डा. युवराज संग्रौलामाथि लागेको आरोप- के हो वास्तविकता ?


काठमाडौं । एक पूर्वछात्राले इन्स्टाग्राममा गरेका धारावाहिक पोस्टहरूले ११ सय विद्यार्थी अध्ययनरत काठमाडौं स्कुल अफ ल (केएसएल) मा हंगामा सिर्जना गरेको छ । उक्त कलेजका कार्यकारी निर्देशक डा. युवराज संग्रौला नै छानबिनमा तानिएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको केएसएल २५ वर्षअघि स्थापना भएर सञ्चालनमा रहेको कलेज हो । नेपालमा कानून व्यवसायी तथा न्यायाधीश उत्पादन गर्ने सबैभन्दा ठूलो शैक्षिक संस्थाको हैसियत बनाएको केएसएलका प्रमुख संस्थापक र सञ्चालक हुन् डा. संग्रौला । उनले पढाएका थुप्रै विद्यार्थीहरू न्यायाधीश र वकिल बनेर अहिले नेपालको न्याय क्षेत्र हाँकिरहेका छन् ।
पूर्वमहान्यायाधिवक्तासमेत रहेका प्रख्यात कानूनविद् संग्रौलाको परिचय न्याय क्षेत्रमा मात्रै सीमित छैन । उनी एक राष्ट्रवादी अभियन्ता, प्रखर वक्ता र निर्भिक विश्लेषकका रूपमा समेत परिचित छन् । भारतले गरेको नाकाबन्दीविरुद्ध कानूनी तप्काबाट सबैभन्दा बुलन्द आवाज उठाएका संग्रौला पछिल्लो समय यूएसएआईडीले दिने अनुदानका बारेमा गरेको ‘खुलासा’ का कारण चर्चामा थिए, तर अहिले उनको छविलाई चारित्रिक सवाल उठाएर धमिल्याउने प्रयास भइरहेको छ ।
स्नातक पाँचौं वर्षको परीक्षा सिध्याएर बसेकी सन्ध्या गौतमले संग्रौलासहित कलेजका शिक्षकहरूमाथि विभिन्न आरोप लगाउँदै गत डिसेम्बरमा उजुरी दिएकी थिइन् । उक्त उजुरीमा कलेजले कुनै एक्सन नलिएको भन्दै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लगातार पोस्टहरू गर्न थालिन् । यसलाई केही राष्ट्रिय मिडियाहरूले पनि कभरेज गरेपछि संग्रौलाले पत्रकार सम्मेलन नै गरेर प्रतिवाद गरे । आफूविरुद्ध गम्भीर षड्यन्त्र रचिएको र मिडिया ट्रायल गर्न खोजिएको उनको दाबी छ । उनले सामाजिक सञ्जालबाट आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीमा जानकारीसमेत गराएका छन् ।
आफ्नो बुवामाथि गम्भीर आरोप लगाइएपछि संग्रौलाकी छोरी युगिच्छाले इन्स्टामै प्रतिवाद गरेकी थिइन् । एउटा पोस्ट गर्दै उनले आफ्नो बुवा खराब चरित्रको नभएकाे भन्दै अफवाहमा विश्वास नगर्न आग्रह गरेकी थिइन् । त्यसपछि सन्ध्या युगिच्छामाथि खनिइन् । उनले युगिच्छालाई चर्को गालीगलौज गर्दै जलाइदिने धम्कीसमेत दिएकी थिइन् ।
के थियो आरोप ?
आफूलाई तेस्रोलिंगी समुदाय (एलजीबीटीक्यूआई) अन्तर्गतको queer (यौनजन्य झुकाव अनिश्चित वा परिवर्तनशील हुने/जोसुकैप्रति आकर्षित हुनसक्ने) को परिभाषाभित्र राखेकी युवती हुन् सन्ध्या । कोभिड भर्खर सुरु भएको बेलामा उनी काठमाडौं स्कुल अफ ल कलेजमा भर्ना भएकी थिइन् ।
उनी कलेज भर्ना भएको तीन वर्षसम्म अनलाइनबाटै पढाइ भयो । कलेज प्रशासनका अनुसार चौथो र पाँचौं वर्षमा कलेज सञ्चालन भए पनि उनी धेरै अनुपस्थित हुने गर्थिन् र उनको उपस्थितिदर १० प्रतिशतभन्दा कम छ ।
‘एटेन्डेन्स’ को निर्धारित मापदण्ड पुर्याउन नसक्दा सन्ध्याले पाँचौं वर्षको अन्तिम परीक्षा दिन नपाउने स्थिति आएको थियो । यस विषयमा कलेजले सन्ध्याकी आमालाई समेत बोलाएर छलफल गर्यो । आमाले छोरीको मानसिक स्वास्थ्य राम्रो नभएको (डिप्रेसनबाट पीडित) प्रष्टीकरण दिँदै परीक्षामा नरोक्न अनुरोध गरिन् । साथै यसबीचमा कलेजका तर्फबाट तीन वटा मुटकोर्टमा भाग लिएर राम्रो प्रदर्शन गरेको हुँदा संग्रौलाले सन्ध्यालाई परीक्षाको प्रवेशपत्र दिन लगाएको कलेज स्रोतको भनाइ छ ।
प्रवेशपत्र लिने समयमा नै सन्ध्याले एउटा उजुरी कलेज प्रशासनलाई दिएकी थिइन् । उक्त ६ बुँदे उजुरीमा उनले कार्यकारी निर्देशक संग्रौलाले कलेजका छात्राहरूलाई भर्बल एब्युज (शाब्दिक दुर्व्यवहार) गर्ने गरेको दाबी गरेकी छन् ।
सन्ध्याका मुख्य आरोपहरू यस प्रकार थिए:
– तेस्रोलिंगी समुदायका बारेमा बारम्बार नकारात्मक टीकाटिप्पणी गर्ने गरेको ।
– महिलाहरूको शरीरलाई लक्षित गरेर अवाञ्छित कुराहरू बोल्ने गरेको तथा गर्भावस्थामाथि पनि मजाक गर्ने गरेको ।
– कलेजका छात्राहरूबाट आफूलाई ब्याक मसाज (ढाड मालिस) गराउने गरेको ।
– कलेजका शिक्षकहरूले छात्राहरूसँग अनुचित सम्बन्ध राख्ने गरेको ।
– दुर्व्यवहार गरिएको विषयमा गुनासो आउँदा कलेजले छानबिन र कारबाही नगरेको ।
– फ्याकल्टी सदस्यहरूले सार्वजनिक रूपमा नै यौनजन्य टिप्पणीहरू गर्ने गरेको र यसबाट छात्राहरूलाई असहज हुने गरेको ।
– तेस्रोलिंगी समुदायका छात्रछात्राले विभेद र अपमान सहनु परेको ।
उजुरीमा उनले ५ वटा माग पनि अघि सारेकी थिइन् । उनका मागहरूमा कार्यकारी निर्देशक संग्रौलालाई निलम्बनमा राखेर उनीमाथि अनुसन्धान गर्नुपर्ने, दुर्व्यवहारविरुद्ध शून्य सहनशीलताको नीति लिनुपर्ने, गुनासोहरू सुन्न र विनापूर्वाग्रह त्यसलाई सम्बोधन गर्न एउटा स्वतन्त्र समितिको गठन गर्नुपर्ने, फ्याकल्टी र स्टाफहरूका लागि संवेदनशीलता एवं नैतिकताको तालिम अनिवार्य गर्नुपर्ने, दुर्व्यवहारका घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने रहेका छन् ।
सन्ध्याले बुझाएको यो उजुरीपत्र कार्यकारी निर्देशक संग्रौलाको हातमा पुग्यो । आफ्नै नाम उल्लेख भएको हुँदा उनले यसलाई कलेजकै गुनासो तथा उजुरी समितिमा फरवार्ड गरिदिए, तर परीक्षा नजिकै आइसकेकाले समितिले उनको उजुरीलाई थाँती राखेको थियो ।
कलेज स्रोतले भन्यो, ‘तत्काल छानबिनतर्फ लाग्दा विद्यार्थीहरू उपलब्ध हुन नसक्ने र उनकै परीक्षामा असर पर्ला भनेर रोकेका थियौँ । छानबिन नगर्ने भनेर पन्छाइएको होइन ।’
परीक्षा सकिएको तेस्रो दिन फागुन २४ गते राति ११ः२५ मा अचानक सन्ध्याले इन्स्टामा पोस्ट गरिन्, जसले ठूलो भाइब्रेसन ल्याइदियो । उनले ३६ घण्टासम्म लगातार कलेज र संग्रौलाविरुद्ध बोल्ने र लेख्ने गरिरहिन् ।
सन्ध्याको पहिलो पोस्टमा संग्रौलाविरुद्ध तिनै आरोपहरू उल्लेख थिए, जुन उनले उजुरीमा लेखेकी थिइन् । आफूले दिएको उजुरीमा कुनै कारबाही नभएकाले बाध्य भएर सोसल मिडियामा आउनुपरेको उनको भनाइ थियो । एक पटक संग्रौलाले आफूलाई ‘ब्वाइफ्रेन्ड नबनाउन र सीधै बिहे गर्न सुझाव दिएको’ भन्दै उनले आपत्ति जनाएकी छन् ।
आरोपमा कति दम ?
अहिलेको समाजमा महिलाको अस्मितासँग जोडिएर गरिने कुनै पनि टीकाटिप्पणीहरुलाई संवेदनशील रूपमा हेर्ने गरिन्छ । त्यसमाथि कानून विषयकै पढाइ हुने शैक्षिक संस्थामा यस्ता क्रियाकलापहरू यदि हुन्छन् भने त्यो झनै स्वीकार्य हुँदैन, तर कलेजले सन्ध्याको आरोपलाई तार्किक रूपमा प्रतिवाद गरिरहेको छ ।
एलजीबीटीक्यूआई समुदायमाथि नकारात्मक दृष्टिकोण रहेको आरोपलाई कलेजले खण्डन गरेको छ । कलेजद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘यो आरोप सफेद झूट हो । एलजीबीटीक्यूआईको मानव अधिकार सम्बन्धमा सन् २०२० मै यस कलेजले पहिलो पटक अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगिता आयोजना गरेबाट यो स्पष्ट हुन्छ ।’
सन्ध्याले लगाएका शाब्दिक दुर्व्यवहारका आरोपहरू संवेदनशील भए पनि उनले कुनै ठोस प्रमाण प्रस्तुत गर्न भने सकेकी छैनन् । उनको अर्को कमजोरी भनेको भाषाशैली हो । आफ्नो मौखिक र लिखित अभिव्यक्तिहरूमा उनले यत्रतत्र अश्लील शब्दहरू प्रयोग गरेकी छन् । एउटा भिडिओमा उनले आफ्नै हजुरबालाई रेपिस्ट (बलात्कारी) भन्नु, बुवा-आमाविरुद्ध पनि मुख छाड्नुले उनी मानसिक रूपमा कति स्वस्थ छिन् भनेर प्रश्न गर्ने ठाउँ दिएको छ ।
यहीबीच एउटा पोस्टमा उनले आफ्नो थर त्यागेको घोषणासमेत गरिन् ।
उनी लेख्छिन्- ‘म आधिकारिक रूपमा भट्टराई परिवार र गौतम परिवारलाई बहिष्कार गर्न चाहन्छु । मेरो नाम अब सन्ध्या जी हो र यही नामबाट बोलाउनू ।’ यसपछि उनले परिवारमाथि अपशब्दहरू प्रयोग गरेकी छन् ।
खासमा उनले कलेजविरुद्ध सडकमा एक्लै गएर प्रदर्शन गर्ने योजना बनाएकी थिइन्, तर यस कार्यका लागि बुवाआमाले अनुमति दिएनन् । छोरीको सुरक्षाको चिन्ताले गर्दा उनीहरूले रोकेका थिए । त्यसको प्रतिरोधमा सन्ध्याले आफ्ना आमा र बुवा दुवैको थर त्याग्ने घोषणा गरेकी हुन् ।
सन्ध्याले गरेको सबैभन्दा ठूलो ‘ब्लन्डर’ चाहिँ सामाजिक सञ्जालबाटै पैसाको डिमान्ड गर्नु हो । उनले पाँच लाख रुपैयाँ आफूलाई दिइहाल्न चेतावनी दिएकी थिइन् ।
एउटा पोस्टमा कमेन्ट गर्दै उनले लेखेकी छन्, ‘केएसएल, मलाई ५ लाख रुपैयाँ पठा !’
अर्को पोस्टमा उनी लेख्छिन्, ‘दिउँसो २ः१० सम्म १० हजार रुपैयाँ दिनु वा म एउटा प्रमाण सार्वजनिक गरिदिन्छु, जुन निश्चित रूपमा संग्रौलाविरुद्ध प्रयोग हुनसक्छ ।’
यसरी पैसाको डिमान्ड गर्दा उनले उठाउन खोजेको मुद्दाको विश्वसनियता नै कमजोर भएको छ र नियतमाथि प्रश्न उठेको छ ।
अर्को महत्त्वपूर्ण तथ्य भनेको सन्ध्याले आफू खुद संग्रौलाबाट पीडित नभएको संकेत गरेकी छन् । एउटा पोस्टमा उनले यस्तो लेखेकी छन्:
‘मैले कहिल्यै पनि भनेको छैन कि म केएसएलभित्र यौन दुर्व्यवहारमा परेँ । भनेको छु ? त्यसैले मप्रति ऐक्यबद्धता दर्शाइरहँदा मलाई हिंसा भएको भनेर कसैले नलेख्नू । मैले त्यो मुद्दा उठाएकै होइन । म थिएँ वा अरू कोही थियो भन्नेले फरक पर्दैन ।’
सामाजिक सञ्जालबाट आरोप लगाएकी सन्ध्याले अहिलेसम्म प्रहरी वा कुनै पनि सरकारी निकायमा उजुरी गरेकी भने छैनन् । बरु उनले आफू अन्तर्राष्ट्रिय निकायमा जाने धम्की दिएकी छन् ।
कलेजका पाँच प्रतिवाद
कलेजले जारी गरेको विज्ञप्तिमा संग्रौलाको निर्दोषिताको वकालत गर्दै यी तर्कहरू गरिएका छन्:
एक- गौतमले इन्स्टाग्रामलगायत पोस्टमा ‘व्यक्तिगत रूपमा मलाई कसैले दुर्व्यवहार गरेको छैन, अरूको न्यायका लागि बोलिदिएको हुँ भन्ने उल्लेख गरेकी छन् । यसको सीधा अर्थ उनी आफैं पीडित होइनन् । आफू पीडित नै नभएको व्यक्तिले को व्यक्ति पीडित हो भन्ने कसैको नाम उल्लेख नगरी म अमुक व्यक्तिको प्रतिनिधि हुँ भन्दै सामाजिक सञ्जालमा मिथ्या तथ्य सार्वजनिक गरिनु सामाजिक मर्यादा तथा कानूनविरुद्ध हो ।
दुई- गौतमले सार्वजनिक गरेको पोस्टमै कार्यकारी निर्देशक प्रा डा युवराज संग्रौला र संग्रौला परिवारसँग ५-५ लाखका दरले २० लाख रुपैयाँ माग गर्नु ।
तीन- सामाजिक सञ्जालमै आफ्ना बुबालाई गाली गर्दै हजुरबुवालाई समेत बलात्कारी भन्दै कलंकित गर्नु ।
चार- सभ्य मानवले भन्न र बोल्न नसक्ने अश्लील शब्दहरू सार्वजनिक रूपमा बोल्नु ।
पाँच- सामाजिक सञ्जालबाटै मध्यराति संग्रौलाकी छोरी युगिच्छा संग्रौलाको नाम लिँदै ‘तँलाई जलाएर मार्छु’ भन्दै आतङ्कित पार्नु ।
छ- सामाजिक सञ्जालमै केही व्यक्तिहरूको नाम लिँदै तिमीले मलाई यो काम गर्न लगायौँ । अहिले तिमीहरू आरामसँग बस्ने ! मैले चाहिँ दुःख पाउनुपर्ने’ भावसहित बोल्नुले उनलाई अरू कसैले दुरूपयोग गरिरहेको खुल्छ ।
सात- निज विद्यार्थीलाई यस कलेजबाट विभिन्न प्रतियोगिताहरूमा सहभागी गराएको र कलेजकै खर्चमा उनी हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले आयोजना गर्ने नुरेम्वर्ग अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगितामा समेत सामेल भएर आएपछि कलेजले सार्वजनिक कार्यक्रम गरी निज र निजको समूहलाई अभिनन्दनसमेत गरेको थियो । यसबाट कलेज निज विद्यार्थीप्रति पूर्वाग्रही नरहेको स्पष्ट हुन्छ ।
संग्रौलाको नियतमा होइन, शैलीमा समस्या
सो कलेजमा पढ्ने केही विद्यार्थीहरूसँग नेपाल प्रेसले कुराकानी गर्दा कसैले पनि संग्रौलाको नियतमा प्रश्न उठाएनन्, तर उनले विद्यार्थीहरूसँग बोल्ने शैली भने आवश्यकताभन्दा बढी ठाडो र झर्रो हुने गरेको उनीहरूको भनाइ छ ।
नाम उल्लेख गर्न नचाहने एक विद्यार्थीले भने, ‘उहाँले कोही पनि छात्रासँग अनुचित रूपमा नजिकिन खोज्नुभएको वा शारीरिक दुर्व्यवहार गर्नुभएको जस्तो लाग्दैन । सबै छात्रछात्रालाई परिवारकै सदस्य जस्तो ठान्नुहुन्छ, तर कहिलेकाहीँ उहाँले महिलाको शरीरलाई लिएर गर्ने टीकाटिप्पणीहरू अमर्यादित खालका पनि हुन्छन् । छात्रछात्राको रिलेसनशिप स्टाटसबारे अनावश्यक चासो दिनुहुन्छ । तत्काल प्रतिक्रिया नजनाए पनि सबैले यसलाई सहज रूपमा नलिन सक्छन् ।’
संग्रौलाले हेड मसाज गराइरहेको एउटा तस्बिर पनि सन्ध्याले सार्वजनिक गरेकी थिइन् । यो तस्बिरमा संग्रौला आफ्नो कार्यकक्षभित्र कुर्सीमा आँखा चिम्लिएर बसिरहेको र पछाडिबाट कसैले दुवै हातका औँलाले उनको निधार थिचिरहेको देखिन्छ । हातमात्रै देखिएकाले केटाको हो कि केटीको भनेर छुट्ट्याउन सकिँदैन ।
कलेजकै कुनै छात्राबाट संंग्रौलाले मसाज गराएको र यस्तो काम उनले नियमित गर्ने दाबी सन्ध्याको छ । यो दाबी सत्य हो भने संग्रौलामाथि अवश्य चारित्रिक प्रश्न उठ्छ । किनकि पुरुष शिक्षकले उमेर पुगेका छात्राहरूलाई कार्यकक्षमा ल्याएर ‘हेड मसाज’ गराउनु स्वाभाविक होइन, तर संग्रौलाले यो आरोप अस्वीकार गरेका छन् ।
केही दिनअगाडिको पत्रकार सम्मेलनमा यो तस्बिरबारे उनले यस्तो प्रष्टीकरण दिएका थिए:
‘यो तस्बिर मैले पनि हेरेँ । मलाई लाग्छ, यो ६-७ वर्ष अगाडिको हुनुपर्छ । म त्यसबेला स्पन्टेलाइटिस (टाउको पछाडि असैह्य दुखाइ हुने) को समस्याबाट ग्रसित थिएँ । डाक्टरको सुझावअनुसार घाँटीमा पट्टि लगाउने गर्थे । लामो कक्षा लिँदा म दुई पटक भुईमा ढलेको पनि हो ।
एकै चोटि दुई-तीन घण्टासम्म पढाउँदा दु:खाइ धेरै हुन्थ्यो । यस्तो बेलामा निधारमा औँलाले थिचेर मसाज गर्ने तरिका कलेजकै एक पूर्वविद्यार्थीले सिकाइदिएका थिए । यसबाट केही राहत मिल्थ्यो । यो तरिका कलेजमा केही विद्यार्थीलाई पनि थाहा थियो । मलाई यो बिमारी ४-५ वर्ष अगाडि नै ठीक भइसकेको छ ।
यो फोटो कहिले कसले खिचेको हो याद भएन । फोटोमा देखिएको हात महिलाको हो वा पुरुषको भन्ने पनि म यकिन छैन, तर यति चाहिँ जुनसुकै कसम खाएर भन्न सक्छु कि त्यो कुनै गलत नियतवश गरिएको कार्य थिएन । फोटोमा हेर्दा नै मेरो अनुहारमा पीडा देखिन्छ । साथै यो तस्बिर अर्को तेस्रो व्यक्तिले खिचेको छ । जसको अर्थ कोठामा अरू पनि कोही थियो । सार्वजनिक रूपमा नै गरिएको कार्यमा कुनै पनि खराब नियत हुनै सक्दैन ।
यो नितान्त मेरो स्वास्थ्यसँग जोडिएको कुरा हो । साथै त्यो मलाई आरोप लगाइएको जस्तो ब्याक मसाज वा हेड मसाज पनि होइन । केवल औँलाले निधारमा थिचिएको हो । यत्तिका भरमा कुनै आरोप प्रमाणित हुन्छ र कानूनतः मैले सजाय भोग्नुपर्छ भने त्यसका लागि तयार छु । होइन भने यही फोटोका भरमा मेरो चरित्रहत्या गर्न नखोजियोस् ।
छोरीमाथि गालीगलौज र ‘थ्रेट’
आफ्नो बुवाको पक्षमा अभिव्यक्ति दिँदा संग्रौलाका छोरीहरूले धाकधम्की खेप्नुपरेको छ । संग्रौलाका अनुसार सन्ध्याको धम्की र गालीबेइज्जतीका कारण उनकी एक छोरीलाई अस्पताल नै पुर्याउनु परेको थियो ।
पत्रकार सम्मेलनमा उनले यसरी सुनाए घटना विवरण
मेरो छोरीले पोस्ट हाल्नासाथ उनलाई निरन्तर गालीगलौज र मार्ने काट्ने धम्कीहरू दिन थालियो । त्यसको भोलिपल्ट बिहान म एउटा मुद्दामा बहसका लागि उदयपुर गएको थिएँ । त्यहाँबाट फर्किने क्रममा भकुण्डेबेसीमा रहेको कलेजको ट्रेनिङ सेन्टरमा बसेका थियौं । भोलि बिहान आठ बजेतिर काठमाडौं जाने योजना थियो, तर बिहान साढे ५ बजे नै मलाई फोन आयो ।
घरमा बसेको मेरो एक जना छोरी १०-१५ दिन अगाडिमात्रै अस्पतालबाट ल्याएको हुनाले अर्को छोरी सानो नानी पनि लिएर ऊसित बस्न आएकी थिइन् । राति १२ बजे तँलाई म जिउँदै जलाइदिन्छु भनेर धम्कीको भिडियो आयो । त्यसमा उनले ‘मेरो हजुरबा पनि बलात्कारी हो, मेरो कजनले मलाई १६ वर्षमा बलात्कार गरेको थियो, म मेरो परिवारलाई पनि छोड्दिनँ..तिमीहरूलाई अहिल्यै आएर सिध्याइदिन्छु…’ आदि इत्यादि भनेपछि मेरो छोरी त्रसित बनिन् । उनी रातभरि सुत्न नसकेपछि बिहान गाह्रो भएर अस्पताल लैजानुपर्यो भन्दै मलाई फोन आयो । त्यसपछि हामी आत्तिएर उठ्यौँ र गाडी चढेर हिँडिहाल्यौँ । हामी आइपुग्दा छोरीलाई अस्पताल लगिसकिएको थियो ।
छानबिन कहाँ पुग्यो ?
सन्ध्याको उजुरीमाथि सुरुमा कलेजकै आन्तरिक समितिले छानबिन गर्न खोजेको थियो, तर सन्ध्याले त्यसको विरोध गर्दै कलेज बाहिरबाट छानबिन गर्नुपर्ने अडान लिइन् । उनलाई केही पूर्वविद्यार्थीहरूले साथ दिए । त्यसपछि जिल्ला अदालतका पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराईको नेतृत्वमा अधिवक्ता सीमा धामी र वरिष्ठ पत्रकार तीर्थ कोइराला रहेको समिति गठन गरियो, तर उक्त समितिका संयोजक भट्टराई आफ्नो विज्ञताभित्र नपरेको भन्दै पन्छिएका छन् ।
डा. संग्रौलाले आफूमाथि छानबिन पूरा नहुँदासम्म पठनपाठनबाट हात झिकेका छैन ।
उनले नेपाल प्रेससँग भने, ‘कलेजको पठनपाठन सुचारु नै छ, तर म पढाउन गएको छैन । अनुसन्धानमा कुनै हस्तक्षेप पनि गरेको छैन । यो विषय किनारा नलागेसम्म कलेजमा निष्क्रिय नै रहन्छु ।’
कलेज स्रोतका अनुसार अहिले विद्यार्थीहरूलाई बोलाएर सोधपुछ गर्ने कार्य भइरहेको छ । अब स्वतन्त्र छानबिनलाई कसरी अगाडि बढाउने भनेर कलेजले अर्को निर्णय लिइसकेको छैन ।
भाषा भनेको संकेत को मानक हो । कानूनका विद्यार्थीले लाज मान्ने गरी बोल्न र लेख्न पनि सक्नु पर्छ । संस्कार र धर्म अनुसार साँढे लाई कट्टु किनेर लाउनु पऱ्यो कि ! त्यो केटीको मानसिक अवस्था माथि परीक्षण गरी निचोडमा पुग्नु पऱ्यो ।
यहाँ सन्ध्या भन्ने पात्र कहि कतैबाट भिक्टिम भएको उनैको भाषाबाट पनि देखिदैन उनको आमाले भने अनुसार उनीमा केही समस्या पनि देखियो पैसाको बार्गेनिङ परिवार माथि लान्छना केही समस्या छ कि र क्याम्पस प्रशासनले पनि ksl भित्र छानवीन गरेर स्पष्टता देखाउनुपर्छ जोकोही लाई कारबाही होस् प्रमाणिात नभए ससम्मान प्रस्ट पारि प्रतिवेदन सार्वजनिक गरियोस्
पुरुषहरूको इज्जत र अस्मितामाथी महिलाले आफ्नो स्वार्थको लागी प्रहार र खेलबाड गर्ने काम नियमित जस्तै भएको छ अचेल! यो सन्ध्या भन्ने व्यक्ति कतैबाट परिचालित र पैसाको लागि बार्गेनिङ गर्नलाई युवराज सङ्ग्रौलामाथी झुठो आरोप लगाएको प्रष्ट नै छ!
प्रमाण सहितको कुनै आरोप देखिदैन, मानसिक बिरामी भनेर उसैकी आमाले भनिछिन। सामाजिक मान्यता नमान्ने woke virus ले सताएछ क्यारे ति महीलालाइ, सबै बाट आफूलाइ नै पिडीत देख्छिन।