स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त


काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए ।
उनले भने, ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु । बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले यस अघि नै नियुक्त भइसकेका छन् ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्प प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका थिए ।
बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले बताएका छन् ।
प्यूठान स्थायी घर भएका अध्यक्ष नियुक्त थापाले २०६१ सालमा त्रिविविबाट स्वास्थ्य शिक्षामा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन् भने उनी बोर्डको यसअघि सदस्य भइसकेका छन् ।