डेन, जितगढी ऐतिहासीक स्थलको प्रर्वद्धन, पुरानो बुटवल साँस्कृतिक सम्पदाको प्रचारप्रसार तथा बजारीकरण गर्न विेशेष ध्यान दिनुपर्ने प्रस्ताव आएको छ ।
संघीय सरकारबाट केन्द्रको पहलमा बुटवलमा दर्जनौँ बहुृउद्देश्यीय पूर्वाधार विकासका योजनाहरु चलिरहेको अवस्थामा तत्कालका लागि बुटवलमा रहेका संघीय कार्यालयहरुको स्थानान्तरण नगरिदिने तथा दीर्घकालिन रुपमा कालिगण्डकी तिनाउ नदी पठान योजना, मेडिकल कलेजको सञ्चालन, प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको पूर्णता, प्राविधिक विश्वविद्यालयका कार्यक्रमहरुसहित आर्थिक राजधानीको अवधारणालाई अघि सार्न विज्ञहरुले सुझाएका छन् ।