पीएम कपको उपाधिका लागि विभागीय टीम भिड्ने निश्चित, पुलिस फाइनलमा – Nepal Press

पीएम कपको उपाधिका लागि विभागीय टीम भिड्ने निश्चित, पुलिस फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पुलिसले एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटिएको हो । पुलिसका ललित राजवंशीले सर्वाधिक ६ विकेट लिए । सागर ढकालले २ र करण केसीले एक विकेट लिए ।

ब्याटिङका कर्णालीका रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रनको योगदान दिए । अन्य ब्याटर चल्न नसक्दा कर्णालीले ४४ रनको हार बेहोर्नुपर्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा १४७ रनमा समेटिएको थियो । पुलिसका अर्जुन साउदले सर्वाधिक ३६ र दिलीप नाथले ३४ रन बनाए ।

बलिङमा कर्णालीका अनुज चनाहाले ४, कप्तान दिवान पुनले ३, दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले समान एक विकेट लिए ।

पुलिसले फाइनलमा स्थान सुरक्षित गर्दा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) मध्ये एक टोलीले फाइनल खेल्नेछन् । एक खेल खेल्न बाँकी आर्मीको १४ र एपिएफको १२ अंक छ ।

लिग चरणको अन्तिम खेलमा आर्मीले पुसिल र एपिएफले कोशी प्रदेशसँग खेल्नेछ ।

फाइनलमा पुग्न दुवै टोलीलाई जितको आवश्यक छ । एपीएफलाई फाइनल पुग्न जितले मात्र पुग्ने छैन । आर्मी पुलिससँग पनि फराकिलो अन्तरले हार बेहोर्नुपर्ने हुन्छ । प्रतियोगितामा आर्मीले एउटा र एपिएफले दुई हार बेहोरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *