दलितको उठिबास प्रकरण: गाउँपालिका अध्यक्षलाई ससम्मान रिहा गर्न जसपा नेपालको माग – Nepal Press

दलितको उठिबास प्रकरण: गाउँपालिका अध्यक्षलाई ससम्मान रिहा गर्न जसपा नेपालको माग

जनकपुरधाम । छुवाछूतसम्बन्धी मुद्दामा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई छुटाउन जसपा नेपाल आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जसपा नेपाल सिरहाका अध्यक्ष अशोक यादवले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका हुन् । उनले छलफलका लागि बोलाएर मानमर्दन हुनेगरी अध्यक्ष यादवसहितलाई थुनामा राखेकोमा आपत्ति जनाउँदै विनासर्त ससम्मान रिहा गर्न माग गरेका छन् ।

उनले राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रुपमा छुवाछूतको मुद्दा लगाई प्रताडित गरी थुनामा राखेको र झूटा आरोप लगाई जाहेरी दर्ता गर्ने काम भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

गापा अध्यक्षलगायत सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरुलाई अविलम्ब ससम्मान थुना मुक्त नगरिए आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने विषम परिस्थिति र क्षतिको जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी जसपा नेपालले दिएको छ ।

गापा अध्यक्ष, पूर्ववडाध्यक्ष यादव र बजरंगी बाबाले औरही गापा- ५ स्थित महायज्ञ गर्ने नाममा डोम समुदायका दीपक मल्लिकको घर भत्काएको र अछूत बसेको भन्दै त्यहाँको माटोसमेत ताछेर फालेको आरोप लागेको छ ।

पीडित मल्लिकले आरोपी तीनै जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा शनिबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराइसकेका छन् । गापा अध्यक्ष र पूर्ववडाध्यक्ष प्रहरी नियन्त्रणमा छन् भने बाबा फरार छन् ।

अध्यक्ष यादव जसपा नेपालबाट निर्वाचित भएका हुन् भने पूर्ववडाध्यक्ष यादव जनमत पार्टीका पालिका अध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर