प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाउँदै ओलीको प्रश्न- आगो बोकेर आउनुभयो कि चिम ? – Nepal Press

प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाउँदै ओलीको प्रश्न- आगो बोकेर आउनुभयो कि चिम ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ आफूले हटाएको दावी गर्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीव्र कटाक्ष गरेका छन् । वर्षौं लगाएर गरिएको कामलाई आफूले चमत्कार गरेझैं प्रचण्डले ब्याख्या गर्न खोजेको उनको टिप्पणी छ ।

आज एक पुस्तक विमोचन कार्यक्रममा ओलीले विगतमा हितेन्द्रलाई हटाएर कुलमानलाई ल्याइएको प्रसंग पनि कोट्याए ।

उनले प्रचण्डलाई ईंगित गर्दै भने, ‘एकजना मित्रको स्टटास देख्या थिएँ । त्यहाँबाट अवकाशप्राप्त भइसक्या मान्छेलाई, त्यहीँबाट हुर्किएर आएर त्यहीँ… कुनै बाहिरबाट खोजेर ल्याएको होइन… त्यहीँको मान्छेलाई, त्यहीँको क्याडरलाई नियुक्ती दिएको हो । त्यस्तो मान्छे उहाँले निस्काशन गर्नुभयो वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभयो, जहाँ उसको कार्यक्षेत्र होइन । अनि रिटायर्ड मान्छेलाई फेरि ल्याएर राख्नुभयो ।’

ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘प्रमिथस’ को प्रसंग निकाल्दै प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाए ।

उनले थपे, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले (प्रचण्ड) त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पुरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो, त्यसबेला ल्याउनुभएको थियो कि, उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर, के बाकेर आउनुभयो ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्न खोजियो । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर