जहाँ आमा बन्नेहरुमा २५ प्रतिशत २० वर्षमुनिका किशोरीहरु छन् !

डोटी । कैलालीको चुरे गाउँपालिका–३ कि १७ वर्षीया ममता मगर (नाम परिवर्तन्) लाई एक महिनाअघि सुत्केरी व्यथा लाग्यो । उनलाई आफन्तहरुले स्वास्थ्य संस्थामा पुर्याए ।
परिवारका सदस्यसंगै स्वास्थ्य संस्था आएकी ममतालाई सुत्केरी गराउन निकै समस्या भयो । धन्न सुरक्षित रुपमा उनी सुत्केरी भईन् । हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।
चुरै गाउँपालिका–४ की १९ वर्षीया हसिना बोहरा (नाम परिवर्तन) स्थानीय गर्भा स्वास्थ्य चौकीमा पुगिन् । पाँच महिनाको गर्भवती उनी नियमित गर्भ जाँच गराउन पुगेकी थिइन् ।
हसिनाको यो पहिलो गर्भ भने होइन । उनले यसअघि १७ बर्षकै उमेरमा छोरा जन्माएकी थिइन् ।
हसिना र ममता जस्तै चुरे गाउँपालिकाका अधिकांश महिलाहरु किशोरावस्थामै आमा वन्ने गरेका छन् ।
‘किशोरावस्थामै आमा बन्नेहरुको संख्या धेरै छ, करीव करीव सवै महिलाहरु पहिलो सन्तान किशोरावस्थामै पाउँछन्’ चुरे गाउँपालिका–३ तलीयाकी महिला स्वास्थ्य स्वयंसेविका प्रेरणा साउँद भन्छिन्, ‘यो समस्या कसरी समाधान गर्ने भन्ने चिन्ता छ ।’
उहिलेको जसरी अभिभावकले बालबिवाह नगराउने गरेको तर किशोरकिशोरीहरुले आफै भागेर बिहे गर्ने गरेको वताउँछिन् चुरे गाउँपालिका–६ कि ४६ वर्षीया खगेश्वरी बिक ।
२० वर्षपछि मात्रै बिवाह गर्न पाउने कानूनी व्यवस्था रहेको भएपनि १७/१८ बर्षकै उमेरमा आमा बन्ने गरेको उनको भनाइ छ ।
पहिलो पटक गर्भवति भई स्वास्थ्य जाँच गराउन आउनेमध्ये अधिकांश किशोराबस्थाकै हुने गरेको बताउँछिन् चुरे गाउँपालिका–४ गर्भामा रहेको सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत स्वास्थ्यकर्मी नन्दा महरा ।
उनले गर्भवती किशोरीहरु पनि स्वास्थ्य परीक्षणका लागि भने नियमित आउने गरेको वताईन् । किशोराावस्थामै आमा बन्ने समस्या चुरे गाउँपालिकाका लागि मातृशिशु स्वास्थ्यको क्षेत्रमा सवैभन्दा ठुलो चुनौती रहेको महराको बुझाई छ ।
यस बिषयमा नियमित रुपमा आमा समूहको बैठकमा, समुदायमा छलफल गर्दै जाँदा केही न्यून भएको वताउँछन् गर्भा सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख करन धामी । उनले भने, ‘केही त सुधार भएको छ तर यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन ।’
यस्तैयस्तै गुनासो गर्छिन् बालुवागडा आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी सायना ढकाल । उनी भन्छिन्, ‘किशोरावस्थामै गर्भवती भएर आउँछिन्, हामीले त सेवा दिनै पर्यो ।’
गाउँपालिकाभित्र गत गत आर्थिक वर्ष (२०८०/०८१) मा बच्चा पाउनेहरु २१० जना महिलाहरुमध्ये ५२ जना २० वर्षमुनिका रहेका चुरे गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
‘स्वास्थ्य संस्थामा प्रसुति गराउने १ सय ९७ मध्ये ५१ र घरमै प्रसुति हुने १३ मध्ये १ महिला २० वर्ष मूनीका छन्’, गाउँपालिकाको स्वास्थ्य शाखाका निमित्त प्रमुख बिक्रम बोहराले भने, ‘यो संख्या एक बर्षमा बच्चा जन्माउने कुल महिलाहरुको करीव २५ प्रतिशत हुन आउँछ ।’
उनले साउनयतामात्रै २९ जना किशोरीहरु आमा वनेको जानकारी दिए ।
फाया नेपाल नामक गैरसरकारी संस्थाले आम्दा माईण्ड जापानको साझेदारीमा चुरे गाउँपालिकामा सञ्चालन गरेको मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवर्द्धन परियाजनाको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका निमित्त प्रमुख बोहराले कलिलै उमेरमा आमा बन्ने समस्याले मातृ तथा शिशुको स्वास्थ्य जोमिख बढाएको बताए ।
‘परियोजनाले मातृ तथा शिशु स्वास्थ्यमा सुधारका लागि धेरै राम्रा अभ्यासहरु गरेको छ, देखिने गरी केही सुधारहरु पनि भएका छन्’, बोहरा भन्छन्, ‘परियोजनाबाटै भौतिक पूर्वाधार र उपकरणहरु समेत सहयोग भएको छ, यसबाट गाउँपालिकालाई ठुलो सहयोग पुगेको छ ।’