संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य नहुने संविधानसभा परिषदको भनाइ – Nepal Press

संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य नहुने संविधानसभा परिषदको भनाइ

काठमाडौं । संविधानसभा परिषद नेपालले संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद नेपालले संविधानको संरक्षण सम्वर्द्धन र विकास गर्न प्रतिवद्ध रहने दृढ संकल्प रहेको भन्दै संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो ।

नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सवै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवि एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद नेपालले उल्लेख गरेको छ ।

त्यस्तै, भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरु जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद नेपालकी सह–अध्यक्ष कल्पना धमलाले बताइन् ।

उनले जनताको अपेक्षा अनुसार सवै पक्षसंग बृहत छलफल गरि संविधानमा रहेका कमीकमजोरीलाई हटाई आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै, पछिल्लो समय केहि समूहद्वारा संविधानको भावना विपरित गतिविधि गरिरहेको भन्दै घोर भत्र्सना गरिएको उनले बताइन् । संवैधानिक व्यवस्थामाथिको हमलाबिरुद्ध सवै एकजुट हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, संविधानसभा परिषद नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधानबिपरितको कुनै पनि गतिविधि स्वीकार्य नहुने जिकिर गरे । अहिलेको परिस्थीतिप्रति दलहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

संविधानसभा परिषद नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्‍यवस्थाको रक्षा गर्न पनि अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर