वैशाखमा सिरीजंघा महोत्सव, तयारीमा जुट्यो गाउँपालिका


काठमाडौं । कंचनजंघा हिमाल र नवनिर्मित कंचनजंघा साहसिक पदमार्गको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देष्यका साथ ताप्लेजुङको सिरीजंघा गाउँपालिका सिरीजंघा पर्यटन महोत्सव २०८२ को तयारीमा जुटेको छ ।
आगामी वैशाख १३ देखि १५ गतेसम्म कंचनजंघा साहसिक पदमार्गमा पर्ने ३३ सय मिटरको उचाइमा रहेको नयाँ झोरेनीमा आयोजना हुने उक्त महोत्सवको आधिकारिक लोगो र प्रोमो भिडियो हालै जिल्ला सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।
सो अवसरमा बोल्दै सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले पर्यटन प्रर्वद्धन, जलवायु परिवर्तनको असरवारे सचेतना र पालिकाको आर्थिक समृद्धिको लागि सिरीजंघा पर्यटन महोत्सव २०८२ कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
यसैगरी महोत्सव आयोजक समिति सचिवालयका संयोजक समेत रहेका उपाध्यक्ष डा. चित्र मावोले उक्त महोत्सवले सिरीजंघा गाउँपालिकाको मात्र हैन, समग्र कोशी प्रदेशकै पर्यटन प्रवर्द्धन टेवा पुग्ने बताए ।
सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष तथा महोत्सव आयोजक समिति सचिवालयका संयोजक डा. चित्र मावो, पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदेम्वे र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सो महोत्सवको आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजानिक गरिएको थियो । सो भिडियो प्रोमो मुन्धुम फिल्मस् युट्युब च्यानलबाट सार्वजानिक भएको छ ।
सिरीजंघा पर्यटन महोत्वसअन्तरगत जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न वैशाख ५ देखि १३ गतेसम्म कंचनजंघा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, वैशाख १४ र १५ गते स्थानीय याक, चौरी प्रवद्र्धन तथा प्रर्दशन, बैशाख १५ गते कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सोही दिन बेलुका कला, साहित्य तथा संगीत कार्यक्रम आयोजना गरिने बताइएको छ ।
उक्त महोत्सव सम्पन्न गर्न झण्डै ५२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उपाध्यक्ष डा. मावोले जानकारी दिए ।