छुवाछुत मुद्दामा औरही गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि ५ दिन म्याद थप


जनकपुरधाम । छुवाछुत मुद्दामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवमाथि सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा दुबै जनामाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको हो । उनी दुबै जनालाई सिरहा प्रहरीले शुक्रवार साँझ नियन्त्रणमा लिएको थियो ।
पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा गापा अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरंगी बाबामाथि शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । उनले प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग गरेका हुन् ।
आरोपित तीनै जनाले वडा नम्बर ५ स्थित महायज्ञ गर्ने नाममा आफ्नो घर भत्काएको र अछुत बसेको भन्दै त्यहांको माटो समेत ताछेर फालेको पीडितले आरोप लगाएका छन् ।