काठमाडौं महानगरभित्रका शिक्षकले ५ महिनादेखि तलब पाएनन्, महासंघले दियो चैत १८ को अल्टिमेटम


काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका शिक्षकले ५ महिनादेखि तलब नपाएको पाइएको छ ।
महानगरपालिकावाट सामुदायिक विद्यालयमा निकासा हुनुपर्ने शिक्षक कर्मचारीका तलबलगायत अन्य प्रशासनिक तथा शैक्षिक गतिविधिका लागि अत्यावश्यक रकमको भुक्तानी विगत केही महिनादेखि रोकिएकाले ५ महिनादेखि शिक्षकले तलब नपाएको नेपाल शिक्षक महासंघ महानगर समितिले जनाएको हो ।
महासंघले महानगरपालिकाबाट रकम भुक्तानी नभएका कारण विद्यालय सञ्चालनमा समस्या परिरहेको भन्दै महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीका समस्याबारे सोमबार महानगरपालिकाको शिक्षा विभागलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघले शिक्षकका जायज माग र मुद्दा चैत्र १८ सम्ममा सम्बोधन नभएमा शिक्षक महासंघ दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।
महासंघका अध्यक्ष राजेन्द्र अधिकारी, सह–अध्यक्ष विराट चौलागाई र सचिव हेरम्बराज कडेल सहित विभिन्न संघ संगठनका महानगरपालिका समितिले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासंघले ध्यानाकर्षण पत्रको जानकारी महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन्द्र) र उपप्रमुख सुनिता डंगोललाई पनि गराएको छ ।