कांग्रेसमा शेखर गगन समूह फुट्यो, लोकतान्त्रिक अपाङ्ग महासंघमा समानान्तर समिति घोषणा
शेखर कोइराला पक्षका नेताहरु डा.गोविन्दराज पोखरेल र गुरु घिमिरेसहितको उपस्थितिमा संस्थापन र शेखर पक्षद्धारा लोकतान्त्रिक अपाङ्ग संघको समानान्तर कार्य समिति घोषणा


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको समानान्तर समिति घोषणा भएको छ । महामन्त्री गगन थापा पक्षधर निर्देशक समितिका मधु आचार्य र अजयबाबु शिवाकोटीको संलग्नतामा एकपक्षीय निर्वाचन परिणाम घोषणा गरिएको भन्दै अरु दुई प्रत्यासीले समानान्तर समिति घोषणा गरेका हुन् ।
गगन थापानिकट माधव चम्लागाई अध्यक्ष घोषित समितिलाई अवैध भन्दै सोमवार अध्यक्ष्का उम्मेदवार कल्पना खड्का विकास थापाले समानान्तर समिति घोषणा गरेका हुन् । उनीहरुले विकास थापाको नेतृत्वमा ३५ सदस्यीय समानन्तर समिति घोषणा गरेका हुन् ।
शेखर कोइराला समूहका थापाको अध्यक्षतामा घोषणा भएको उक्त संघको उपाध्यक्षमा टेकप्रसाद आचार्य र उमादेवी घिमिरे रहेका छन् । त्यसैगरी महामन्त्रीमा अश्विन लम्साल र प्रकाश सिलवाल, कोषध्यक्षमा पर्वतराज विष्ट रहेका छन् ।
निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी कल्पना खड्का र आफूले घेराबन्दी गरी मतदान स्थलमा समेत जान नदिइएको थापाले बताए । अध्यक्ष थापाले उक्त निर्वाचन एकलौटी ढंगले फर्जी मतदाता ल्याएर गरिएको दाबी गरे ।
आफूहरुले उक्त निर्वाचन प्रक्रियामाथि आपत्ति जनाउँदै सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदा अहिले मत परिणाम घोषणा नगरी यथास्थितिमा राख्न भनिएकोमा निर्वाचन निर्देशन समितिका संयोजक मधु आचार्यलले एकलौटी रुपमा अवैधानिक काम गरेको थापाले बताए ।
समानन्तर समतिति घोषाणा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल, गुरुराज घिमिरेलगायतको उपस्थिति रहेको थियो । उनीहरु शेखर कोइराला पक्षधर हु्न् । अपांग महासंघबाटै शेखर र गगन समूह विभाजित भएका छन् ।