पीएन क्याम्पसको स्ववियूको मतगणना सोमबार बिहान ८ बजेबाट सुरु हुने – Nepal Press

पीएन क्याम्पसको स्ववियूको मतगणना सोमबार बिहान ८ बजेबाट सुरु हुने

पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत गणना सोमबार बिहानबाट सुरु हुने भएको छ ।

आइतबार साँझ बसेको सर्वदलीय बैठकले सोमबार बिहानबाट मत गणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

‘रातको समयमा लाइन गयो भने झ्याउ हुन्छ भनेर विद्यार्थीहरुले बिहान गर्ने कुरा गर्नुभयो । भोलि बिहान ८ बजेदेखि मत गणना गर्ने निर्णय भएको छ’, उनले भने, ‘क्याम्पसभित्रै मत गणना हुन्छ । मंगलबार दिउँसो १२ बजेसम्म सक्ने अनुमान गरेका छौं ।’

आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।

स्ववियु अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् ।

अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर