पर्वतमा डढेलोसँगै ढुङ्गा खसेपछि सडक अवरुद्ध (भिडिओ)


काठमाडौं । पर्वतकको पर्वत भद्र खोला पुल नजिक वनमा डढेलो लागेर माथिबाट ढुङ्गा खसेपछि सवारी आवागमन प्रभावित भएको छ ।
मोदी गाउँपालिका- ५ पर्वत भद्र खोला पुल नजिक वनमा डढेलो लाग्दा माथिबाट ढुङ्गा खसिरहेको कारण सडकको दुवै तर्फ यात्रुहरु रोकिएका हुन्। सवारी साधनलाई समेत बन्द गरिएको छ । ढुंगा खस्ने क्रम नराेकिएकाले सडक अझै अवरुद्ध बनेकाे छ ।
सडक छेउकाे वनमा डढेलाे तीव्र गतिमा फैलदै गएकाे छ भने नियन्त्रणकाे कुनै प्रयास नभएकाे गुनासाे आएकाे छ । डढेलोको कारणले सडक अवरुद्ध भएको बारेमा आफूलाई जानकारी नभएको मोदी गाउँपालिका -५ का वडाध्यक्ष मान बहादुर अधिकारीले बताए ।
उनले नेपालप्रेससँग भने,‘अहिलेसम्म केही खबर आएको छैन । मुख्य हाइवेमा पर्ने भएकाले मलाई जानकारी भएन त्यहाँ नजिकै प्रहरी कार्यालय छ उहाँहरुसँग बुझने कोशिस गर्छु ।’
उनले आफूलाई डढेलो लागेको विषयमा पनि जानकारी नभएको बताए । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले डढेलोपछि माथिबाट ढुंगा खसेर सडक अवरुद्ध भइरहेको जानकारी दिएका छन् ।
उनले कार्यक्रममा सहभागी हुन जाने क्रममा सडकमा डढेलोको कारण सडक अवरुद्ध भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले भनेका छन्,‘फागुन, चैतलाई सुख्खा मौसम मानिन्छ , घाम चर्को लाग्ने भएका कारण वन डढेलो लागेमा अनियन्त्रित भई बढ्दै जाने जोखिम हुन्छ । प्रत्यक वर्ष वन डढेलोको कारण धेरै जनधनको क्षेति हुने गरेको हामी सबैमा सर्वविदितै छ ।यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा तिनै तहका सरकारले समयमै पहल लिन जरुरी छ ।’