पार्टी सरकारमा हुँदा भ्रष्टाचारको नायकलाई उड्डयन प्राधिकरणको महानिर्देशक बनाइयो: झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक बनाउने काम भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पार्टी सरकारमा गएका बेला क्यानको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएको बताएका हुन् ।
उनले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानबिन गर्नुपर्ने जिकिर गरे । भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अब बाहिर आउने उनको भनाइ छ । हाल क्यानको महानिर्देशकमा प्रदीप अधिकारी छन् । उनी नेकपा एसका नेता प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा महानिर्देशक नियुक्त भएका थिए ।
यसअघि सार्वजनिक लेखा समिति बैठकमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले झलनाथ खनालको दबाबमा आफूले क्यानको महानिर्देशक नियुक्त गरेको आरोप लगाएका थिए । सम्मानीत नेता खनालले आफूले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको दाबी गरे ।
उनले कम्युनिष्ट पनि हुँ भन्ने र कमिसनमा मुख गाड्ने कुरा सुहाउँदो नभएको उल्लेख गरे । महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरी तत्कालीन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको उनले बताए ।
नेता खनालले पार्टीको महाधिवेशन भएको लामो समय भइसक्दा पनि नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई प्रकाशन नगरिएको भन्दै आपत्ति जनाए । उनले नेताहरुले गरेको कमजोरीका कारण प्रतिगमनकारीहरु सक्रिय भएको जिकिर गरे ।
यस्तै अवस्था जारी भए ज्ञानेन्द्र शाह आएर नारायणहिटी बस्दैन भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ छ । उनले प्रतिगमनलाई रोक्ने हो भने देशलाई आमूल परिवर्तन गर्ने कार्यक्रम र पहलकदमी आवश्यक रहेको बताए ।
चोरहरूले मुख खोलाखोल गर्न थाले । प्रचण्डेलाई पनि भाग पुगेको थियो ।
पार्टी सरकारमा हॅुदा सोर्षफोर्स लगाएर आफ्नै नाममा प्रतिष्ठान खोल्न लगाएर कम फाइदा लुटेका हुन् यिनले , आफै मपाइ गर्छ कम्युनिष्ठिस् ले त ।