‘गगनलाई शेखरको सम्पर्कमा आउने वातावरण बनाइएन, सभापतिको कुरा पनि सुनिएन’ – Nepal Press

‘गगनलाई शेखरको सम्पर्कमा आउने वातावरण बनाइएन, सभापतिको कुरा पनि सुनिएन’

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्ष भिडेकी कल्पना भन्छिन्- मैले आफैँलाई समेत भोट हाल्न पाइनँ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको निर्वाचनमा महामन्त्री गगन थापाले ठाडो हस्तक्षेप गरेको आरोप लागेको छ।

पार्टीको तर्फबाट निर्देशन समितिको संयोजक बनाइएका केन्द्रीय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायत गगन निकट नेताहरूले निर्वाचनमा एकलौटी गरेको कल्पना खड्काले बताइन्।

निर्वाचन समितिले गगन निकटका अध्यक्षमा माधवप्रसाद चम्लागाईंलाई निर्वाचित भएको घोषणा गरिसकेको छ। अध्यक्षको प्रत्याशी खड्का र अर्का उम्मेदवार विकास थापाले असन्तुष्टि जनाएर बेग्लै समिति घोषणा गर्ने तयारी गरेका छन्। उनले महामन्त्री थापाले आफू निकट नेताहरूलाई खटाएर आफूलाई बाहिर राखेको बताइन्।

उनले भनिन्, ‘उहाँहरूले जिल्ला अधिवेशनदेखि नै एकतर्फी निर्णय गर्दै आउनुभएको थियो। हामी फरक मत राख्दै आएपछि पेल्दै आउनुभयो। प्रदेश अधिवेशन नै नसकी उहाँहरूले अधिवेशन तोक्नुभयो। हामीले अहिले नगर्न भनेका थियौँ।’

आँखा नदेख्ने मतदाता पनि धेरै भएकाले अपांगमैत्री भोटिङ मेसिन ल्याउनको लागि निर्णय गर्दा पनि बेवास्ता गरेको आरोप लगाइन्। उनले ११ सय ८० प्रतिनिधि हुनुपर्नेमा ८९४ मात्रै अन्तिम समयमा आएर आफूनिकटलाई मात्रै राखेर सार्वजनिक गरेको गुनासो गरिन्।

उम्मेदवारी दर्ता गर्ने बेलामा पनि आधा घण्टाको समय दिए अध्यक्षलाई २० हजार, पदाधिकारीलाई १५ हजार सदस्यलाई १० हजार राखेको बताइन्।

उनले भनिन्, ‘भोटिङ मेसिनको विषयमा कुरा नमिलेपछि आँखा नदेख्ने साथीहरूले विरोध जनाउनुभयो। हामीले पनि त्यसको समर्थन गर्‍यौँ। तर महामन्त्रीको निर्देशनमा अधिवेशन भँडुवा रहेका भन्ने तरिकाले म र अर्का उम्मेदवार थापासहित ६०÷७० जनालाई प्रहरी लगाएर ४ घण्टा बन्दी बनाइयो। हाम्रो मोबाइल पनि थुतियो। हामीले कसैसँग सम्पर्क गर्न पनि पाएनौँ हामीलाई चार घण्टा बन्दी बनाउँदा उहाँहरूले ५१ प्रतिशत पुग्ने गरी ४७० भोट झार्नुभएछ। एउटै व्यक्तिले धेरै पटक भोट हालेको पाएका छौँ।’

उनले आफू अध्यक्षको उम्मेदवार भएपछि कार्ड पनि लिन नपाएको र आफैँले भोट समेत हाल्न नपाएको गुनासो गरिनन्। उनले हिजो आफूहरूलाई अन्याय भएको भन्दै सबै पदाधिकारीलाई भेटेपछि पार्टी सभापतिले यो लोकतान्त्रिक भएन भनेर सच्चाउन निर्देशन दिँदा पनि महामन्त्रीको एकलौटी निर्देशनमा आज मत गनेर घोषणा गरिएको बताइन्।

उनले भनिन्, ‘महामन्त्रीले यो मत जसरी पनि आजै गर्नुपर्छ भनेर निर्देशन दिएर विराटनगर जानुभयो। उहाँहरूले दुई घण्टामै परिणाम सार्वजनिक गर्नुभयो। त्यसको विरुद्ध हामीसँग बहुमत उम्मेदवार साथीहरू हुनुहुन्छ। यो निर्णय प्रक्रियामा हाम्रो कहीँ पनि उपस्थिति छैन।’

उनले महामन्त्री थापाको निर्देशनमा एकलौटी मतगणना सुरु गरेपछि आजै बिहान पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेपछि निर्देशन समिति संयोजक आचार्यलाई फोन गरेर रोक्न निर्देशन दिँदा पनि नमानेको बताइन्।

उनले भनिन्, ‘सभापति मात्रै होइन, वरिष्ठ नेता शेखर कोइरालाले पनि यो अन्याय हुन्छ भनेर हाम्रो पक्षमा बोल्नुभयो। पार्टी प्रवक्ताले पनि यसरी नजानु भन्नुभएको थियो। तर, उहाँहरूले मान्नुभएन।’

भनेपछि यो चुनावबाट गगन थापा र शेखर कोइराला समूह आधिकारिक रूपमा फुटेको हो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘हामीले सुरुमा गगन थापालाई नै मानेका थियौँ। हामीले यहाँ नेताको ग्रुप बनाएर नजाऔँ भनेका थियौँ। तर उहाँहरूले गगनको हामीबाहेक कोही होइन भनेर महामन्त्रीसँग हाम्रो सम्पर्क नै हुन दिनुभएन। त्यसपछि विकाश थापा शेखर कोइरालाकोमा जानुभयो, शेखर दाइले उहाँलाई सहयोग गर्छु भन्नुभयो। म सभापतिकहाँ गएको थिएँ। उहाँले पनि यो महामन्त्रीको मात्रै पार्टी होइन, तपाई आफ्नो तयारी गर्नुस् भनेपछि अघि बढेको थिएँ।’

उनले आफूहरूले गुनासो लगेपछि शेखर कोइरालाले महामन्त्रीसँग फोन सम्पर्क गर्न खोज्दा पनि नचाहेको आरोप लगाइन्।

उनले थपिन्, ‘उहाँले शेखर दाइको पनि कुरा सुन्न चाहनुभएन। त्यो वातावरण मधु आचार्यले बनाउनुभयो। सभापतिले पनि महामन्त्रीलाई फोन गर्नुभएको थियो बिहान तर उहाँ स्विच अफ रहेछ। उहाँको सचिवालयले विराटनगर जान लागेको जानकारी गराउनुभयो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर