यूएसएड नेपालको कार्यालयमा ताला: अर्बौँका कार्यक्रम अलपत्र, कतिले गुमाए रोजगारी ?

काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएड) का कार्यक्रमहरू हाल नेपालमा स्थगित छन् । अमेरिकी सरकारले यूएसएडका कार्यक्रमहरू रोकेसँगै यसको काठमाडौंस्थित कार्यालय बन्द गरिएको छ ।
यूएसएडले मुख्यतया: शिक्षा, स्वास्थ्य, कृषि, वातावरणलगायत क्षेत्रमा सहयोग गर्दछ । नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको थियो । यूएसएडबाट नेपालमा सन् १९५१ देखि निरन्तररुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका थिए ।
गएको जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको घोषणाको प्रत्यक्ष प्रभाव यूएसएडमा पर्यो । अमेरिकी अनुदानका सबै योजनाहरू तीन महिनाका लागि होल्ड गर्ने उनको घोषणाले यूएसएडकै भविष्य अनिश्चित बनेको छ । नेपालमा पनि यसका अर्बौँका कार्यक्रमहरू अलपत्र परेका छन् ।
यूएसएड नेपालका एक प्रतिनिधिका अनुसार नेपालमा अहिले यो परियोजना पूर्णरुपमा ठप्प छ । यूएसएडको वेबसाइट बन्द गरिएको छ । काठमाडौँको महाराजगञ्जमा रहेको युएसएड नेपालको कार्यालयमा पनि ताला लागेको छ भने यसमा आबद्ध रहेका हजारौँ कर्मचारीहरू घर पठाइएका छन् ।
‘अहिले यूएसएड नेपालको कार्यालय बन्द भइसकेको छ । नेपालमा सञ्चालन भइरहेका विभिन्न परियोजनाहरूका स्थलगत कार्यालयहरू पनि धमाधम बन्द हुँदैछन् । ठ्याक्कै तथ्यांक नभए पनि हाम्रो अनुमानमा अहिले हजारौँ नेपाली बेरोजगार भए,’ स्रोतले भन्यो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेश बमोजिम विभिन्न चार कार्यक्रम ९० दिनका लागि स्थगित भएका हुन् । ती कार्यक्रम सरकारको बजेट प्रणालीमार्फत सञ्चालनमा थिए ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सरकारको बजेट प्रणाली मार्फत सञ्चालन भइरहेको शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको थियो । युएसएड स्वास्थ्य परियोजना दुई करोड ५० लाख अमेरिकी डलर सरकारी कोषमा अनुदानमा सञ्चालन हुँदै थियो । त्यससँगै अनुदानमा सञ्चालन हुने दुई करोड ५० लाखको शिक्षा परियोजना, दुई करोड १० लाख डलरको कृषि परियोजना र सात लाख डलरको समावेशी नीति परियोजना रहेका थिए । यी सबै परियोजना अहिले स्थगित रहेको अर्थ मन्त्रालयका प्रवक्ता भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार डिजाइनमा रहेका कार्यक्रम पनि अहिले स्थगित भएका छन् । जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट रोकिएका छन् ।
सरकारी कोषमा अनुदान आएर सञ्चालन हुने कार्यक्रम बाहेक युएसएडले प्रत्यक्ष खर्च गर्ने कार्यक्रमहरू पनि सञ्चालनमा थिए । जसमध्ये एक हो- जल जंगल कार्यक्रम । सन् २०२३ देखि २०२७ सम्म सञ्चालन गर्ने भनिएको जैविक विविधता अन्तर्गतको यस कार्यक्रम तीन करोड २३ लाख अमेरिकी डलरको हो ।
यो कार्यक्रममा एक सयको हाराहारीमा नेपालीहरूले रोजगारी पाएका थिए । कार्यक्रम स्थगित हुँदा उनीहरूले रोजगारी गुमाए छन् । यो कार्यक्रम चार प्रदेशमा सञ्चालन गरिएको थियो, जसमा कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोडिएका थिए । यी प्रदेशको जैविक विविधता संरक्षणको लक्ष्य पुरा गर्न प्रदेश सरकारसँग मिलेर यो कार्यक्रम सञ्चालन गरिएको थियो । तर, अहिले भने कार्यक्रम बन्द भएपछि कार्यालय खाली गर्ने काम भइरहेको छ ।
कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको यस परियोजनाको कार्यालय खाली गर्दै गरिएको युएसएड जल जंगल परियोजना अन्तर्गत कर्णालीका कार्यक्रम प्रमुख भूपेन्द्र शाहीले पुष्टि गरे ।
उनले नेपाल प्रेससँग भने, ‘हामी अहिले अफिसहरू बन्द गर्दैछौँ । सुर्खेत वीरेन्द्रनगरमा रहेको हाम्रो कार्यालयका सामानहरू खाली गरिरहेका छौँ । घरभाडा तिरिसक्यौँ । यहाँका सबै कर्मचारीहरूलाई घर पठाइसकिएको छ ।’
शाहीका अनुसार २०२३ को अक्टोबरबाट शुरु भएको यो पाँच वर्षे कार्यक्रम हो । हालसम्म यस कार्यक्रम अन्तर्गत २५ प्रतिशत मात्रै खर्च भएको थियो ।
‘भर्खर काम गर्ने सुरुवात भएको थियो । आगामी दिनमा गर्ने भनिएका योजनाहरू थुप्रै थिए । योजना गरिएका कामहरू पनि रोकिए । गरेको कामभन्दा धेरै गर्नुपर्ने योजना रोकिए,’ उनले गुनासो गरे ।
शाहीका अनुसार यस कार्यक्रम अन्तर्गत पर्यटन उद्योगहरूको पाटोमा क्षमता अभिवृद्धि गरेर सघाउन थालिएको थियो । वन जंगलको संरक्षण, दिगो व्यवस्थापन, वातावरण संरक्षण, जलवायु सम्बन्धी नीति निर्माणमा सहयोग गर्ने लगायत परियोजनाले योजना बनाएको थियो । यी सबै योजना रोकिँदा ठूलो असर पर्ने कार्यक्रम प्रमुख शाहीको भनाई छ ।
सरकारी बाहेक रद्द गरिएका अन्य कार्यक्रमबारे औपचारिक सूची सार्वजनिक गरिएको छैन । तर, युएसएड नेपाल स्रोतका अनुसार दुई दर्जनभन्दा बढी कार्यक्रम रोकिँदा त्यसको असर नेपालमा नराम्ररी देखिन थालेको छ । सन् २०२३ देखि २०२९ सम्म सात वर्षे योजना सहित युएसएडले प्रत्यक्ष खर्च गर्नेगरी सञ्चालन गरिएका कार्यक्रमहरू रोकिदा त्यसमा आबद्ध रहेका कर्मचारी पनि बेरोजगार बन्न पुगेका छन् ।
कृषि रुपान्तरण कार्यक्रम, शिक्षा समानता र समावेशीकरण कार्यक्रम, स्वास्थ्य सुरक्षा कार्यक्रम, प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम, स्थानीय सहायता लगायत कार्यक्रमहरू सञ्चालनमा थिए । यी सबै बन्द हुँदा त्यसमा आबद्ध भएका नेपालीहरू बेरोजगार हुन पुगेका हुन् ।