नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा, यस्तो छ कारण


काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । सीईओ ढुंगानाले आइतबारको समय राखेर राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गर्न बाँकी नै रहेको छ । उनी नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका छन् । गभर्नरको रेसमा रहेका उनी सोही कारणले नबिल बैंक छोडेको स्रोतले बताएको छ ।
गभर्नरको भाग नेपाली कांग्रेसलाई पर्ने उच्च सम्भावना रहेको चर्चा छ । यदि नेपाली कांग्रेसले गभर्नर पाउने भएमा ढुंगानाको सम्भावना उच्च छ ।
सरकारले सोमबार नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा दुई सदस्य नियुक्त गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिको सदस्यहरूमा विजयनाथ भट्टराई र विश्व पौडेल नियुक्त भएका हुन् ।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा एउटा सिफारिस समिति गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था अनुसार पूर्व गभर्नरको तर्फबाट भट्टराई र आर्थिक, मौद्रिक, वित्तीय तथा व्यवस्थापन क्षेत्रको विज्ञको तर्फबाट विश्व पौडेललाई नियुक्त गरिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत्र २४ गते सकिँदै छ । वि.स २०७६ चैत २४ गते अधिकारी ५ वर्षको लागि राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए । उनको कार्यकाल सकिन करिब एक महिना बाँकी रहँदा सरकारले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा (२) बमोजिम गठन भएको समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्ने प्रावधान छ । समितिले गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, डेपुटी गभर्नरमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्छ । मन्त्रिपरिषद्ले सिफारिस भएका नाममध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ ।
गभर्नर बन्नका लागि एक दर्जन आकांक्षीहरुले लबिङ थालिसकेका छन् । ढुंगानासहित राष्ट्र बैंककै डेपुटी गभर्नरसम्म गभर्नर बन्ने दौडमा रहेको चर्चा छ ।