नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन


काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाबस्वरुप र्याली निकालेका छन् ।
शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाबस्वरुप र्याली निकालिएको हो ।
र्यालीका क्रममा राजावादीहरुले ‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ, देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए । र्यालीअघि बढ्ने क्रममा प्रहरीले पटकपटक अवरोध गरेको थियो ।
यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं फर्किंदा भव्य स्वागत गरिएको थियो । सोही दिनबाट हौसिएका राजवादीहरुले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आएका छन् ।
तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा शाह भने गोरखा जिल्लाको गोरखनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् ।