प्रधानमन्त्रीलाई देशमै गरेकाे काम सुनाएका विज्ञ युवाहरुकाे प्रश्न- सरकारलाई कसरी सहयोग गर्ने ? – Nepal Press

प्रधानमन्त्रीलाई देशमै गरेकाे काम सुनाएका विज्ञ युवाहरुकाे प्रश्न- सरकारलाई कसरी सहयोग गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारमा बसेर विज्ञ युवाहरुका कुरा सुनेका छन् । युवाहरुका कुरा धेरै सुनेका उनले थोरै बोले ।

नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघको शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा सञ्चालक कुवेर अधिकारीले युवाहरु बालुवाटारमा सम्भावना देखाउन, समस्या सुनाउन र समाधान निकाल्न आएको बताए । उनले ‘वैश्विक चेत’ भएका युवाहरुले वैश्विक चेतको कुरा गर्ने भन्दै युवाहरुलाई आफ्ना कुरा भन्न आग्रह गरे ।

कार्यक्रममा सहभागी केमिकल इन्जिनियर अनिस अधिकारीले आफूले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीकै कार्यकालबाट सुरु भएको केमिकल इन्जिनियरिङ पढेको बताउँदै नेपालमा आफूले सहयोग गर्न चाहेको बताए । अधिकारीले प्रत्येक पालिकामा कम्तिमा एकजना केमिकल ईन्जिनियरकाे आवश्यकता रहेकाे बताए ।

त्यस्तै, मेकानिकल इन्जिनियर गुञ्जन घिमिरे उनले सरकारले तय गरेको सगरमाथा संवादमा आफ्नो सहयोग हुने बताए । उनले भने, ‘नेपालले कार्बन ट्रेड गर्नलाई कार्बन स्टक एक्सचेन्स बनाएर व्यापार गर्नसक्छ । म यस विषयमा सगरमाथा संवाद टोलीलाई सहयोग गर्न चाहन्छु । कसरी सहयोग गर्न सकिन्छ ?’

यस्तै अर्का युवा दर्शन पराजुलीले आफूले युवाहरुको रुचिको र विश्वको अहिले चलेको चलन एआईमा काम गरेको भन्दै एआईमा देशलाई तयार गर्ने मिसनमा भएको बताए ।

भारत र चीनमा विद्यालय तहबाटै एआईको बारेमा पठनपाठन हुन थालेको भन्दै पराजुलीले नेपालमा पनि दक्ष शिक्षक बनाउन ‘अपस्किल’लाई ध्यान दिएर काम गर्न सकिने बताए ।

आफूहरुले नेपाललाई एआई साक्षर बनाउन लागेको र त्यसमा सरकारी निकायलाई साक्षरता तालिम दिन आफूहरु तयार भएको पराजुलीले बताए । उनले प्रधानमन्त्रीलाई अफर दिए- ‘हामी १० हजार सरकारी कर्मचारीहरुलाई निःशुल्क एआई साक्षरता तालिम दिन तयार छौं ।’

प्रधानमन्त्री ओलीले आफ्नै समयमा अप्टिकल फाइबर देशभर लाने, डिजिटल नेपालको कार्यक्रमदेखि एआई नीति आएको भन्दै सहयोग गर्ने बताए ।

यस्तै कानून पढेकी रेजिना बस्नेतले नेपालमा विनाकसुर सजाय पाउनेहरु धेरै भएको भन्दै आफूहरु त्यसको रोकथाममा लागेको बताइन् ।

नेपालमा विनाकसुर सजाय पाएकाहरुलाई पीडितको दर्जा नभएको भन्दै उनीहरुलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने बताइन् । फोरेन्सिक ल्याबको गुणस्तर बढाउन पनि उनले माग गरिन् ।

जवाफमा प्रधानमन्त्री ओलीले अहिले विनाकसुर सजाय हुने कुरामा कमी आएको बताए । विनाकुनै कसुर सजाय पाएको उदारहण आफैँ भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘पञ्चायतमा डाका गरेको भनेर झूटा कसुर मलाई नै लगाइएको थियो ।’


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई देशमै गरेकाे काम सुनाएका विज्ञ युवाहरुकाे प्रश्न- सरकारलाई कसरी सहयोग गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर