गोंगबु बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना परे कारबाहीमा


काठमाडौं । प्रहरीले चालू आर्थिक वर्षमा नयाँ बसपार्क गोंगबुभित्र यात्रुलाई दुःख तथा हैरानी दिने ३७० जनालाई कारबाही गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कका अनुसार यस वर्ष नै पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको छ ।
प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख प्रहरी निरीक्षक राजन खड्काले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निरन्तर काम गरिरहेको बताए ।
नयाँ बसपार्कबाट अहिले देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले पछिल्लो समय नयाँ बसपार्कभित्र कार्यरत कर्मचारीलाई पोसाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न आग्रह गरेको छ ।