नाउपाको बैठकमा मानुषी- सिके राउत र रेशम चौधरीसँगै मिसिँदैछन् बाबुराम ?


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को दुई दिनसम्म चलेको बैठकले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने निर्णय लियो । नाउपाले जनमतसँग एकताको लागि सांसद गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको छ ।
जनमतले यसअघि नै कार्यदल बनाएर प्रक्रिया सुरु गरिसकेको छ । दुवै पार्टी एकताको लागि तयार भएपछि हिजो केन्द्रीय समितिको बैठकको समापनमा जनमतका अध्यक्ष डा. सिके राउत पुगेर सम्बोधन गरे ।
दुई पार्टीबीच एकता निश्चित भएर राउत बैठकमा पुग्दै गर्दा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्षमा मानुषी यमी भट्टराई नाउपाको बैठकमा देखिइन् ।
मानुषी नाउपाको बैठकमा पुगेपछि बाबुराम पनि सिके र रेशमको एकता प्रक्रियामा मिसने चर्चा चल्यो । तर, त्यो चर्चालाई सत्यता नभएको मानुषीले बताएकी छन् ।
उनले बैठकमा अध्यक्ष भट्टराईलाई बोलाइएको भएपनि अध्यक्ष र महासचिव दुवै जना जनकपुर पुगेकाले आफू गएको फेशबुकमार्फत् जानकारी गराएकी छन् ।
उपाध्यक्ष मानुषी नाउपाको बैठकमा किन गइन्, हामीले नेसपा कार्यालयका प्रमुख रोशन पोखरेललाई सोध्यौं ।
त्यसबारे उनले भने, ’एकताबारे त्यस्तो कुनै तयारी छैन । नयाँ पार्टीहरूले वैकल्पिक शक्ति बनाउनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले नयाँ पार्टीहरूबीच शुभकामना आदान प्रदान हुनु र बैठकमा आमन्त्रित गर्नु स्वभाविक हुन्छ । त्यो पार्टी एकतासँग कुनै सम्बन्धित होइन ।’
उनले तत्काल पार्टी एकताको सम्भावना नभए पनि मुद्दामा एकैठाउँमा रहेर काम गर्न सकिने बताए ।
उनले भने, ‘सामान्य कुराकानी त हुने भइहाल्यो तर उहाँहरूले आफैँले आफूलाई वैकल्पिक भन्नुभएको छैन । हामी नयाँ वैकल्पिक शक्ति बन्नुपर्छ भन्ने अभियानमा छौँ । हाम्रो पार्टीको मान्यता उहाँहरू एकताबद्ध भएर जाँदा हुन्छ भन्ने मान्यता हो, हिजो त्यही अनुसार पार्टी उपाध्यक्षले गएर शुभकामना दिनुभएको हो ।’
उनले नेसपाले अब तत्काल कुनै पार्टीसँग एकता गर्ने भन्ने कुरामा कुनै छलफल नै नगरेको बताए ।
पोखरेलले थपे, ‘महाधिवेशनपछि नयाँ पार्टीहरूसँग संवाद गर्दै जाने भनेका छौँ । अस्ति हामीले गरेको कार्यक्रममा पनि नयाँ पार्टीहरूलाई बोलायौँ । हामीले अब मुलुकको आवश्यकता अनुरूपको कार्यदिशा, कार्यक्रम कसरी लैजाने जनताको इच्छा चाहना कस्तो छ ? भन्ने विषयमा चाहिँ सँगै बसेर छलफल बहस गर्दै जाऔँ भन्ने हाम्रो कुरा हो ।’