पीएन स्ववियु अपडेट- नेविसंघ र क्रान्तिकारीलाई उछिनेर स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपाने दोस्रो – Nepal Press

पीएन स्ववियु अपडेट- नेविसंघ र क्रान्तिकारीलाई उछिनेर स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपाने दोस्रो

पृथ्वीनारायण क्याम्पस स्ववियु मतगणनामा अनेरास्ववियुपछि दोस्रो स्थानमा रहेकी विप्लवीलाई रास्वपाकाे समर्थन कि राप्रपाको ?

पोखरा । देशकै सबैभन्दा ठूलो र धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना जारी स्वतन्त्र उम्मेवार विप्लवी न्यौपाने नेविसंघ र अखिल क्रान्तिकारीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएकी छन् ।

शनिवार भएको मतदानको मतगणना आइतवार जारी रहदा एमालेनिकट अनेरास्ववियुले शुरुदेखि नै अग्रता कायम राखेको छ । यसअघि दोस्रो स्थानमा नेविसंघ रहेकोमा पछिल्लो अपडेटमा स्वतन्त्र उम्मेदवारले उछिनेकी छन् ।

पछिल्लो अपडेट अनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका बिष्णु पोखरेलले ३०७ मतसहित अग्रता लिइरहदा दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार विप्लवीले १४५ पाएकी छन् भने नेविसंघका सुशील न्यौपाने ११९ मतसहित पछ्याइरहेका छन् ।

जित्ने भनेर एक्लै मैदानमा उत्रिएको माओवादीनिकट अखिल क्रान्तिकारीका नविन अधिकारीले ६२ ,नेकपा एससहित विप्लव र वैद्यनिकट अखिल संयुक्तका सन्तोष पौडेलको ५३ र स्वतन्त्र उम्मेदवार कमल सुवेदीको २९ मत छ ।

सचिवमा अखिलकै विराट दुवाडी २७४  मतसहित अग्रता लिइरहेका छन् भने कोषाध्यक्षमा पनि सोही संगठकी सन्दीका गुरुङ २६५ मतसहित अग्रता लिइरहेकी छन् ।

१५ वर्षपछि स्ववियु निर्वाचन भएको पिएनमा २८९७ मत खसेको छ ।

एकाएक नेविसंघ र अखिल क्रान्तिकारीलाई उछिनेर अघि बढेकी स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेलाई राप्रपाका ज्ञानेन्द्र शाहीले खुलेर समर्थन गरेका थिए । उनले सामाजिक सञ्जालमा विप्लवीका लागि भाेट पनि मागेका थिए ।

त्यसाे उनीप्रति रास्वपाकाे पनि भित्री समर्थन रहेकाे चर्चा छ ।  सुमना श्रेष्ठलगायत केन्द्र र जिल्लाका रास्वपा नेताहरुले उनलाई प्रोजेक्ट गरेको बताइए पनि विप्लवीले आफू कुनै दलमा नलागेको स्वतन्त्र उम्मेदवार भन्दै मत मागेकी थिइन् ।

विप्लवीको चुनाव प्रचार प्रसार सामग्री बनाउनेदेखि सामाजिक संजालमा भाइरल बनाउन रास्वपा समर्थितहरु लागेका थिए । उनको पक्षमा पुल्चोक इन्जिनियरिङका नवनिर्वाचित स्वतन्त्र सभापति स्वयं श्रेष्ठले पनि मत मागेका थिए । रास्वपाले विश्वविद्यालयमा राजनीति गर्न नहुने भन्दै स्ववियु चुनावमा भाग लिएको छैन ।

२०७९ को स्ववियु निर्वाचनमा प्राज्ञिक विद्यार्थी परिषदबाट सचिव पदको उम्मेदवार बनेकी न्यौपानेले आफ्नो संगठनलाई दर्ता गर्न नमानेको भन्दै मुद्दा हालेपछि अदालतले चुनाव रोकेको थियो ।

यस पटक उनले प्राज्ञिक विद्यार्थी परिषद छाडेर स्वतन्त्र उम्मेदवारी दिइन् । उनले भाषण गर्दा गत चैत ५ गते नेविसंघले माइक खोसेपछि थप चर्चामा आएकी थिइन् ।

प्राज्ञिक परिषद भारतको हिन्दू स्वयंसेवक संघ आरएसएसको नेपाल च्याप्टरसँग निकट छ ।

यस्ताे छ पछिल्लाे मत:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर