नेकपा एकीकृत समाजवादी रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हिराध्वज शाह निर्वाचित


रूपन्देही । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार सम्पन्न पार्टीको १० औँ जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
लामो राजनीतिको अनुभव सँगालेका शाहले आफूले नेकपा एकीकृत समाजवादीलाई रुपन्देहीमा सशक्त पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने समेत उनले बताए ।
अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंकप्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए ।
यसै गरी उपसचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् । यसै गरी विधानले तोके अनुसारको समावेशी सदस्यहरू सहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितिमा प्रमाणपत्र प्रदान गरिएको छ ।
पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलमा पोलिटब्यूरो सदस्य अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहेका थिए ।
शनिवार उद्घाटन गरिएको अधिवेशनको आइतबार बन्दसत्र भएको थियो । अधिवेशनको शनिवार नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले उद्घाटन गरेका थिए ।