कांग्रेस बैठकमा केसीले भने- सडकमा देखिएको जनआक्रोश व्यवस्था भन्दापनि अवस्थाविरूद्धको हो


काठमाडौं । नेपाली कांग्रेसका नेता नेता अर्जुननरसिंह केसीले सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहिनता र दण्डहिनताको एकमुष्ट जनआक्रोश भएको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ७ बुँदे धारणा राख्दै सडकमा देखिएको जनआक्रोश व्यवस्थाविरूद्ध भन्दा पनि अवस्था विरूद्धको आवाज भएको बताए ।
उनले भने, ‘आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ ।’
यस्तै, पार्टी विधानको सर्वोच्चता, विधि र पद्धतिलाई अपनाउन नसके निरंकुशताको विरोध गर्ने हक गुमाउने बताए ।
उनले थपे, ‘सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलंका, बांग्लादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौं ।’