सोलुखुम्बुमा दोस्रो पिके चौंरी पर्यटन महोत्सव तथा मिनी म्याराथन हुने  – Nepal Press

सोलुखुम्बुमा दोस्रो पिके चौंरी पर्यटन महोत्सव तथा मिनी म्याराथन हुने 

सोलुखुम्बुमा दोस्रो पिके चौंरी पर्यटन महोत्सव हुने भएको छ । याक तथा चौंरी व्यवसायी संघ नेपालले सोलुखुम्बुमा चौंरी महोत्सव गर्ने भएको हो । लोपोन्मुख चौंरी पालन व्यवसायको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख ७, ८ र ९ गते ३ दिन चौंरी पर्यटन महोत्सव हुने भएको हो ।
संघका  अध्यक्ष थुतोप दोर्जे शेर्पाका अनुसार ‘चौंरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुर्ख्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौंरी पालन घट्दो क्रममा छ । यसलाई बचाउन महोत्सवले केही टेवा पुग्ने विश्वास छ ।’ महोत्सवमा चौंरीको प्रदर्शनका साथै स्थानीय खानाका परिकार, चौंरीको दूधबाट बन्ने परिकारहरू जस्तै छुर्पी, घ्यू चिज, चमर लगायत प्रदर्शन एवं बिक्री का लागी राखिने छ ।
महोत्सवले चौंरी पालन व्यवसायलाई प्रवर्द्धन गर्ने तथा चौंरी पालक किसानको उत्पादनलाई बजारीकरण गर्न मद्दत गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो  ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ, लिखुपिके गाउँपालिका र खिजीदेम्बा गाउँपालिकाको सिमानामा पर्ने लामुजेमा महोत्सव गर्ने तयारी भइरहेको संघले जनाएको छ ।
 महोत्सवमा ओखलढुङ्गाको देम्बा लामुजे याक तथा चौंरी कृषक सङ्घ का साथै सोलुखुम्बुका उल्लेख्य चौंरीपालक व्यवसायी एवं कृषकहरूका गरी करिब एक सय  याक, नाक तथा चौंरीहरु जम्मा हुने अनुमान  आयोजकले गरेको छ । लोपोन्मुख चौंरीपालन व्यवसायलाई जोगाइ राख्दै हिमाली पशुपालनको साख कायम राख्न यो महोत्सव अत्यन्तै सहयोगी बन्ने सङ्घको भनाई छ ।
 २०७७ सालमा स्थापना भएको सङ्घले जिल्लामा लोपोन्मुख चौंरी पालन व्यवसायलाई  पुस्तान्तरण गर्ने, व्यवसायीहरूको हकहितका लागी नीति नियम बनाउने निकायमा खबरदारी तथा दबाब दिने गरी काम गरिरहेको छ ।  साथै सङ्घले वैशाख ७ गते याक दिवस मनाउने गरी राष्ट्रिय रुपमा पहल गरिरहेको पनि जनाइएको छ । महोत्सवको अवसरमा मिनी  म्याराथन प्रतियोगिता समेत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *