स्ववियू निर्वाचन- दलित विद्यार्थीबाट ४ महिलासहित १३ सभापति निर्वाचित


काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दलित समुदायबाट १३ जना विद्यार्थी नेता सभापतिमा निर्वाचित भएका छन् । नेपाल प्रेसले प्राप्त गरेको पछिल्लो तथ्यांकअनुसार विभिन्न १३ क्याम्पसमा सभापति दलित समुदायबाट निर्वाचित हुदाँ ४ जना दलित महिला पनि निर्वाचित भएका छन् ।
जसमा सबैभन्दा नेपाल बिद्यार्थीं संघ (नेबिसंघ)बाट ६ जना, दोस्रोमा नेकपा (एमाले) निकट (अनेरास्ववियु)बाट ४ जना र सबैभन्दा कम नेकपा अखिल (क्रान्तिकारी)बाट ३ जना मात्रै विभिन्न क्याम्पसमा स्ववियु सभापति दलित समुदायबाट निर्वाचित भएका छन् ।
नेबिसंघबाट निर्वाचित हुनेमा नलगाड बहुमुखी क्याम्पस जाजरकोटमा बिशालविक्रम चनारा, दिव्यज्योति बहुमुखी क्याम्पस नवलपरासीमा शशी बिक, चन्द्रकोट क्याम्पस गुल्मीमा प्रदिप नेपाली, शान्तिदिप बहुमुखी क्याम्पस बागलुङमा बिपना परियार, मंगल जनविजय क्याम्पस काभ्रेपलाञ्चोकमा युगबहादुर दमाई र रघुनाथ आर्दश बहुमुखी क्याम्पस कैलाली रञ्जित परियार निर्वाचित भएका छन् । जसमा एक जना दलित महिला पनि निर्वाचित भएका छन् ।
अनेरास्ववियुबाट निर्वाचित हुनेमा कैलाश बहुमुखी क्याम्पस अछाममा केशरी तिरुवा, तेज निरला क्याम्पस मुस्ताङमा अन्जु परियार, मस्र्याङदी बहुमुखी क्याम्पस लमजुङमा मदन बिक र षडानन्द क्याम्पस भोजपुरमा दिनेश बराईली निर्वाचित भएका छन् । जसमा २ जना दलित महिला पनि निर्वाचित भएका छन् ।
अखिल (क्रान्तिकारी)बाट शंंखरपुर क्याम्पस दार्चुलामा जानकी टमटा, स्यार्फु बहुमुखी क्याम्पस रुकुम पश्चिममा टेकराज विश्वकर्मा र जलजला बहुमुखी क्याम्पस रोल्पामा सुमन विक निर्वाचित भएका छन् । जसमा एक जना दलित महिला पनि निर्वाचित भएका छन् ।
राजनीतिक दलनिकट प्रमुख ३ संघ संगठनले थोरै संख्यामा मात्रै दलित समुदायका व्यक्ति स्ववियु सभापतिमा उम्मेदवार बनाएका थिए । कतिपय क्याम्पसमा भने संगठनले आधिकारिक उम्मेदवार दलित समुदायबाट बनाए पनि अर्को गैर दलित समुदायको व्यत्तिले दिएको बागी उम्मेदवार बिजयी भएका छन् । जसको उदाहरणका रुपमा संघीय राजधानी काठमाडौंमा रहेको पद्मकन्या क्यापसलाई पनि लिन सकिन्छ ।
सधैभरी काँग्रेस निकट नेबिसंघको उम्मेदवार निर्वाचित हुदैँ आएको पद्मकन्या यस पटक नेबिसंघकै बागी उम्मेदवार स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।
पद्मकन्यामा नेबिसंघको तर्फबाट क्याम्पस इकाई सभापति समेत रहेकी पुर्णिमाया परियार आधिकारिक उम्मेदवार थिईन् । तर, बागी उम्मेदवार भूपी ऐर बिजयी भइन् ।