प्रेस सेन्टरको अध्यक्षमा आधा दर्जन पत्रकार नेताको दाबी, को बन्ला ‘एचक्यू’मा हावी ? – Nepal Press

प्रेस सेन्टरको अध्यक्षमा आधा दर्जन पत्रकार नेताको दाबी, को बन्ला ‘एचक्यू’मा हावी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रमा आबद्ध पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका छन् ।

चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने पाँचौं महाधिवेशनबाट प्रेस सेन्टरको नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका आकांक्षीहरुसँग सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचार विभाग प्रमुख अग्नि सापकोटा र सचिव गोविन्द आचार्यले सामूहिक छलफलसमेत गरेका छन् ।

पेरिसडाँडाको छलफलमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष कमल गिरीसहित ७ जना नेताले दाबी पेश गरेको छलफलका एक सहभागीले बताए । त्यस्तै अध्यक्षमा सशक्त दाबी गर्नेमा उपाध्यक्ष लक्ष्मण खड्कासमेत थिए ।

त्यस्तै उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, मनोज घर्तीमगरसहित दीपेन्द्र रावल, सुरेश यादवलगायतले पनि अध्यक्ष पदमा दाबी गरेका थिए ।

सो छलफलमा हालका अध्यक्ष विष्णु सापकोटा जुगलले आफ्नो यो कार्यकाल सफल र विवादरहित भएको तथा सबै प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएकाले केन्द्रमा पनि सहमतिका आधारमा नेतृत्व चयन गर्न उपयुक्त हुने बताए ।

सापकोटाको आशय आफैं दोहोरिने छ । सापकोटालाई नै दोहोर्‍याएर अहिलेको पदमा यथावत रहने आशय निर्मल ज्ञवाली र सन्तोष पौडेलको पनि देखिएको सेन्टरका नेताहरूले बताए । यद्यपि सापकोटा नहुँदा अध्यक्षको दावेदारका रुपमा प्रस्तुत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष कमल गिरीले आफ्नो लामो पृष्ठभूमि र पत्रकारिताको निरन्तरता सम्झाउँदै सोपानका आधारमा पनि वरिष्ठबाट अध्यक्षमा दाबी गर्नु प्राकृतिक न्यायको सिद्धान्त हुने बताएका थिए । उनले सर्वसम्मत नभए निर्वाचनमा ढ्वाङ थाप्न आफू तयार रहेको भन्दै सापकोटालाई सर्वसम्मत नछाड्ने आशय व्यक्त गरेका छन् ।

अध्यक्षका अर्का दावेदार लक्ष्मण खड्काले आफू संगठनको ग्रासरुटदेखि उपाध्यक्ष भएको र सामुदायिक रेडियो प्रसारक संघ जस्तो बाह्य मोर्चाको नेतृत्वमा पनि सफल कार्यकाल बिताएको स्मरण गराउँदै अध्यक्षमा दाबी गरेका छन् ।

खड्काले दोलखाको संस्थापक अध्यक्षसहित तीन पटक नेतृत्व गरेको, केन्द्रीय सदस्य र सचिव हुँदै उपाध्यक्ष बनेको आधारमा आफूमाथि न्याय हुनुपर्ने बताएका छन् । उनी मूलधारको पत्रकारितामा समेत राम्रो व्यवसायिक पत्रकारका रुपमा परिचित छन् ।

पेरिसडाँडाको छलफलमा मनोज घर्तीमगरले नयाँ र युवालाई नेतृत्व दिनुपर्ने भन्दै अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व आएर स्ववियुमा उत्कृष्ट प्रदर्शन गरेको उदाहरण दिएर आफूलाई अध्यक्षको दावेदारका रुपमा प्रस्तुत गरेका थिए ।

अर्कोतर्फ दीपेन्द्र रावलले युद्धकालमा पत्रकारिता गरेको र गोलीका छर्रा बोकेर हिँडेको भन्दै भावुक मन्तव्य दिएर अध्यक्ष उम्मेदवारका रुपमा प्रस्तुत गरेका थिए । अर्का उपाध्यक्ष सुरेश यादवले पनि सो छलफलमा अध्यक्ष पदप्रति आकांक्षा देखाएका थिए ।

पत्रकार महासंघका पूर्वमहासचिव रोशन पुरी, लेखनाथ न्यौपाने, बबिन शर्मा, कोषाध्यक्ष रामकृष्ण अधिकारी, रुवि श्रेष्ठलगायत नेतृत्वका आकांक्षीहरुको छलफललाई पार्टी नेतृत्वले भावी नेतृत्वको रुपरेखा तयार गर्न आयोजना गरेको हो ।

माओवादीमा अहिले सबैले ‘एचक्यू’को आशीर्वाद खोज्ने प्रचलन छ । जनयुद्धकालमा माओवादी पंक्तिमा स्थापित भएका एसीएम, डीसीएम, सीसीएम, आईएनटी भने जस्तै एचक्यू पनि प्रिय शब्द हो । पार्टी हेडक्वार्टरलाई माओवादीमा एचक्यू भनिन्छ ।

अहिले प्रचण्ड नै एचक्यू हुन् । एचक्यूको कोटामा जो पर्छ, उसैले चुनाव जित्ने नजिर अखिल क्रान्तिकारीबाट बसिसकेकाले प्रेस सेन्टरका सबै आकांक्षी एचक्यूको सिग्नल खोजिरहेका छन्, तर अहिलेसम्म कसैले एचक्यूको सिग्नल भने पाइसकेका छैनन् ।

कमल गिरीलाई एचक्यूले बोलाएर अघि बढ्न भनिसकेको चर्चाले खैलाबैला मच्चिएको छ, तर अध्यक्ष सापकोटासहित अन्य नेताहरुले त्यो सम्भव नरहेको भन्दै नारायणकाजी श्रेष्ठ गुटका गिरीलाई एचक्यूले नबोक्ने बताउन थालेका छन् ।

गिरी सापकोटासँगै पनि चुनाव लड्न अघि सरिसकेका छन् । उनी नेकपा मसाल, एकता केन्द्र मसाल हुँदै एकीकृत माओवादी धारमा स्थापित भएका पत्रकार हुन् । उनले आफू नारायणकाजी नभएर सिंगो हेडक्वार्टरको साझा व्यक्ति भन्ने गरेका छन् ।

अर्कोतर्फ लक्ष्मण खड्का ग्रासरुटदेखि माथिल्लो कमिटी र मूलधारको पत्रकारितादेखि अकोराबसम्म अग्रभागमा देखिएका पत्रकार हुन् । उनी माओवादी सत्तामा हुँदा कुनै सुविधाको पद नपाएकामा पर्छन् ।

निर्मल ज्ञवाली युद्ध पत्रकारितादेखि नै आन्दोलनमा रहेका हुन् भने सन्तोष पौडेल र मनोज घर्तीमगर दुवै मोर्चाका युवा हुन् । दावेदारमध्येबाटै अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतका पदमा व्यवस्थापन हुने सम्भावना पनि छ ।

जुगललाई नै सर्वसम्मत दोहोर्‍याएर लैजाने पक्षका नेताहरुले आफ्नो सहज व्यवस्थापन देखिरहेका बेला कमल गिरी चुनाव लड्ने मुडमा छन् । सेन्टरको अध्यक्ष संगठनको पूर्णकालीन हुनुपर्ने विधानको व्यवस्था रहेकाले जुगल दोहोरिन उनले राष्ट्रियसभा अध्यक्षको सचिवालयबाट राजीनामा दिनुपर्ने हुन्छ ।

अध्यक्षका दावेदारमध्ये हेडक्वार्टरले कसलाई बोक्छ, त्यसपछि असन्तुष्ट अर्कोलाई बोकेर चुनावी मैदानमा उतार्ने योजनामा जनार्दन शर्मा पक्ष रहेको चर्चा छ । अहिले हेडक्वार्टरको नजरमा पर्ने डरले कोही पनि जनार्दनको पक्षमा बोल्न वा जनार्दनलाई भेट्नसमेत डराइरहेका छन् ।

तर दावेदारमध्ये कसलाई हेडक्वार्टरले बोक्छ, त्यसपछिको बलियो खुट्टा टेक्ने उम्मेदवारलाई बोक्ने योजनामा शर्मा पक्ष छ । संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, खिलबहादुर भण्डारी, मनऋषि धिताललगायतको पंक्ति अहिले प्रेस सेन्टरको संस्थापन इतरमा पारिएकाले उनीहरुले बोक्ने उम्मेदवार पनि बलियो प्रतिस्पर्धी बन्ने देखिन्छ ।

जनार्दन पक्षबाट अहिलेसम्म दिपेन्द्र शर्माले महासचिवमा दावी गरेबाहेक अध्यक्षमा कोही उनको उम्मेदवार भनेर चिनिने आँट गरिरहेका छैनन् । हेडक्वार्टरको उम्मेदवारविरुद्ध उभिनेलाई अध्यक्ष पदमा जनार्दनबाहेक पनि प्रेस सेन्टरको संस्थापन पक्षबाट किनारा पारिएका धेरै नेता कार्यकर्ताको समर्थन हुने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर