क्रिकेट प्रशिक्षक छान्दै क्यानः ह्वाटमोरले दिए अन्तरवार्ता, जाफर र चन्द्रपल पनि दौडमा – Nepal Press

क्रिकेट प्रशिक्षक छान्दै क्यानः ह्वाटमोरले दिए अन्तरवार्ता, जाफर र चन्द्रपल पनि दौडमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका लागि नयाँ प्रमुख प्रशिक्षक नियुक्तीको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । आवेदन दिएका मध्येबाट सर्ट लिस्ट गरेर अहिले अन्तरवार्ता भइरहेको स्रोतले बतायो ।

भारतका मोन्टी देसाइको कार्यकाल सकिएपश्चात क्यानले गत फागुन ३ गते नयाँ प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको थियो । फेब्रुअरी २८ सम्मको मिति राखेर खुलाइएको भ्याकेन्सी ७० जनाभन्दा बढीले आवेदन दिएका थिए । उनीहरुमध्ये ७ जनालाई सर्ट लिस्टमा राखेर अन्तरवार्ता भइरहेको स्रोतले जनाए पनि औपचारिकरुपमा पुष्टि भएको छैन ।

क्यानले हाल जारी प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताकै दौरान नयाँ प्रशिक्षक ल्याउने योजना बनाएको थियो । तर, समयको चापका कारण यो प्रतियोगिता सकिएपछि मात्रै प्रशिक्षक नियुक्त हुन सक्ने सम्भावना रहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

‘प्रमुख प्रशिक्षक नियुक्ती प्रक्रियामा क्यानले काम गरिरहेको छ । आवेदकहरुको सर्ट लिस्टिङ गरेर अन्तिम प्रक्रियामा छौं । प्रधानमन्त्री कपकै दौरान नयाँ प्रशिक्षक ल्याउने सम्भावना भने कम देखियो । अब डेढ हप्ताजति लाग्न सक्छ,’ उनले भने ।

सर्ट लिस्टमा कतिजना छानिएको भन्ने आफूलाई जानकारी नरहेको लामाले बताए । सर्टलिस्टमा परेकामध्ये तीनजनाको नाम भने नेपाल प्रेसलाई प्राप्त भएको छ, जसमा अष्ट्रेलियाका देव ह्वाटमोर, भारतका वसिम जाफर र वेस्ट इन्डिजका शिवनारिन चन्द्रपल रहेका छन् ।

उनीहरुमध्ये ह्वाटमोरले यसअघि पनि नेपाली राष्ट्रिय टिम सम्हालेका थिए । उनले अस्ति शुक्रबार क्यानमा गएर अन्तरवार्ता लिएको स्रोतले जानकारी दियो । उनी अहिले पनि नेपालमै छन् ।

ह्वाटमोर यसअघि २०७७ सालमा नेपाली टीमका प्रशिक्षक नियुक्त गरिएका थिए । उनको कार्यकाल छोटो तर सुखद बनेको थियो । नेपाली टिमको ब्याटिङ शैली परिवर्तन गर्नमा ह्वाटमोरको भूमिका रहेको मानिन्छन् । कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी उनकै कार्यकालमा स्थापित भएको हो ।

७० वर्षिय ह्वाटमोर हाइप्रोफाइल प्रशिक्षक हुन् जसले सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए । नेपाल आउनुअघि उनले पाकिस्तान, जिम्बाबे, सिंगापुर र बंगलादेशका राष्ट्रिय टिमलाई प्रशिक्षण गरिसकेका थिए । साथै इन्डियन प्रिमियर लिगमा दुईवटा सिजन उनले कोलकाता नाइट राइडर्सलाई प्रशिक्षण गरे । पछिल्लो समय उनी विभिन्न देशका फ्रेन्चाइज टिमहरुलाई प्रशिक्षण गरिरहेका छन् ।

क्यानले ह्वाटमोरसँग एक वर्षको सम्झौता गरे पनि उनले ८ महिनामै राजीनामा दिएका थिए । कोरोनाको बेलामा परिवारसँग लामो समय टाढिँदा आफूलाई कठिन भएको भन्दै उनले इमेलबाट राजीनामा पठाएका थिए ।

यदि ह्वाटमोर नै प्रशिक्षकमा नियुक्त भए उनले नेपाली टिम र खेलाडीहरुलाई बुझ्न धेरै समय खर्चिनुपर्ने छैन । उनको कार्यकालमा प्रायजसो अहिलेकै खेलाडीहरु थिए ।

सर्टलिस्टमा रहेका चन्द्रपल वेस्ट इन्डिजका भेट्रान ब्याट्सम्यान हुन् । उनले वेस्ट इन्डिजबाट १६४ टेस्ट, २६८ एकदिवसीय र २२ टि २० म्याच खेलेका थिए । ब्याट्सम्यानका रुपमा उनका आँकडाहरु उत्कृष्ट छन् । टेस्टमा उनले ५१ भन्दा बढीको औसतमा ३० सतक र ६६ अर्धसतक बनाएका थिए । एकदिवसीयमा ११ सतक र ५९ अर्धसतक बनाउँदा उनको ब्याटिङ औसत ४१.६० थियो । टि २० मा भने उनी सफल रहेनन् ।

चन्द्रपल ब्रायन लारापछि सन् २००५–०६ मा केही समय वेस्ट इन्डिजको कप्तानसमेत बने । तर, उनको कप्तानी रेकर्ड त्यति सुखद छैन ।
चन्द्रपलले सन् २०१६ मा ४१ वर्षको उमेरमा क्रिकेटबाट सन्न्यास लिएका हुन् । त्यसयता उनी प्रशिक्षणमा सक्रिय छन् ।

सन् २०२२ को जनवरीमा उनी क्यारिवियन प्रिमियर लिगको फ्रेन्चाइज टिम जमैका तालावाजको प्रमुख प्रशिक्षक नियुक्त भए । सोही वर्षको जुलाइमा उनले अमेरिकी महिला राष्ट्रिय टिम सम्हालेका थिए । उनले अमेरिकी यु १९ महिला टिमलाई सन् २०२३ को यु १९ महिला विश्वकपमा प्रशिक्षण गरेपश्चात पदबाट राजीनामा दिए ।

भारतीय प्रशिक्षक वसिम जाफर भने मुलतः टेस्ट खेलाडी हुन् । उनले भारतको राष्ट्रिय टिमका लागि २१ टेस्ट म्याच र २ वटा मात्रै एकदिवसीय खेलेका छन् । उनका आँकडाहरु औसत नै छैन् । टेस्टमा ३४ को औसतमा ब्याटिङ गर्दै उनले ११ अर्धसतक र ५ सतक बनाएका थिए । एक दिवसीयमा भने दुई म्याचमा १० रन मात्रै जोडेका छन् । उनले सन् २०२० को मार्चमा क्रिकेटका सबै स्वरुपबाट सन्न्यास लिए ।

जाफरसँग बंगलादेशको राष्ट्रिय टिमको ब्याटिङ प्रशिक्षक तथा यु १९ टिम र ए टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरेको अनुभव छ । उनले भारतको उत्तराखण्ड, उडिसा र पञ्जाबको टिमलाई पनि प्रशिक्षण गरेका छन् ।

नेपालको एक दिवसीय मान्यता जोगाउनुपर्ने चुनौति अगाडि रहेकाले क्यान नयाँ प्रशिक्षकको नियुक्तीमा गम्भीर छ । विश्वकप लिग २ मा नेपाल अहिले अप्ठेरो स्थितिमा रहेकोले एक दिवसीय मान्यता संकटमा परेको हो । लिग २ का १२ म्याच खेल्दा नेपालले २ वटा मात्रै जित निकाल्न सकेको छ । नयाँ प्रशिक्षकको नेतृत्वमा नेपालले बलियो कमब्याक गर्ने आशा क्यान र समर्थकहरुले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर