जय ट्रफीमा चम्केका मयन प्रधानमन्त्री कपमा फ्लप, ६ म्याच खेल्दा उच्च स्कोर ११


काठमाडौं । नेपालका ‘फ्युचर स्टार’ का रुपमा हेरिएका प्रतिभाशाली युवा ब्याटर मयन यादव जारी प्रधानमन्त्री कपमा चल्न सकिरहेका छैनन् । मधेश प्रदेशबाट ६ म्याच खेलिसक्दा उनको उच्च स्कोर ११ रन छ ।
प्रतियोगितापूर्व मधेशका सबैभन्दा ठूलो आधार स्तम्भ नै यी १८ वर्षीय किशोरलाई मानिएको थियो । उनी आफ्नो टीमलाई आक्रामक सुरुवात दिलाउनेमात्र नभएर लामो इनिङ खेल्न पनि पोख्त छन्, तर प्रधानमन्त्री कपमा उनले यी दुवै विशेषताहरु देखाउन सकिरहेका छैनन् ।
६ वटै म्याचमा मधेशको ओपनिङ गरेका मयनले अहिलेसम्म जोडेको कुल रन संख्या हो- ४३ रन । उनले कोशी, सशस्त्र, पुलिस, लुम्बिनी, आर्मी, कर्णाली र गण्डकीविरुद्ध जोडेको रन हो- १०, ११, ०, २, १०, ३ र ७ । मयन यो प्रतियोगितामा ६.१४ को दयनीय औसतमा ब्याटिङ गरिरहेका छन् भने स्ट्राइक रेट पनि कमजोर (५६.५७) छ ।
ओपनिङ ब्याटर नै चल्न नसक्दा मधेशको नतिजामा असर परिरहेको छ । मधेशले अहिलेसम्म सात म्याच खेल्दा दुई वटामात्रै जित निकाल्दै चार अंक बटुलेको छ । अब दुई म्याचमात्रै खेल्न बाँकी रहेको अवस्थामा उपाधि होडबाट बाहिरिइसकेको छ मधेश ।
मयनले गत पुसमा आयोजना भएको दुई दिवसीय प्रतियोगिता जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सो प्रतियोगितामा ३ म्याच (६ इनिङ) ब्याटिङ गर्दा उनले एक शतक र एक अर्धशतकसहित सर्वाधिक २६८ रन जोडे र प्रतियोगिताकै सर्वोत्कृष्ट ब्याटरको पुरस्कार पाए । जय ट्रफीमा गरेको प्रदर्शनले मयनलाई नेपाली क्रिकेटको भावी ओपनरका रुपमा हेरिएको थियो ।
गत वर्षको प्रधानमन्त्री कपमा मयनले आफ्नो छाप छोड्न सफल भएका थिए । उक्त प्रतियोगितमा मधेश टीमबाट सुदूरपश्चिमविरुद्ध शतक बनाउँदै घरेलु क्रिकेटमा आफ्नो इन्ट्रीको उद्घोष गरेका थिए उनले । सो प्रदर्शनले उनलाई राष्ट्रिय यू-१९ टीममा स्थान दिलायो । गत डिसेम्बरमा भएको यू-१९ एसिया कपमा उनले नेपाली टीमको ओपनरको जिम्मेवारी पाए ।
पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध मयनले ९१ बलमा ६२ रन बनाए । मयन क्रिजमा हुँदासम्म नेपाल श्रीलंकालाई स्तब्ध बनाउन सक्ने अवस्थामा थियो, तर उनी आउट भएसँगै श्रीलंका खेलमा हावी भयो । बंगलादेश र अफगानिस्तानविरुद्ध भने मयनको ब्याट चलेन ।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा मयनले जनकपुर बोल्ट्सबाट खेलेका थिए । सो प्रतियोगिताको अक्सनमा उनी अनसोल्ड रहे, तर प्रतियोगिताकै क्रममा एक स्थानीय खेलाडी घाइते भएपछि जनकपुर बोल्ट्सले मयनलाई अनुबन्धित गरेको थियो । उनले जनकपुरका पछिल्ला दुई खेलमात्रै खेल्न पाए । यद्यपि दुवै खेल सर्वाधिक महत्वपूर्ण थिए ।
एनपीएलको दोस्रो क्वालिफायरमा कर्णाली एक्सविरुद्ध मयनले पहिलो मौका पाए । सो म्याचमा उनलाई सातौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो । भाग्यवस मयनले जिमी निसमसँगै ब्याटिङ गर्न पाए । ११९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले ५८ रनमा पाँच विकेट गुमाएको संवेदनशील स्थितिमा मयन ब्याटिङमा उत्रिएका थिए ।
सो खेलमा उनले १८ बलमा १४ रन बनाएर अन्तिम ओभरमा रनआउट भए । उनले बनाएको रन धेरै नभए पनि खेलको स्थितिमा जनकपुरलाई जिताउन निकै महत्वपूर्ण सावित भएको थियो ।
सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनलमा पनि मयन प्लेइङ ११ मा अटाए । सो म्याचमा उनी क्रिजमा आउँदासम्म जनकपुर जितको सन्निकट पुगिसकेको थियो । भाग्यवस विजयी रन हान्ने मौका मयनलाई प्राप्त भयो ।
यो प्रधानमन्त्री कपमा उत्कृष्टता देखाएको भए उनले सीधै राष्ट्रिय टीमको ढोका ढक्ढकाउने थिए । यो अवसर उनले खेर फ्यालेका छन् । हुन त मयनसँग समय प्रशस्तै छ । एउटा प्रतियोगितामा फेल हुँदैमा उनको क्षमतामा शंका गरिहाल्नु पर्दैन । बाँकी दुई खेलमा फर्म भेटेको खण्डमा उनले आफ्नो गुमेको आत्मविश्वास फिर्ता ल्याउन सक्नेछन् । मयन मधेशका मात्र नभएर राष्ट्रिय क्रिकेटकै लागि एक आशा हुन् ।