‘घर बट इन अमेरिका’ को पोस्टर सार्वजनिक, १० वर्षपछि अरुणिमा लम्सालको पुनरागमन


काठमाडौं । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिजका निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् ।
यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ । पहिलो सिजनको लागि १२ वटा शृङ्खला तयार भएका छन् । यी सबै शृङ्खला एकसाथ प्रसारणमा आउनेछन् ।
सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेसनशिपमा रहेकी छोरीको कथा समेटिएको छ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई पर्दामा उतारेको छ ।
निर्देशक अधिकारीका अनुसार सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज व्यावसायिक रूपमा ओटीटीमा रिलिज हुने नेपालको पहिलो सिरिज हो ।
उनी भन्छन्, ‘नेपाली वेब सिरिजको इतिहासमा पहिलो पटक यसरी व्यावसायिक रूपमा ओटीटीमा रिलिज हुँदैछ । यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु ।’
सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा गरिएको छ । यसअघि यसको टिजर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको थियो ।
यसै सिरिजबाट अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा पुनरागमन गर्दैछिन् । उनले सिरिजमा मुख्य भूमिका निभाएकी छन् । निर्देशक अधिकारी पनि प्रमुख भूमिकामा छन् । अरुणिमा र बिमलेशसँगै सिरिजमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापालगायतका कलाकारले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । रोशन घिमिरे, सुमित्रा अधिकारी र कुमारी घिमिरेले निर्माण गरेको यो सिरिजमा मित्र डि गुरुङको सम्पादन, कपिल पराजुलीको रंग संयोजन, विक्रान्तमान श्रेष्ठको छायांकन र शान थापाको पोस्टर डिजाइन रहेको छ ।