सीडीओलाई जवाफ नदिई काठमाडौं पुगे प्राधिकरणका हाकिम
कुटपिट र तोडफोडबारे प्रहरीले प्राधिकरण र एमालेलाई छलफलमा बोलायो

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई स्पष्टीकरणको जवाफ नदिई काठमाडौं लागेका छन् । हिजो कार्यालय समयमा प्राधिकरणको डिजिटल बोर्डमा प्रधानमन्त्री लक्षित आपत्तिजनक डिस्प्ले कसरी गयो भन्ने विषयमा सीडीओले सोधेका प्रश्नको उत्तर नदिई प्रमुख श्रेष्ठ काठमाडौं गएका हुन् ।
चितवनका सीडीओ प्रकाश पौडेलले विद्युत प्राधिकरणका प्रमुखलाई आपत्तिजनक कन्टेन्ट कसरी डिस्प्ले भयो, कति समय उक्त कन्टेन्ट चल्यो, यदि सिस्टम ह्याक भएको भए कुन निकायका प्राविधिक बोलाएर समस्या समाधान गरियो र सिस्टममा आएको समस्याबारे कुन निकायलाई जानकारी गराइयो भनेर सोधेका थिए ।
सीडीओ पौडेलले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘मैले २४ घण्टाको समय दिएर उहाँसँग स्पष्टीकरण सोधेको छु, तर मलाई जवाफ आएको छैन । एक पेजको विज्ञप्तिमा कार्यालय तोडफोड गर्नेलाई कारबाही गरिपाउँ भनेर पठाउनुभएको छ । उहाँ जवाफ नपठाई काठमाडौं पुगिसक्नु भएछ ।’
यही विषयलाई लिएर नेकपा एमाले निकट युवा र विद्यार्थीले आज कार्यालयमा लफडा गरेका थिए । उनीहरूले प्रमुख श्रेष्ठलाई हातपात गर्नुका साथै कार्यालयमा तोडफोड गरेका छन् । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले यसको विरोधमा विज्ञप्ति निकालेको छ । घटनाको न्यायिक छानबिन गर्न भने जिल्लाको कुनै निकायमा आधिकारिक निवेदन दर्ता गराएको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बूले विद्युत प्राधिकरणले अहिलेसम्म घटनाको विषयमा लिखित निवेदन नदिएको बताए ।
‘डिस्प्ले आपत्तिजनक गएको हिजोको घटना रैछ, आज लफडा भएपछि मात्रै थाहा पायौं’, उनले भने, ‘हामीलाई साइबर अपराधसम्बन्धी मात्रै होइन, आजको घटनाको विषयमा पनि लिखित केही आएको छैन ।’
एसपी लिम्बूका अनुसार विद्युत कार्यालयका हाकिमसहितको टीम र एमालेका तर्फबाट नेतृत्व गरेका टीमलाई छलफलका लागि बोलाइएको छ । प्रहरीले बोलाउँदा आफू काठमाडौं पुगिसकेको कार्यालय प्रमुख श्रेष्ठले बताएका कारण विद्युत कार्यालयको सिंगो टीमलाई छलफलका लागि आउनु भनिएको छ ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठले भने प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई घटनाबारे लिखित जानकारी दिएको दाबी गरेका छन् । साइबर अपराधका बारेमा कहाँ निवेदन दिने भन्ने थाहा नभएको, तर आज भएको हातपातको घटनाबारे जानकारी गराएको उनको भनाइ छ ।
अहिले आफू स्वास्थ्यजाँचका लागि अस्पतालमा रहेको उनले काठमाडौंबाट बताए । यद्यपि काठमाडौं जाने विषयमा उनले कार्यालयमा जानकारी नगराएको पाइएको छ ।
कुटपिट गर्नु ठिक होईन ।गल्ती गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ । काठमाडौं भागेको हेर्दा प्रमुखले नै लेखेको हो कि भन्नेमा बल पुग्यो ।