२३औं तिलोत्तमा गोल्डकप सुरु, विजेताले पाउनेछ १२ लाख १२ हजार २२२ नगद पुरस्कार


रूपन्देही । रूपन्देहीमा पश्चिम क्षेत्रकै सर्वाधिक राशी रहेको र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्ड कपको २३औं संस्करण शनिबार सुरु भएको छ । बुटवल उपमहानगरपालिका संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिता उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरी सरकारको खेल क्षेत्रमा लगानी गरेको बताए ।
‘अहिले ५८ वटा नगरको अगुवाइ र अन्य संघसंस्थाहरुको समन्वयमा अझ धेरै प्रतियोगिता आयोजना भैरहेको छ’, उनले भने ।
खेलकुदमा युवाहरुलाई आकर्षित गर्दै आशावादी बनाउने लक्ष्य रहेको भन्दै मेयर पाण्डेले राजधानी बाहिर देशकै उत्कृष्ट गोल्डकपका रुपमा रहेको प्रतियोगितालाई थप परिस्कृत गर्ने गरी सञ्चालन गर्न आफू लाग्ने बताए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङले रात्रीकालीन प्रतियोगिता आयोजना हुने गरी फ्लड लाइट जडान जरूरी रहेको भन्दै फुटबलको स्तरवृद्धि गर्न फुटबल प्रशिक्षक प्रशिक्षण आयोजनामा जोड दिन आग्रह गरे ।
एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेल विकासमा सरकारबाट सहयोग अझ बढाउनुपर्ने बताए ।
यस वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैयाँ वृद्धि गरिएको रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले बताए ।
उनका अनुसार प्रतियोगिताको उपाधि विजेता टीमले नगद १२ लाख १२ हजार २२२, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । यसैगरी उपविजेता टीमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए ।
ब्यस्त सेडुलका कारण यस वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब प्रतियोगितामा सहभागी नहुने उनले बताए । यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टीमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टीमको प्रतिस्पर्धा गर्नेछन ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ करोड ८ लाख ८८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।