सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी ऐन संशोधनको प्रस्ताव राष्ट्रिय सभाबाट पारित (भिडिओ)


काठमाडौं । राष्ट्रियसभाले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव उपर छलफलपछि बैठक बहुमतले स्वीकृत गरेको हो ।
त्यसअघि छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री गुरुङले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले उक्त विधेयक ल्याएको जानकारी दिए ।
विधेयकमा अत्यन्त सकारात्मक र राम्रा प्रावधान समेटिएको भन्दै उहाले यसमा विरोध गर्नु आवश्यक नरहेको जिकिर गरे ।
त्यस्तै, उनले सुशासन कायम तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएकाले विधेयक पारित गर्न आग्रह समेत गरे ।