एमालेले भन्यो: नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध


काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी र सरकार वर्तमान नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी प्रस्तुत गर्नुपूर्व पार्टीको आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमहरुलाई अनुरोध पनि गरेका छन् ।
केही स्वदेशी र विदेशी मिडियाहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडिको जनप्रदर्शनको विषयलाई लिएर बोलेको भनिएका कुराहरु सत्य नभएको पोखरेलको भनाइ छ ।
उनले भनेका छन्, ‘यी समाचारले अनावश्क सनसनी फैलाउने एवं नेपाल र भारतबीचको युगौं पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेका छन् ।’
नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय भएको एमालेको भनाइ छ ।
‘इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौं’, विज्ञप्तिमा भनिएको छ ।
हालैको एमाले बैठकमा ओलीले आफूलाई हटाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ लागिपरेको भन्दै भारतलाई देखाइदिने चेतावनी दिएको समाचार केही सञ्चारमाध्यममा आएका थिए ।