प्रधान सम्पादक पौडेललाई हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार प्रदान
अरु को-को सम्मानित ?


काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।
आइतबारदेखि विराटनगरमा चौतारीको १० औं महाधिवेशनको उद्घाटन समारोहमा उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल र चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले सम्मान प्रदान गरेका हुन् ।
हृदयचन्द्रसिंह स्मृति पुरस्कार प्रेस चौतारी नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो । नेपाली साहित्यका अग्रज साहित्यकार तथा कवि हृदयचन्द्र सिंह प्रधानको स्मृतिका स्थापित यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले,बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ,गोपाल बुढाथोकी,तीर्थ कोइराला,अखण्ड भण्डारीलगायत पुरस्कृत भइसकेका छन् ।
विसं १९७२ सालमा जन्मिएर ४३ वर्षको अल्पायुमै निधन भएका नेपाली वाङमयका अग्रणी पुस्ताका प्रगतिवादी साहित्यकार प्रधान हृदयचन्द्र सिंह प्रधानको स्मृतिमा प्रेस चौतारी नेपालमार्फत प्रधानका परिवारले यो पुरस्कार स्थापना गरेका हुन् ।
यस्तै, हेमन्त पौडेललाई अग्निशिखा स्मृति, शान्ति गुरुङलाई डा. शान्ति पाण्डे प्रेस चौतारी महिला पत्रकारिता, लालबाबु शेख र रिमा सोमैलाई वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी, टपेन्द्र कार्की र मालती केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता, उषा तामाङ र रोशनी कठेतलाई सावित्रीदेवी–पद्यलक्षमी बस्नेत स्मृति र गार्डेन राई र हरिश चन्द्रलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।