डिजिटल बोर्ड ह्याक भएको प्राधिकरणको दावी, कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही माग – Nepal Press

डिजिटल बोर्ड ह्याक भएको प्राधिकरणको दावी, कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु डिस्प्ले भएको विषयमा छानबिन गर्ने बताएको छ । यस्तो कार्यालयमा संलग्न जोकसैलाई कानूनको दायरामा ल्याउन पत्राचारसमेत गरिएको प्राधिकरणले जनाएको छ ।

आज एक विज्ञप्ति निकाल्दै प्राधिकरणको भरतपुर वितरण केन्द्रले घटनालाई लिएर पहिलो औपचारिक प्रतिक्रिया दिएको हो । डिजिटल बोर्ड ह्याक गरिएको दाबी प्राधिकरणको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हिजो मिति २०८१ साल चैत ११ गते करिब १२ बजेतिर नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा दैनिक रुपमा ग्राहकको कार्य सहजीकरणको लागि यस कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलौज/अपशब्द अपलोड गरिएको हुँदा यो राज्यको संविधान तथा प्रचलित कानूनको बर्खिलाप हो । यस्तो गैरकानूनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भर्त्सना गर्दछ ।’

यसैबीच प्राधिकरण कार्यालयमा आएर आज एमालेका केही युवाहरुले तोडफोड गर्नुका साथै कार्यालय प्रमुखमाथि हातपातसमेत गरेका थिए । विज्ञप्तिमा यसको पनि भर्त्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान १० बजे ३५-४० जनाको ठूलो दस्ता आई कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्यकक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको हुँदा उनीहरुमाथि कानूनबमोजिम हदैसम्मको सजायको व्यवस्थाको माग गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *