‘प्रेस सेन्टरको सोपानबाटै अध्यक्षको दावेदार हुँ, जनयुद्ध र जनआन्दोलनको वैचारिक प्रतिनिधित्व गर्छु’
प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी भन्छन्- म अघिल्लो अधिवेशनले चुनेको वरिष्ठ उपाध्यक्ष भएकाले सर्वसम्मत अध्यक्षको हकदार हुँ, निर्वाचन प्रक्रियामा जानुपर्यो भने पनि सहर्ष स्वीकार छ


काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन यही चैत १६-१७ मा काठमाडौंमा हुँदैछ । प्रेस सेन्टरको इतिहासमा पहिलो पटक यसपालि नेतृत्व चयन गर्न निर्वाचन हुने सम्भावना छ ।
विभिन्न गुट-उपगुटमा विभाजित माओवादी केन्द्रको राजनीतिक प्रभाव यस संगठनको निर्वाचनमा पनि झल्किने निश्चितप्रायः छ । अध्यक्षका प्रत्याशीमध्ये सबैभन्दा बलिया मानिएका हाल प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समर्थन दिएको आँकलन गरिँदैछ ।
त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गिरी प्रेस सेन्टर नेपालभित्र बौद्धिक र वैचारिक नेता मानिन्छन् । २०५३ सालमा ‘हाँक’ साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले २०५६ मा ‘हाँक’को सहसम्पादक, २०६० मा ‘जनएकता’ साप्ताहिकको सहसम्पादक हुँदै २०६४ मा ‘मूल्यांकन’ मासिकको सम्पादकीय टोलीमा बसेर काम गरिसकेका छन् ।
हाल उनी संगठनको नेतृत्व गर्नुका साथै आमसञ्चार तथा पत्रकारिता विषयको प्राध्यापनमा छन् । उनै कमल गिरीसँग नेपाल प्रेसले गरेको कुराकानी नेपालटकमाः
– प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनले सेन्टरको के कस्तो नीति र नेतृत्व चुन्दैछ ?
श्रमजीवी पत्रकारको पूर्ण आर्थिक सुरक्षा, पेशागत हित एवम् साना–ठूला मिडियाको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता जस्ता विषयलाई मूर्त गर्ने कुरा नै हाम्रा नीति हुन् । सँगै जनपक्षीय मिडियाको विशेष संरक्षण हाम्रो थप प्राथमिकता हो ।
जहाँसम्म नेतृत्वको प्रश्न छ, हाम्रा कुनै पनि प्रतिनिधि संगठनको अध्यक्ष, पदाधिकारी वा केन्द्रको दावेदार हुन् । किनभने हामी लोकतान्त्रिक प्रक्रियामा छौं । हाम्रो विधानले यसबारे स्पष्ट व्याख्या गरेको छ । म अघिल्लो अधिवेशनले चुनेको वरिष्ठ उपाध्यक्ष हुँ । यसर्थ सर्वसम्मत अध्यक्ष हुन्छु भन्ने मलाई विश्वास छ । निर्वाचन प्रक्रियामा जानुप¥यो भने पनि हामी त्यसलाई सहर्ष स्वीकार गर्नेछौं ।
मैले अध्यक्षमा दाबी पनि गरेको छु । संगठन भन्नु विचार, व्यक्तित्व र व्यक्तिहरूको गठजोड हो । अझ प्रेस सेन्टर नेपाल त वैचारिक आधारसहितको पेशागत एकत्व भएको संगठन हो । म नै अध्यक्ष हुनुपर्ने त्यस्तो अनिवार्य त छैन, तर संगठनभित्रका समकालीन जनपक्षीय प्रवृत्तिलाई नेतृत्व गर्नसक्छु भन्ने आत्मविश्वास छ मलाई ।
– प्रेस सेन्टर जस्तो देशव्यापी संरचना भएको संगठनको नेतृत्वमा दाबी गर्दैगर्दा समकालीन पत्रकारिताका प्रवृत्ति के कस्तो पाउनुभएको छ ?
नेपालमा व्यावसायिक पत्रकारिताको इतिहास धेरै लामो छैन । पछिल्ला तीन दशकमा हामीले धेरै उतारचढाव पार गरे पनि विश्व पत्रकारिताको इतिहासमा हामी कान्छो नै छौं । हामीले विश्वका उम्दा पत्रकारहरू जस्तैः अस्ट्रेलियाका जोन पिल्जर, अमेरिकाका सेमोर हर्ष र ग्लेन ग्रिनवाल्ड, ब्राजिलका पेपे स्कोबार, मेक्सिकोका जर्ज रोमास तथा टर्कीका जोन दुइन्दारको नाम धेरै पछि मात्र थाहा पायौं ।
वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि हामीले ठूल्ठूला संघर्ष गर्नुप¥यो । हाम्रा अग्रजहरुले धेरै ठूलो मूल्य चुकाउनुप¥यो । सुब्बा कृष्णलाल अधिकारी हुँदै कृष्ण सेन ‘इच्छुक’सम्म आइपुग्दा अभिव्यक्ति स्वतन्त्रताकै लागि हजारौं पत्रकारले ज्यान गुमाउनुप¥यो । झन् मैले प्रतिनिधित्व गर्ने संगठन र हामीले समाएको कलम त रगतमा लत्पतिएको छ । भयानक प्रतिकूलताबीच हामीले पत्रकारिता अर्थात पत्रकारिता र परिवर्तनको यात्रालाई अघि बढायौँ । त्यो मिसन पत्रकारिता थियो ।
हातैले समाचार लेख्ने युगबाट आज हामी व्यापक सूचना प्रविधिमा प्रवेश गरिसकेका छौं । विगतमा हामीले दुःख पायौं भनेर आगामी युवा पत्रकारको पुस्ताले पनि दुःखै पाउनुपर्छ भन्ने हुँदैन । हामीले आजको पत्रकारितालाई व्यापक र विश्वव्यापी बनाउन केही सांगठनिक प्रयत्न गर्नैपर्नेछ । त्यसैले युवा पत्रकारलाई सही ढंगले नेतृत्व गर्न सकेनौं, प्रशिक्षित तथा संगठित गर्न सकेनौं भने आगामी दशकको नेपाली पत्रकारिता यथास्थिति वा पुनरुत्थानको गोलचक्करमा फस्ने सम्भावना रहन्छ ।
आमपत्रकारको वैचारीकरण, हकहित र व्यावसायिकताका लागि प्रयत्नशील संगठन हो । त्यसैले यस्तो संगठनको नेतृत्व गर्ने जोसुकै साथी पनि पत्रकारिता पृष्ठभूमिबाट आएको वैचारिक, इमानदार र आदर्श बोकेको हुनु जरुरी हुन्छ । म आफू भने प्रेस सेन्टर जस्तो गौरवशाली संगठनको नेतृत्वका लागि योग्य छु भन्ने ठान्छु ।
– नेतृत्व आकांक्षीहरुमध्ये प्रतिनिधिहरुले तपाईंलाई नै किन रोज्ने ?
हाम्रो संगठनका सबै साथीहरू नेतृत्वका लागि योग्य हुनुहुन्छ भन्नेमा म ढुक्क छु । यस संगठनको गौरवशाली इतिहास, वीरता र संघर्षका अघिल्तिर म एउटा व्यक्ति धेरै गौण हुँ । संगठनले नेपालको पत्रकारिता र श्रमजीवी पत्रकारहरुको अधिकारको पक्षमा धेरै ठूलो काम गरेको छ । त्यहाँबाट धेरै साथीहरुले आफ्नो क्षमता विकास गर्नुभएको छ । संगठनले पनि आफ्ना नेता कार्यकर्ताहरुको व्यवसायिकताका लागि ठूलो लगानी गरेको छ । त्यसैले अरु साथीहरु पनि म जत्तिकै क्षमतावान हुनुहुन्छ भन्नेमा कुनै शंका भएन ।
संगठनका धेरै साथीहरुलाई म कसरी आइपुगें, मेरो इतिहास के हो र मैले कहिलेदेखि पत्रकारिता गरिरहेको छु भन्ने थाहा छ । म यो संगठनमा सोपान क्रममै केन्द्रीय सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारीमा आइपुगेको हुँ । पत्रकारितामा झण्डै तीन दशकदेखि सक्रिय छु । त्यसैले म यसको स्वाभाविक दावेदार हुँ । तथापि म आफूलाई भन्दा बढी संगठनको इतिहास, गौरव र लोकतान्त्रिक चरित्रमा बढी विश्वास गर्छु । म आफ्नो पार्टी नेतृत्वलाई पनि त्यति नै विश्वास गर्छु ।
नेतृत्व र शहीदहरुको रगत-पसिनाकै मूल्यमा हामी यहाँसम्म आइपुगेका हौं । म हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसरी युवाहरुलाई माओवादीमा जोडिन जुन आह्वान गरिरहनु भएको छ, त्यसको प्रभाव स्वरुप तपाईंले उपनिर्वाचन र स्ववियु निर्वाचनमा त्यसको परिणाम देखी रहनु भएकै छ । मैले प्रेस सेन्टरको नेतृत्व गरिरहँदा, त्यसै स्प्रिटमा न्यु मिडियामा आवद्ध भएका युवा पत्रकार, पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई प्रेस सेन्टरमा संगठित गरेर यो देशकै ठूलो र व्यवसायिक पेशागत संगठन बनाउनु छ ।
– पत्रकारिता क्षेत्रमा दलीयकरण अन्त्य हुनुपर्ने बहस भइरहेको बेला तपाईंहरु पार्टीकै पत्रकारहरुको संगठनको नेतृत्वमा दाबी गर्दैगर्दा यसले कसरी प्रेस स्वतन्त्रतालाई बल पुग्छ ?
प्रथमतः हामीले दलीय व्यवस्थाको मौलिक स्वरुप, त्यसका भ्रातृ तथा शुभेच्छुक संगठनबारे बुझ्नुपर्ने हुन्छ । लोकतान्त्रिक गणतन्त्र दलहरूको अगुवाइमा जनयुद्ध र जनआन्दोलनबाट आएको हो । यो व्यवस्थाको सार भनेकै विचारको प्रयोग, प्रचार र परिष्कार हो । यसका लागि दलहरुका विभिन्न संयन्त्र हुन्छन् । तिनका पनि आफ्नै मौलिकता, महत्व र सीमा हुन्छन् ।
भारतीय स्वतन्त्रता आन्दोलनका दुई मुखर अनुहार गान्धी र नेहरु दुबै कुनै समय पत्रकारितामा संलग्न थिए । नेहरु त ‘द नेशनल हेराल्ड’ पत्रिकाको सम्पादक थिए । त्यस्तै कार्ल मार्क्स ‘राइन जाइटुङ’ पत्रिकामा आवद्ध थिए । लेनिनले ‘इस्क्रा’ पत्रिका प्रकाशन गर्थे । यस्तो किन भयो त भन्दा लोकतन्त्र र पत्रकारिताको दीर्घकालीन लक्ष्य र दिशा एकैतिर सोझिन्छ ।
पत्रकारिता, विश्वविद्यालय, न्यायालय, कर्मचारीतन्त्र जस्ता क्षेत्रमा राजनीतिलाई निरपेक्ष निषेध गर्नु लोकतान्त्रिक गणतन्त्रको मर्ममै प्रहार गर्नुसरह हुन जान्छ । हो, त्यहाँ निश्चित दलको निहित स्वार्थ देखिनु वा अनुशरण हुनु गलत हुन्छ, तर त्यहाँ समाज रुपान्तरणको विचार र प्रयोग रोकिदिने हो भने त्यो समाजको गतिशीलताको बन्ध्याकरण हुन जान्छ । संस्थाहरू दलीयकरण हुनुहुँदैन भन्ने कुरामा म सहमत छु, तर तिनलाई राजनीतिभन्दा पृथक हेर्नुपर्छ भन्ने कुरामा म सहमत छैन ।
– नेपाली पत्रकारिताका मूल चुनौती के के देख्नुभएको छ ?
पहिलो- हामी सूचना प्रविधिको बाढीमा छौं । सूचनाको नाममा जनताबीच ‘मिस-इन्फरमेशन’, ‘डिस-इन्फरमेशन’ र ‘माल-इन्फरमेशन’ पुर्याइँदैछ । डिजिटल टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिन्स, बिग डेटा तथा सामाजिक सञ्जालको प्रयोग गरेर आममानिस तथा मतदाताको धारणा प्रभावित पार्ने काम झन्-झन् मिहिन ढंगले हुन थालेका छन् । यो युग ‘डिप-फेक’ को युग पनि हो । त्यसैले जनतालाई त्यस्ता सूचनाबाट संक्रमित हुन नदिनु र सही सूचना पुर्याउन भूमिका खेल्नु हाम्रो खास प्राथमिकता हो ।
दोस्रो- संविधानमा हामीले मुलुकको आर्थिक प्रवन्ध सार्वजनिक, निजी र सहकारी भनेर तोकेका छौं । सहकारी क्षेत्र संविधानले परिकल्पना गरेअनुरुप बन्न सकेको छैन । राज्य र निजी क्षेत्रले आममानिसको हक अधिकार र वाक स्वतन्त्रतामा कुठाराघात गरिरहेका हुन्छन्, तर यो कुरा आममानिसलाई थाहा नहुनसक्छ । यस्तोमा हामीलाई जनताको आवाज बोल्ने, कर्पोरेट स्वार्थविपरीत रिपोर्टिङ गर्ने जनमुखी पत्रकारिता (प्रो-पिपुल जर्नालिजम) को खाँचो पर्छ । त्यस्ता मिडिया संस्थालाई हामीले बलियो बनाउनुपर्छ ।
नेपाली पत्रकारितामा यसको ठूलो अभाव छ । हामीकहाँ म्याग्जिन र वैकल्पिक पत्रकारिताको अभाव छ । यसले सार्वजनिक विमर्शको दायरालाई कमजोर बनाइदिएको छ । त्यसैले हामीले पत्रकारिता तथा जनमिडियालाई बलियो बनाउनै पर्नेछ ।
तेस्रो- पत्रकारको वैचारिकता एवम् व्यावसायिकता बढाउन र हक-अधिकारको रक्षा गर्न सशक्त संगठन आवश्यक पर्छ । यी कामहरू प्रेस सेन्टर नेपालले नै गर्नुपर्नेछ ।
– पत्रकारिताको वैचारिकता र व्यावसायिकतालाई अघि बढाउन दलीय संगठनले कुनै भूमिका खेलेनन् भन्नेहरू धेरै छन् । के यी संगठनहरू खारेज गरिदिए हुन्न ?
तपाईंले गरेको प्रश्नबाट उब्जिने सवाल के हो भने हामी लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौं कि कमजोर ? हामी लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौं भने यस्तो व्यवस्थामा संस्थाहरु खाजेर गरेर होइन, तिनीहरुलाई पारदर्शी, उत्तरदायी र गतिशील बनाएरमात्रै समाजको पांग्रालाई अघि बढाउन सक्छौं । समाजको एउटा तहमा, मनोविज्ञानमा जहिल्यै पछाडि फर्कने प्रवृत्ति निश्रित हुन्छ ।
हामीले लोकतन्त्रमा संस्थाहरुलाई कमजोर बनाउने बहस गर्यौं भने पछाडि फर्कने चेतनालाई अघि बढाइरहेका हुन्छौं । जनयुद्ध र जनआन्दोलनको जगमा उभिएर गणतन्त्रसम्म आइपुगेको नेपाली समाजलाई फेरि किमार्थ पछाडि फर्काउन सकिँदैन । त्यसैले मलाई लाग्छ, हामीले संस्थाहरुलाई खारेज गरेर होइन, तिनीहरुलाई पारदर्शी र उत्तरदायी बनाएरै तिनीहरुभित्रको कमजोरीलाई निर्मूल पार्नुपर्छ । यति भन्दाभन्दै हाम्रो संगठन विशिष्ट वैचारिक स्कुलिङबाट हुर्किएको संगठन हो । त्यसैले पत्रकारितामा हामी विचार र व्यवसायको पर्याय हुन खोज्दैछौं ।
– माओवादी केन्द्रमा पनि धेरै विचार समूह छन्, तपाईं पनि कुनै न कुनै समूहबाटै अध्यक्षको आकांक्षी हुनुहुन्छ होला । सबैलाई रिझाएर नेतृत्व लिन सक्नुहुन्छ ?
समग्रमा माओवादी ठूलो लक्ष्यसहित अगाडि बढेको एउटा आन्दोलन हो । आजको संघीय लोकतान्त्रिक गणतन्त्र त्यो बृहत्तर लक्ष्यको प्रारम्भिक खुड्किलोमात्रै हो । सम्पूर्ण आन्दोलनको विरासत र आजको राजनीतिक बहसको प्रतिनिधित्व नेकपा (माओवादी केन्द्र)ले गर्छ । लोकतान्त्रिक व्यवस्थाभित्रको एउटा राजनीतिक दलका रुपमा यसका आफ्ना विभिन्न संगठनहरु छन् । स्वाभाविक रुपमा ती संगठनहमा विविध कोण, बहस र प्रवृत्ति छन् ।
प्रेस सेन्टर नेपाल माओवादी केन्द्रको भ्रातृ संगठन होइन, शुभेच्छुक संगठन हो । यसले मूलतः पक्षधरताको कुरा गर्छ । अधिकार, पेशा सुरक्षा र व्यावसायिकताको कुरा गर्छ । म कुनै निश्चित विचार समूहको निकट छैन । म त पार्टीको निकट छु । यो आन्दोलनले सृजना गरेको परिवर्तनको निकट छु । यो पार्टीको विचार बोकेकै कारण मारिनुभएका कृष्ण सेन ‘इच्छुक’ को विचारको प्रतिनिधित्व गर्छु । लेखेकै भरमा बेपत्ता बनाइनु भएका दण्डापाणी न्यौपाने र मिलन नेपालीको विचारको प्रतिनिधित्व गर्छु । जनयुद्ध र जनआन्दोलनको वैचारिकीको प्रतिनिधित्व गर्छु म ।
पत्रकारिताको वैचारिकता र व्यवसायिकताबाहेक हाम्रो अर्को कुनै लक्ष्य छैन । यसबारे संगठनभित्र कुनै विवाद, विमति र असमझदारी पनि छैन । तथापि केही शैलीगत विविधता हुनसक्छन् । म सबै साथीहरूको संवेदनशीलता, मनोविज्ञान र प्रतिभालाई संयोजन गर्न सक्छु भन्ने ठान्छु ।
– अन्त्यमा, तपाईं अध्यक्ष भएमा संगठनमा नयाँ के गर्नुहुन्छ ?
विकट हिमाली गाउँदेखि मधेशसम्म फैलिएको यो संगठन उहाँहरूकै रगत र पसिनाको देन हो । संगठनका संस्थापक महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, बलराम थापा, खिलबहादुर भण्डारी, दामोदर तिमल्सिनालगायत नेतृत्वको जनपक्षीय पत्रकारिता र पहलकदमीको म उच्च सम्मान व्यक्त गर्छु ।
त्यस्तो विरासत बोकेको संगठनको नेतृत्व गर्ने अवसर पाउँदा पहिलो- बेपत्ता र शहीद पत्रकारहरूको पहिचान तथा सम्मान गर्ने कार्यक्रम अघि बढाउनेछु । दोस्रो- म संगठनलाई विधि र पद्धतिमा चलाउनेछु । तेस्रो- देशैभरका प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको रक्षा, क्षमता विकास, ‘ग्लोबल एक्सपोजर’ का लागि ठोस पहलकदमी लिनेछु । चौथो- अन्तर्राष्ट्रिय पत्रकारहरूको संगठन र खोजी पत्रकारहरुको संस्थाहरु ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्क, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट आदि संगठनसम्म नेपाली पत्रकारको पहुँच विस्तारका लागि पहल लिनेछु ।
पाँचौं- नियुक्तिपत्र, श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक, बीमा, सामाजिक तथा स्वास्थ्य सुरक्षालगायतका हक अधिकारको पक्षमा सिङ्गो संगठनलाई उभ्याउनेछु । छैटौं- पूर्ण प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतान्त्रताको पक्षमा संगठनलाई खरो रुपमा उभ्याउनेछु । सातौं- देशैभरका स्थानीय तथा स्वरोजगारमूलक मिडिया उद्योगलाई जोगाउन ठोस पहल लिनेछु । आठौं- वैकल्पिक मिडियाको जरोकिलो बलियो बनाउन संगठित प्रयास गर्नेछु । नवौं- संगठनको संस्थागत आर्थिक स्रोतको व्यवस्थापन गर्नेछु ।